१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ बैशाख २३ मंगलबार ०९:१७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

मलेसिया र खाडीमा अप्ठ्यारोमा परेका कामदार फर्काउने सरकारको तयारी

Read Time : > 2 मिनेट
२०७७ बैशाख २३ मंगलबार ०९:१७:००

सरकारले कोरोना भाइरसको महामारीपछि वैदेशिक रोजगारीमा रहेकामध्ये अतिसंकटमा रहेका नेपाली फर्काउन आन्तरिक तयारी थालेको छ । विदेशमा रहेका नेपालीलाई चार श्रेणीमा विभाजन गरेर सरकारले श्रम गन्तव्यमा परेकाको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको हो । अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि प्राथमिकता क्रमका आधारमा नेपालीलाई स्वदेश फर्काउने र क्वारेन्टाइनसहितको प्रबन्ध गर्ने सरकारी तयारी छ ।

‘हामी कुन मितिमा ल्याउँछौँ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । तर, अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि आवश्यकताका आधारमा प्राथमिकता क्रम छुट्याएर नेपाली नागरिकलाई स्वदेश फर्काउँछौँ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार सञ्चारकर्मीसँग भने, ‘यसका लागि श्रम गन्तव्य मुलुकका हाम्रा दूतावासले परिस्थितिको आकलन गर्ने र नेपालीको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।’ 

श्रम मुलुकमा रहेका गर्भवती, आफन्त गुमाएका, गैरकानुनी रूपमा बसेका र फिर्ता हुन सम्बन्धित देशले आदेश दिएका, अतिसंकटमा रहेका नेपालीलाई स्वदेश फर्काउन पहिलो प्राथमिकतामा राखिएको छ । ‘श्रम गन्तव्यमा रहेका नेपालीबारे सरकार चिन्तित छ । प्रधानमन्त्री आफैँले पनि सम्बन्धित सरकार प्रमुखसँग टेलिफोनमा संवाद गरेर चासो राख्नुभएको छ,’ ज्ञवालीले भने ।

श्रम मन्त्रालयसँग समन्वयमा परराष्ट्र मन्त्रालयले श्रम गन्तव्य मुलुकमा कार्यरत श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूलाई भविष्यमा पर्न सक्ने समस्या र उनीहरूको व्यवस्थापनबारे एक सातादेखि विस्तृत अध्ययन गरिरहेको छ । विशेषतः आप्रवासी कामदारबारे सम्बन्धित देशको नीति, रोजगारदाता कम्पनीको अवस्था मूल्यांकन गर्दै नेपालीको रोजगारी गुम्न सक्ने अवस्था, उनीहरूलाई त्यही मुलुकमा रोजगारी स्थानान्तरण गर्र्न सम्भावना र स्वदेश नफर्काई नहुने अवस्थाको अध्ययन भइरहेको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सरकारले पहिलो प्राथमिकतामा वैदेशिक रोजगारीका क्रममा मलेसिया, खाडी मुलुक, दक्षिण कोरियालगायत क्षेत्रमा रहेका नेपालीलाई राखेको छ । महामारीपछि उनीहरूको नोकरीमा पर्ने संकट, अत्यन्तै अप्ठेरो अवस्थामा रहेका नेपालीको स्वदेश फिर्ती, उनीहरूलाई राखिने क्वारेन्टाइन, स्वास्थ्य जाँच तथा उनीहरूको व्यवसाय वा स्वरोजगारीलगायत विषयमा विस्तृत आकलन हुनेछ । सरकारको दोस्रो प्राथमिकतामा विदेशमा अध्ययनका लागि गएका विद्यार्थी छन् । तेस्रो प्राथमिकतामा छोटो समयको भिजिट भिसामा गएकाहरू छन् । बाहिर रहेका नेपाली मूलका विदेशी नागरिकसँग पनि भावनात्मक रूपमा जोडिएकाले उनीहरूबारे पनि सरकारले सरोकार राख्नेछ । 

दिल्लीमा नेपाली दूतावासले भन्यो : स्वदेश फर्कने कोसिस नगर्नू 
भारतस्थित नेपाली दूतावासले नेपालीहरूलाई स्वदेश फर्कने प्रयास नगर्न सोमबार सूचना जारी गरेको छ । विभिन्न राज्यले लकडाउन खुकुलो पार्दै रेलसेवा र बस सेवा सुरु गर्न थालेपछि नेपालीहरू फर्कन सक्ने आशंकामा दूतावासले नागरिक रोक्ने मनसायले सूचना जारी गरेको हो । दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘सीमानाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछि नलागी नेपाल जाने प्रयास नगर्नु हुन र आधिकारिक सूचनामा मात्रै विश्वास गर्नुहुनसमेत यस दूतावास अनुरोध गर्छ ।’ नेपाल सरकारले लगाएको लकडाउन कायम रहेको र नेपालको अन्तर्राष्ट्रिय सिमाना बन्द भएको अवस्थामा स्वदेश फर्कने प्रयास नगर्न दूतावासले अनुरोध गरेको छ । भारतका नेपालीको समस्याबारे दूतावास जानकार रहेको र समस्या समाधानको प्रयास भइरहेको पनि सूचनामा उल्लेख छ । 

शुक्रबारदेखि आफ्ना नागरिक फर्काउँदै भारत 
भारतले विदेशमा अलपत्र रहेका आफ्ना नागरिकलाई निजी खर्चमा शुक्रबारदेखि स्वदेश फर्काउने तयारी गरेको छ । निजी खर्चमा फर्कन चाहने भारतीयलाई चरणबद्ध रूपमा हवाईमाध्यम र पानीजहाजको व्यवस्था गरिएको छ । स्वदेश फर्केपछि उनीहरूले आफ्नै खर्चमा राज्य सरकारहरूले तोकेको क्वारेन्टाइनमा बस्नुपर्नेछ भने कोभिड–१९ को जाँच गरेपछि मात्रै उनीहरूलाई घर जाने अनुमति हुनेछ । 

‘उनीहरूलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर स्वदेश फर्कन अनुमति दिइनेछ र अनिवार्य रूपमा उनीहरू १४ दिन आफ्नै खर्चमा राज्य सरकारहरूले व्यवस्था गरेका अस्पताल वा तोकिएका कुनै पनि स्थानमा क्वारेन्टाइनमा बस्नुपर्नेछ,’ प्रेस इन्फर्मेसन ब्युरो पिआइबीले सोमबार भनेको छ । १४ दिनपछि कोभिड–१९ को जाँच भएपछि मात्रै उनीहरूलाई घर जाने अनुमति हुनेछ । यसका लागि भारतका राज्य सरकारले क्वारेन्टाइनदेखि स्वास्थ्य जाँचको सुविधाको व्यवस्थापन गरिरहेका छन् ।