१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार २०:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

स्वास्थ्यका मापदण्ड पूरा गरेर ठूला आयोजना र उद्योग सञ्चालन गर्न पाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार २०:११:००

कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरूलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले उद्योगभित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए । 

उनले अब तामाकोसी, मेलम्चीलगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न सकिने बताए । त्यसैगरी, हिउँदे बाली काट्ने र वर्षे बाली गर्नेलगायत कृषि कार्यका लागि बाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामग्री तथा खाद्य सामग्रीको सहज आपूर्ति गराउन आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिने भएको छ । यस्तै, बैठकले नेपाल- भारत सीमास्थित क्वारेन्टाइनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरी दुवैतर्फबाट आपसमा सहयोग गरी सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेको खतिवडाले खरिद प्रक्रियाबारे छलफल तथा अनुसन्धान हुने बताए । उनले जिटुजीमार्फत स्वास्थ्य सामग्री किन्नेबारेमा पनि छलफल भइरहेको बताए । ‘कसैले भनेको मात्रै कुराबाट हामी प्रभावित नहोऔँ । छलफल–अनुसन्धान त हुन्छ नै, त्योभन्दा महत्वपूर्ण कुरा त सामग्री आयो, मान्छेको जीवन रक्षा भइरहेको छ । त्यसपछि महँगो पऱ्यो कि सस्तो पऱ्यो । विधि पुग्यो कि पुगेन भनेर हेर्ने कुरा छँदै छ,’ उनले भने, ‘सबैभन्दा राम्रो विधि के हुन्थ्यो यस्तो अवस्थामा भने सरकारी माध्यमबाटै खरिद गर्दा ल्याउन सजिलो हुन्थ्यो ।  छिमेकी मुलुकहरूसँग स्वास्थ्य सामग्री हामीलाई यो–यो चाहियो सहयोग गर्नुहोस् भनेर पठाएको पनि हो । तर, दुईवटै छिमेकी मुलुक आफैँ समस्यामा पनि भएको हुनाले हामीले आजसम्म पनि जिटुजीमा खरिद गर्न नसकेर निजी क्षेत्रलाई आह्वान गर्नुपरेको हो ।  यदि सरकारी तबरबाटै खरिद गर्न सकिन्छ भने सबैभन्दा राम्रो हुन्छ, त्यो पनि प्रयास गर्ने भन्ने पनि छलफल भएको छ ।'