राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताल भवन निर्माणका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।
बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कार्यक्रमकै अवसरमा बैंकका अध्यक्ष निर्मलहरि अधिकारीले किओचका अध्यक्ष प्रा.डा. कोइरालालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकको प्राथमिकतामा सिएसआर
राज्यको पहुँच नपुगेको ठाउँमा रावा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)मार्फत सेवा दिइरहेको बैंकका अध्यक्ष अधिकारीले बताए । बैंकले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुदलगायतको क्षेत्रमा सिएसआरमार्फत सहयोग गरिरहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । बैंकको प्राथमिकता क्षेत्र साना तथा मझौला क्षेत्र रहेकाले सिएसआर पनि प्राथमिकतामा रहेको उनले बताए ।
हाल मुलुकमा बालबालिकाको स्वास्थ्य उपचारको अवस्था कमजोर रहेको बताउँदै किओचका अध्यक्ष प्रा.डा. कोइरालाले बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुने बताए । यस्ता सहयोगले अधुरा परियोजना सञ्चालनमा ल्याउन सघाउ पुग्ने उनको भनाइ थियो ।
बैंकले चालू आवको दोस्रो त्रैमासमा २ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९५ अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । बैंकको हाल देशभर २ सय ३९ शाखा, २ सय ५ एटिएम र ९३ शाखारहित बैंकिङ सेवाकेन्द्रमार्फत वित्तीय सेवा दिँदै आएको छ ।