१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ३ शनिबार ०९:१७:००
Read Time : > 1 मिनेट
नयाँCity

तन अस्ट्रेलियामा मन नेपालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ३ शनिबार ०९:१७:००

अध्ययनका लागि अस्ट्रेलिया पुगेका ३४ वर्षीय दिल तामाङ त्यहाँ बस्न थालेको १३ वर्ष भयो । रामेछाप सैलुङका उनी सुरुमा अध्ययनका लागि परदेसिए, अहिले उतै बस्न थालेका छन् । अस्ट्रेलियाको सहरमा बस्न थालेको दशक बितिसक्दा पनि दिलको ‘दिल’ भने अझै जन्मभूमितिरै अल्झिएको छ । 

उनी गीत गाउँछन्, सैलुङबारे । गीत लेख्छन्, नेपालबारे । अनि लय भर्छन्, आफ्नै रस्तीबस्तीबारे । भन्छन्, ‘परदेशमा झन् बढी नेपालको सम्झना आउँछ । त्यो सम्झनालाई गीतमा उन्ने कोसिस गर्छु ।’

तामाङ सेलो दिलको पहिलो रोजाइमा पर्छ । लोकपप गीत पनि उनी उत्तिकै गाउँछन् । नेपाल हुँदा खासमा गायक बन्न चाहन्थे, संगीतकार र गीतकार बन्न चाहन्थे । नेपालमै हुँदा उनले केही गीत त गाए, तर सोचेअनुसार सफलता हात पार्न सकेनन् । त्यसपछि दिल गायक बन्ने सपना थाती राखेर परदेसिए । अस्ट्रेलिया पुगे, उतै पढे, उतै रमाए, अनि दुःख गरे । दिल सुनाउँछन्, ‘क्लास सकेर बेलुकी कोठामा आउँदा गितार बजाउँदै गाउँथेँ ।’

उनले बिजनेसमा स्नातक गरे । त्यसपछि उतै होटेलमा सिपालु कुक बने । काम गर्दागर्दै महिना बित्यो, वर्ष बित्यो । बिस्तारै गायक बन्ने सपना टाढिँदै गयो । तर, उनीभित्रको संगीतकार, गायक र गीतकार दिलले उनलाई चैनसँग बस्न दिएन । सन् २०१० मा ‘म त नेपाली ठिटो’ बोलको राजनराज सिवाकोटीको शब्द र संगीतमा स्वर दिए । गीतको म्युजिक भिडियो बन्यो । भिडियोको निर्देशन आलोक नेम्वाङले गरेका थिए । भिडियोमा प्रियंका कार्की र अनिल थापाले मोडलिङ गरेका थिए । गीत निकै रुचाइयो । संगीतमा केही गर्ने दिलको चाहना ढोका त्यही गीतले खोलिदियो । 

अध्ययनका लागि अस्ट्रेलिया पुगेका रामेछापका दिल तामाङ दुई–तीन वर्षमा नेपाल फर्किन्छन्, गीत लिएर । यसपटक पनि उनी नयाँ गीत लिएर नेपाल फर्केका छन्, ‘क्या राम्रो फूल फुल्यो हेर त्यो माथि लेकैमा ।’

सन् २०१६ मा ‘भिमफेदी गाइज’सँग मिलेर उनले तामाङ सेलो गीत ल्याए– आकाशै झलमल ताराले । मीनसागर लामाको शब्द, चन्द्रकुमार दोङको संगीत रहेको गीतमा उनले स्वर दिए । युट्युबमा म्युजिक भिडियोले ३५ लाख भ्युअर्स बटुल्यो ।

सन् २०१६ मै भिमफेदी गाइजसँग मिलेर दिलले अर्को गीत गाए– झल्को आयो रोधीमा नाचेको । त्यो गीतमा पनि निकै रुचाइयो । शब्द, संगीत र स्वर उनको आफ्नै रहेको यो गीत विदेशमा रहेका लाहुरेहरूको रोजाइमा पर्‍यो । रोधी घर सम्झिँदै लाहुरेहरू गीतमा खुब नाचे । 

सन् २०१८ मा अर्को म्युजिक भिडियो ल्याए– जुवा त खेल्ने चौकामा । निर्मला घिसिङसँग युगल गीत गाएका दिलको यो गीतले पनि युट्युबमा २२ लाख भ्युअर्स बटुल्यो । चन्द्रकुमार दोङको संगीत रहेको गीत तामाङ समुदायको विशेष रोजाइमा पर्‍यो ।

दिल दुई–तीन वर्ष अस्ट्रेलियामा व्यस्त हुन्छन् । उतै काम गर्दागर्दै नयाँ गीत लेख्छन् । त्यसपछि नेपाल आउँछन् र गीत रेकर्ड गराएर म्युजिक भिडियो बनाउँछन् । ‘संगीतको लत लाग्यो । संगीत क्षेत्रमा केही गर्ने सपना बोकेर दुई–तीन वर्षमा नेपाल आइरहन्छु । यतैको वनपाखामा सुटिङ गरेर म्युजिक भिडियो बनाउँछु,’ उनी भन्छन् । 
विदेशमा बसेर नेपालको झनै माया लाग्ने उनको अनुभव छ । ‘जति टाढा बस्यो, उति देशको माया लाग्दोरहेछ,’ उनी भन्छन् । दिल आफू मात्रै संगीतमा लागेका छैनन्, अस्ट्रेलियामा रहेका नेपालीलाई हरेक वर्ष नेपाली संगीतमा झुम्ने वातावरण बनाउँछन् । नेपालबाट गायकगायिकाहरू अस्ट्रेलिया बोलाउँछन्, साथीहरूसँगै मिलेर । 

यस वर्ष पनि नयाँ म्युजिक भिडियो बनाउने उद्देश्य लिएर दिल नेपाल आइपुगेका छन् । बोल्दाबोल्दै गीतको नयाँ भाका सुनाए ‘क्या राम्रो फूल फुल्यो हेर त्यो माथि लेकैमा’ । दिल भन्छन्, ‘दुनियाँको जुनसुकै कुनामा पुगे पनि आफ्नै संगीतले मात्रै मन खुसी हुँदोरहेछ । त्यही खुसी खोज्दै म आफ्नै जन्मभूमि आइरहन्छु ।’