१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ माघ ९ बिहीबार ०८:४७:००
Read Time : > 1 मिनेट
अर्थ

ठेक्काको २ प्रतिशत पार्टीलाई दिन विप्लव समूहको धम्की

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार ०८:४७:००

विप्लव समूहले ठेक्का रकमको निश्चित प्रतिशत अनिवार्य पार्टीलाई उपलब्ध गराउन निर्माण व्यवसायीलाई धम्की दिन थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अधिकांश व्यवसायीलाई ठेक्का रकमको न्यूनतम १ र अधिकतम २ प्रतिशत रकम पार्टीलाई बुझाउन दैनिक फोनमार्फत धम्की आउने गरेको छ ।

अहिले १ करोड रुपैयाँको ठेक्का पाएको व्यवसायीले न्यूनतम १ लाख र अधिकतम २ लाख रुपैयाँ विप्लव समूहलाई बुझाउनुपर्ने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । ‘पछिल्लो १ महिनामा मान्छे पठाएर चिठी बुझाउने र फोनमार्फत तोकिएको रकम उपलब्ध गराउन निरन्तर धम्की आइरहेको छ,’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भने ।  चिठीमा मर्यादित भाषा भए पनि फोनमार्फत मनपरी भनेर थर्काउने गरिएको छ । यसले समग्र निर्माण व्यवसायी पीडित भएको उनले बताए ।  

व्यवसायीलाई सुरक्षा दिन सरकार असफल

निर्माण व्यवसायीले बुधबार पत्रकार सम्मेलन गरी व्यवसायी र उनीहरूका निर्माण उपकरणलाई सुरक्षा दिन राज्य असफल भएको बताएका छन् । एक वर्षदेखि विप्लव समूहले व्यवसायीलाई धम्की र निर्माण उपकरणमा आगजनी गर्दासमेत त्यसो गर्नेलाई अहिलेसम्म कुनै कारबाही नभएको महासंघका अध्यक्ष सिंहले बताए ।     

गृहमन्त्रीले गरे सुरक्षाको पूर्ण प्रत्याभूतिको प्रतिबद्धता

बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीहरूले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएका छन् । व्यवसायीले मंगलबार गृहमन्त्रीलाई भेटी ध्यानाकर्षण गराएका हुन् । जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरूका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने बताए । ‘अज्ञात समूहका आपराधिक गतिविधि धेरै नियन्त्रणमा आइसकेको र अब पूर्ण नियन्त्रण गरिनेछ,’ उनले भने । गृहमन्त्रीले जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी दिए । त्यसअघि नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेका थिए ।

निर्माण क्षेत्र त्रासमा छ : रवि सिंह, अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

अहिले निर्माण क्षेत्र नै त्रासमा छ । अधिकांश व्यवसायीलाई आर्थिक सहयोगको पत्र आएको छ । आफ्नो इच्छाले चन्दाको रूपमा सहयोग गर्ने विकल्प छैन । ठेक्काको निश्चित प्रतिशत दिनैपर्ने उर्दी छ । सबै व्यवसायीले बाहिर सार्वजनिक गरेका छैनन् । तर, अधिकांश आक्रान्त छन् र कहिले के हुने हो भन्ने चिन्तामा छन् ।