धनी देशमा आफ्नो भाग्य बदल्न जाँदै गर्दा गरिब देशका युवतीलाई आफूहरू बिकिसकेको पत्तै हुँदैन
एसिया र अफ्रिकाका युवती घरेलु कामदार बनेर पश्चिम एसियाका देश जाने गर्छन् । इथियोपियाकी एक युवती सावलासँग कुवेतको एक परिवारले दैनिक १९ घन्टा काम लिन्थ्यो । उनी त्यहाँबाट भाग्ने विषयमा सोच्थिन्, तर त्यसो गर्न असमर्थ थिइन् किनकि त्यही कुवेती परिवारसँग उनको पासपोर्ट थियो ।
तान्जानियाकी आतिया ओमान गएकी थिइन् । उनी जुन घरमा काम गर्थिन्, त्यहाँका मालिकबाट उनी बलात्कारको सिकार भइन् । फिलिपिन्सकी युवतीको शव एक खाली फ्ल्याटमा फ्रिजरमा भेटिएको थियो, त्यस फ्ल्याटका मालिक कुवेती थिए । पैसा कमाउन विदेश गएका गरिब युवतीको यस्तो कारुणिक कथा धेरै सुनिन्छन् । कतार, युएई र साउदी अरबले प्रवासी युवतीमाथि हुने अत्याचार रोक्न कानुन बनाउने वाचा गरेका थिए । त्यस्तो कानुन कहाँ छ ? प्रवासी श्रमिकलाई कफाला नियमअन्तर्गत भिसा दिने गरिन्छ ।
कफालाको सर्त नै यही हो कि मालिकको अनुमतिबेगर श्रमिकले काम छाडेर जान सक्दैन, एउटा घरको काम छाडेर अर्को घरमा काम गर्न पाउँदैन र देश छाड्न पाउँदैन । यी श्रमिकको पासपोर्ट उनीहरूका मालिकको घरमा रहन्छ । श्रमिकलाई जति समयसम्म काम गर्ने हुकुम दिइन्छ, उनीहरूले त्यति नै समयसम्म काम गर्नुपर्ने हुन्छ । काम नगरे दण्डित हुनुपर्छ । मालिकको घर छाडेर भागे उनीहरू गिरफ्तार हुन्छन् ।
कामको लगातार दबाब, भोक, अत्याचार र अन्यायबाट हैरान भएर युवती भाग्न चाहन्छन् । कोही भाग्न सफल हुन्छन्, कोही असफल । साउदी मालिक सम्झन्छन् कि यी युवती दासी हुन् र दासीलाई सजाय दिने अधिकार उनीहरूसँग छ । सजायको अर्थ हो, बलात्कार ।
साउदी मालिकको बुझाइमा कामदार युवती दासी हुन् र दासीलाई सजाय दिने हक मालिकसँग छ, सजायको अर्थ हो, बलात्कार
जोर्डन, लेबनान, ओमान, कुवेत, कतार र युएईमा पनि घरेलु कामदारमाथि शारीरिक, मानसिक र यौन अत्याचार हुन्छ । गरिब देशका गरिब युवती जब धनी देशमा आफ्नो भाग्य बदल्न जान्छन्, उनीहरू यो जान्दैनन् कि उनीहरू बिकिसकेका छन् । यी युवती हजारौँ सपना लिएर हवाईजहाजमा बस्छन् र लास बनेर घर फर्कन्छन् । तर, गरिब मरेर कसलाई के फरक पर्छ र ? अरब देशले अन्तर्राष्ट्रिय श्रम कानुनको परवाह गर्दैनन् । जो देश आफ्ना गरिब र बाध्यतामा परेका युवतीलाई अर्को देशमा कामका लागि पठाउँछन्, उनीहरूले आफ्ना महिलालाई सुरक्षा दिनुपर्ने सर्त राखे भने धनी देशले त्यस्ता देशबाट युवती मगाउँछन्, जो उनीहरूको सुरक्षाको माग गर्ने स्थितिमा पनि छैनन् ।
जस्तो, भारतले आफ्ना महिलाको सुरक्षाको सर्त राख्यो भने अरब देशले बंगलादेशबाट कामदार बोलाउनेछन् । स्पष्ट छ, एक वा दुई देशले अरब देशको विरोध गर्दैमा हुनेवाला केही छैन । यस्ता विषयमा सबै देश एकजुट भए भने, उनीहरूले एकै स्वरमा आफ्ना महिलालाई पूर्ण सुरक्षा, पूर्ण तलब दिनुपर्ने र दासी बनाएर राख्ने प्रवृत्ति बन्द गर्नुपर्ने माग राखे भने सायद केही समाधान निस्केला र अरब देशले पनि मानवीय कानुन बनाउन रुचि देखाउलान् । अन्यथा, केही हुनेवाला छैन ।
जुन संस्था र एजेन्टले यसरी महिलालाई अरब पठाउँछन्, ती संस्थाका लागि युवतीको सुरक्षा कुनै मुद्दा नै होइन । साउदी अरबबाट हजारौँ युवती बंगलादेश फर्किएका छन् । तीमध्ये धेरैले तलब नपाउने, शारीरिक हिंसा, बलात्कारलगायत अत्याचार भोगेका छन् ।
बंगलादेश फर्किएलगत्तै केही युवतीले ती दलालविरुद्ध उजुरी गरे, जसको प्रलोभनमा परेर उनीहरू साउदी गएका थिए । उनीहरूले दुई महिना काम गरेको तलब पाएका थिएनन्, त्यसपछि मालिकको घरबाट भागेका थिए । सजायस्वरूप दुई महिना जेल बसे, यसरी चार महिनासम्म साउदी अरबमा दुःख झेलेर खाली हात फर्किएपछि दलालसँग रिस उठेर मुद्दा चलाएका थिए । तर, नतिजा दलाल र उसका मानिसले उनीहरूलाई नराम्रोसँग पिटे ।
मुसलमानका लागि साउदी अरब पवित्र देश हो, यो इस्लामको जन्मदाता हो । तर, त्यही देशमा अन्य देशका गरिब युवतीलाई दास बनाएर राखिन्छ । साउदीका मुसलमान पनि कुनै समय गरिब थिए । तर, तेल व्यापारले उनीहरू धनी बने र आज गरिब मुसलमानलाई उनीहरू मान्छे नै गन्दैनन् ।
(नसरिन चर्चित साहित्यकार हुन्) अमर उजाला डटकमबाट