१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका पोखरा
२०७६ कार्तिक १७ आइतबार १५:४०:००
Read Time : > 1 मिनेट
प्रदेश

एकता प्रक्रिया लम्बिँदा सरकारको आलोचना भयो : मुख्यमन्त्री पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका पोखरा
२०७६ कार्तिक १७ आइतबार १५:४०:००

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको एकता प्रक्रिया लम्बिँदा सरकारले गरेका कामको गलत प्रचार भइरहेको बताएका छन् । एकता प्रक्रिया लम्बिँदा कार्यकर्तामा प्रतिरक्षात्मक क्षमता कमजोर बनेको र सरकारको नकारात्मक आलोचना गर्नेहरूले ठाउँ पाएको उनको विश्लेषण छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा मदन भण्डारी  फाउन्डेसन जिल्ला कार्यसमिति कास्कीले शनिबार अयोजना गरेको समृद्धि र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो विश्लेषण गरेका हुन् । सिन्डिकेटको अन्त्य गर्ने र  समयमा काम नसक्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने जस्ता काम गर्दा सरकारविरुद्ध नै प्रहार भइरहेको उनको भनाइ छ । ‘हिजो विदेश पठाउँछु भन्दै पैसा लिने र नपठाउने कुरा सामान्यजस्तै लाग्थ्यो, विकास निर्माणका कामको ठेक्का लिने र काम वर्षौँसम्म नगरी होल्ड गरेर राख्ने कुरा सामान्य थियो,’ उनले भने ‘यसरी खान पल्केकाहरू अहिले कारबाहीको दायरामा आउन थालेका छन्, अनि सरकारविरुद्ध उनीहरू संगठित रूपमा लाग्न थालेका छन् ।’

पार्टी एकता भयो तर रसायन हरायो
मुख्यमन्त्री पोखरेलले तत्कालीन नेकपा एमालेलाई जनताको बहुदलीय जनवादले गाइडेड गर्दा र माओवादीलाई जनयुद्धले गाइडेड गर्दा जस्तो सहज अहिले नरहेको टिप्पणी गरे । उनले भने, ‘एमालेमा जनताको बहुदलीय जनवादको रसायन थियो, माओवादीमा जनयुद्धको रसायन थियो, त्यही रसायनले सबैलाई बाँधेको थियो ।’ अहिले लिखित दस्ताबेजमा केही भए पनि त्यो जनतामा नपुगेको र त्यसैले एकता हुँदा एकताको रसायन गुमेको उनको भनाइछ । यद्यपि, छिट्टै यसको पूर्ति हुने उनले बताए ।

राजनीतिक परिवर्तनजस्तो सामाजिक परिवर्तन सहज छैन
मुख्यमन्त्री पोखरेलले राजनीतिक परिवर्तनजस्तो सामाजिक परिवर्तन सहज नभएको बताए । हिजो राजनीतिक परिवर्तनमा ज्यान दिन तयार हुने कार्यकर्तालाई आज सामाजिक परिवर्तन र रूपान्तरणमा लाग्न भन्यो भने तर्किने गरेको उनले विश्लेषण गरे । चुनावको नेतृत्व पार्टी र नेता कार्यकर्ता सबैले गरे पनि सामाजिक परिवर्तन गर्दा भने एक्लो बन्नुपर्ने बाध्यता जनप्रतिनिधिमा रहेको उनले दुखेसो पोखे । 

चुनाव या राजनीतिक परिवर्तनमा जस्तै एकताबद्ध भएर सामाजिक परिवर्तनमा लाग्नुपर्नेमा एउटाको थाप्लोमा सबै जस–अपजस बोकाउने परिपाटी गलत रहेको उनको भनाइ छ । उनले भने, ‘चुनाव वा परिवर्तनको आन्दोलनमा नेतृत्व गर्ने र साथ दिन खोज्ने धेरै हुन्छन्, सामाजिक परिवर्तनको प्रारम्भ निर्वाचन जितेपछि हुन्छ तर, यसरी निर्वाचित जनप्रतिनिधिलाई साथ दिएर सामाजिक परिवर्तनको अभियानमा साथ दिनेहरू कमै पाइन्छ ।’