सुशन जबेगुको निर्णायक गोलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार भएको अन्तिम सेमिफाइनलमा फिदिमले झापा ११ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।
भानुजन माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा फिदिमका लागि सुशनले पहिलो हाफमै निर्णायक गोल गरे। उनले खेलको ३४औँ मिनेटमा गरेको गोल नै फिदिमको जितका लागि अन्तिम बन्यो।
झापा ११ ले गोल फर्काउन निरन्तर प्रयास गर्यो। दोस्रो हाफमा झापाले आक्रमण बढाउँदै गोलका अवसर सिर्जना गरे पनि फिदिमले गोल गर्नबाट रोक्यो। अन्ततः सुशनको एक गोलले नै फिदिम फाइनलमा पुर्यो। फिदिमको जितमा प्रभावशाली प्रदर्शन गरेका मिराक खजुम खेलको म्यान अफ द म्याच घोषित भए।
फिदिमले उपाधिका लागि साविक विजेता सिराहाको सलहेस युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सलहेसले मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङपोङलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
प्रतियोगिताको फाइनल १९ गते शुक्रबार हुनेछ। आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार उपाधि विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले बताए। टिकट काटेर खेल हेर्ने दर्शकमध्येबाट भाग्यशाली एकजनालाई स्कुटर पुरस्कार दिइने आयोजकले जनाएको छ।