राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले जलविद्युत् आयोजनाका सुरुङभित्र दबिएका तथा पुरिएका नागरिकको उद्धारका लागि भइरहेका प्रयास जटिल भौगोलिक अवस्थाका कारण चुनौतीपूर्ण रहेको बताएका छन्।
बुधबार संसदमा बोल्दै सांसद पराजुलीले यति ठुलो विपतकाे सामना गर्न नेपालको स्रोत–साधन, प्रविधि र उद्धार क्षमता पर्याप्त नरहेको वास्तविकता स्वीकार गर्नुपर्ने बताए।
उनले भने, ‘राहत पुर्याउने प्रयास जारी छ। जलविद्युत् आयोजनाका सुरुङभित्र दबिएका र पुरिएका नागरिकको उद्धार गर्ने प्रयास जटिल भौगोलिक अवस्थाका कारण चुनौतीपूर्ण छ। यति ठुलो महाविपत्तिको सामना गर्नुपर्दा हाम्रो स्रोत–साधन, प्रविधि र उद्धार क्षमता पर्याप्त छैन भन्ने स्विकार्नुपर्छ।’
यद्यपि, स्रोत–साधन र प्रविधिको अभाव तथा सीमितताबिच पनि उपलब्ध साधनको अधिकतम प्रयोग गर्दै नागरिकको जीवन बचाउन सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, विपत् व्यवस्थापन संयन्त्र तथा स्वयंसेवकले अहोरात्र खटिएर गरेको कामको प्रशंसा गर्नुपर्ने उनले बताए।
‘गर्न बाँकी धेरै छ। तर, नागरिकको जीवन बचाउन गरिएको सत्प्रयासका लागि सरकार र मैदानमा खटिएका संयन्त्रलाई धन्यवाद दिनैपर्छ,’ पराजुलीले भने।
उनले विपतका क्रममा भएका कमजोरी लुकाउनेभन्दा त्यसलाई स्वीकार गरेर सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। साथै, उद्धार तथा राहतका क्रममा भएका प्रयासलाई अवमूल्यन नगरी उपलब्ध प्रत्येक सम्भावनालाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।
‘कमजोरी लुकाउने होइन, भएको प्रयासलाई अवमूल्यन गर्ने होइन। कमजोरी स्विकार्दै उपलब्ध प्रत्येक सम्भावनालाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्ने हो,’ उनले भने।