बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।
राहत सामग्रीमा पानी शुद्धीकरणका लागि फिल्टर, त्रिपाल, कम्बल, सरसफाइसम्बन्धी किट तथा सौर्य बत्तीलगायतका सामग्री रहेका छन्। यी सामग्रीले बाढी प्रभावित क्षेत्रमा रहेका करिब दुई हजार ६ सय परिवारलाई सहयोग पुग्ने जनाइएको छ।
स्थानीय तहमा कार्यरत विभिन्न संस्थामार्फत प्रभावित समुदायसम्म राहत सामग्री पुर्याउने तयारी गरिएको छ। बाढीका कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न राहत सामग्री महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
अमेरिकी दूतावास नेपालले नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ। नेपालका आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउने तथा प्रभावित समुदायसम्म प्रभावकारी रूपमा राहत पुर्याउने काममा समन्वय भइरहेको दूतावासको भनाइ छ।
बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, सरसफाइ र प्रकाशसम्बन्धी सामग्रीको उपलब्धताले प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।