भोटेकोशी बाढीले हाम्रो जलविद्युत् क्षेत्रमा कस्तो असर पुर्यायो ?
भोटेकोशी बाढी जलविद्युत् क्षेत्रका लागि ठुलो र अकल्पनीय ‘डिजास्टर’ हो । यसबाट सञ्चालनमा रहेका र बन्दै गरेका गरी झन्डै ८ सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूमा गम्भीर क्षति पुर्याएको छ । यसबाट खर्बौंको क्षति भएको छ । आगामी दिनमा पुनः प्रोजेक्ट सुरु गर्न ‘एक्सेस रोड’ छैन । त्यो कहिले बन्छ, यकिन छैन । बिमाबाट क्षतिपूर्ति कति र कसरी आउँछ ? भविष्यमा थप लगानी कसरी जुटाउन सकिन्छ ? यी सबै विषय अन्योलमै छन् । समय र लगानी दुवै हिसाबले भोटेकोशी बाढीबाट जलविद्युत् क्षेत्रमा असाध्यै ठुलो क्षति भएको छ ।
सुरुङमा फसेका मानिसको उद्धार किन यति जटिल भएको होला ?
अपरेसनमा रहेका पावर हाउसका टनेलमा कम र निर्माणाधीन आयोजनाका टनेलमा धेरै कामदार फसेको अवस्था छ । ती टनेलमा लेदोसहितको पानी भरिएको छ । तत्कालै तिनै सुरुङमा विगतमा काम गरेका विज्ञहरूसित सरकारले समन्वय गरेर उद्धारको पहल गरेको भए राम्रो हुन्थ्यो । अहिले सडक संरचना पनि ध्वस्त भएकाले प्रभावित क्षेत्रमा एक्स्काभेटर, पानी तान्ने अलि ठुला पम्पलगायत अत्यावश्यक उपकरण पुर्याउन पनि हेलिकोप्टरकै भर पर्नुपर्ने अवस्था छ । सञ्चालनमा आइसकेका टनेलभित्र चार तलासम्मका ‘अपरेसनल बिल्डिङ’ हुन्छन् । त्यस्ता टनेलमा फसेका मानिस तिनै बिल्डिङमा सुरक्षित हुन पनि सक्छन् । हामीले नसके विदेशबाट समेत विज्ञहरू बोलाउनुपर्छ । यसमा समन्वयको कमी भएको देखिन्छ ।
यो बाढीले हाम्रो जलविद्युत् क्षेत्रलाई कस्तो पाठ सिकाएको छ ?
यसबाट सिक्नुपर्ने पाठ धेरै छन् । ‘अन्डग्राउन्ड पावर हाउस’ बनाउने, त्यसको ‘इभ्याकुएसन टनेल’ नदीबाट चार–पाँच सय मिटर माथि बनाउनुपर्ने र निस्किन एउटा अलग्गै सुरक्षित प्वाल राख्नुपर्ने देखियो । क्षमता बढाउन पावरहाउसलाई नदीको निकै नजिक लाने प्रवृत्ति छ । त्यसलाई रोक्नुपर्छ । निश्चित ‘लेभल’ तोकेर त्यसको नियमन गर्नुपर्छ । पावर हाउसमा ‘रिमोट अपरेसन’ प्रविधि लागू गर्नुपर्छ । नदीसम्बन्धी पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा अनिवार्य गरिनुपर्छ ।