मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १७ बुधबार o७:२५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो प्रवर्द्धकको साथ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o७:२५:oo

भोटेकोशी र त्रिशूली नदी क्षेत्रका जलविद्युत्को सुरुङमा फसेकाको साता बित्दा पनि उद्धार हुन सकेको छैन । सुरुमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनियाँ विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो । मंगलबार जलविद्युत् परियोजनाका प्रवर्द्धकहरूको पनि साथ खोजेको छ । सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरलगायतलाई वेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ ।

रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र पाँच सयभन्दा धेरै मजदुर, कर्मचारीलगायत फसेको आकलन गरिएको छ । अब सेना, विदेशी प्राविधिक टोलीसँगै प्रवर्द्धक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धारको पहल गर्नेछन् । नेपालमा सुरुङ उद्धार नयाँ चुनौती पनि थियो । 

‘सेनाले सुरुदेखि नै यसमा प्राविधिक ज्ञान छैन भन्दै आएको थियो । तर, हामीलाई उद्धारमा सहभागी गराउन मानेको थिएन । तर, मंगलबार अब तपाईंहरूको पनि साथ चाहियो भने,’ एक प्रवर्द्धकले भने, ‘तर, अब यो निकै ढिलो भयो । त्यही पनि हामी थप उद्धार सामग्रीसहित काममा उत्रिँदै छौँ । मंगलबार तयारीमै बित्यो । बुधबारदेखि थप काम अघि बढ्छ ।’

२१६ मेगावाटको माथिल्लो त्रिशूली १ को सुरुङ पुरिएको अवस्थामा छ । ५७३ जना सम्पर्कविहीन रहेको यो परियोजनाको सुरुङमा तीन सयभन्दा धेरै फसेका छन् । मंगलबार हाकुस्थित बाँधबाट प्रवेश गरेको उद्धार टोलीले १६० मिटरभित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो । यहाँको सुरुङ १० किमि लामो छ । ‘अपर त्रिशूली १ को हाकुमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली १६० मिटरसम्म पुग्दा टनेल टालिएको अवस्थामा फेला परेको छ,’ सेनाले भनेको छ । 

त्यस्तै, सुरुङमा ३५ सहित ४२ जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली ३ ‘ए’मा इनलेट टनेलमा बनाइएको प्वालबाट भित्र छिर्न असफल भएपछि आउटलेट प्वाल बनाउन लागिएको छ । शनिबारदेखि खोजी थालिएको यहाँ कोही भेटिएका छैनन् । ‘त्रिशूली ३ ‘ए’मा टनेल हेड फेला परेको र तीन एक्स्काभेटरबाट माटो पन्छाएर कम्प्रेसर र रक ब्रेकरद्वारा टनेलमा पारिएको होलमा अत्यधिक पानी आएकाले उक्त स्थानबाट छिर्न असम्भव देखिएकाले टनेलको आउटलेटबाट पुनः होल पार्ने कार्य जारी रहेको छ,’ नेपाली सेनाको सूचनामा भनिएको छ । 

उता २१३ जना सम्पर्कविहीन भएको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’मा आयोजनाको कार्यालय तथा निवास पहिचान गरी एक्स्काभेटर पहुँचमार्ग निर्माण जारी रहेको छ,’ सेनाले भनेको छ । यहाँ चिनियाँ सेनाका ३१ विज्ञ टोलीसहितले नेपाली सेनालाई सहयोग गरिरहेको छ । 

त्यस्तै, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ भने पूर्ण रूपमा पुरिएको अवस्थामा भेटिएको छ । यहाँ २५० मिटर लामो सुरुङ छ । ‘चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब १५० मिटरभित्रसम्म पुग्दा भिरालो भाग सुरु भएपश्चात् पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको छ,’ सेनाले भनेको छ । यस परियोजनामा आठजना सुरुङभित्र फसेको अनुमान छ । 

२० मेगावाटको लाङटाङ जलविद्युत् परियोजनाबाट उद्धारमा भारतीयसहितको नेपाली टोली मंगलबार ६५ मिटरसम्म पुगेर थप निगरानीमा राखिएको छ । ४१ जना सम्पर्कविहीन भएको यहाँ सोमबार एउटा शव भेटिएको थियो । बुधबार परियोजनाले सेनासँग मिलर उद्धार अघि बढाउँदै छ ।

त्यस्तै, १११ मेगावाटको रसुवागढी हाइड्रोमा थप उद्धार कार्य भएन । यहाँ पनि सोमबारदेखि सेनाको उद्धार टोलीले प्रयास गरेकामा कसैलाई भेट्न सकेको छैन । ९३ जना सम्पर्कविहीन भएको यहाँ चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले अध्ययन गर्दै छ । सोमबारै सेनाको टोली धुन्चे फर्किएको छ भने मंगलबार कुनै काम नै भएन । त्यसैगरी, मैलुङ खोलामा कोरियन विशेषज्ञसहितको टोलीले पाँच मेगावाटको मैलुङ खोलामा हवाई रेकी गरेर काम सुरु गरेको छ । यसमा सातजना सम्पर्कविहीन छन् । 

यसबाहेक १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्का चार, २४ मेगावाटको त्रिशूली जलविद्युत्का एक, १४.१ मेगावाटको देवीघाट जलविद्युत्का एक र १५.६ मेगावाटको मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन् । यस्तै, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारणलाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् । उनीहरूको खोजी हुन सकेको छैन । नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन, सौर्य आयोजनाबाट चार र देवीघाट आयोजनाबाट चारजनाको उद्धार भइसकेको सेनाले जनाएको छ ।