बर्दियामा पहिलोपटक सरकारी नगर अस्पतालबाट आँखा उपचार सेवा सुरु भएको छ। ठाकुरबाबा नगरपालिका–३, नेउलापुरमा रहेको ठाकुरबाबा आधारभूत नगर अस्पतालले औपचारिक रूपमा आँखा उपचार सेवा सुरु गरेको हो।
यसअघि विभिन्न स्थानमा गैरसरकारी संस्थाको सहकार्यमा आँखा जाँच तथा उपचारसम्बन्धी सेवा सञ्चालन हुँदै आएको भए तापनि सरकारी अस्पतालबाट नियमित रूपमा आँखा उपचार सेवा सुरु भएको यो पहिलोपटक हो।
नगर अस्पतालका अध्यक्ष भावुक योगीले अस्पतालबाट औपचारिक रूपमा आँखा उपचार सेवा सुरु गरिएको जानकारी दिए।
मंगलबार आँखा उपचार सेवा सुरू गरिएको पहिलो दिन भएकाले आँखा जाँच शिविर पनि राखिएको थियो। शिविरमा आएका बिरामीमध्ये एक सय ११ जनामा मोतियाबिन्दु देखिएको अध्यक्ष योगीले बताए।
मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रियाका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी निःशुल्क आँखा जाँच गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। अध्यक्ष योगीले भने, 'बिरामीहरूको निःशुल्क अपरेसनका लागि रेडक्रससँग सहकार्य गरेर मोतियाबिन्दुको अपरेसनको व्यवस्था मिलाएका छौँ।”
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले नगर अस्पतालमा नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाको समन्वय र रोटरी इन्टरनेसनलको आर्थिक सहयोगमा आजदेखि नियमित रूपमा एउटा आँखा जाँच सेवाको सुरुवात गरेको बताए ।
उनले भने, 'पालिकामा दुईवटा आधारभूत सेवाको कमी थियो। एउटा आँखा अर्को एउटा दन्त सेवा आजबाट आँखा सेवा हामीले सुरुवात गरेका छौँ भने दन्त सेवा सञ्चालन गर्न उपकरण खरिद प्रक्रियामा छ, त्यो हुनेबित्तिकै हामीले दन्त सेवा सुरु गर्नेछौँ।’ अस्पतालबाट आँखा उपचार सेवा सुरु भएपछि ठाकुरबाबा नगरपालिका तथा आसपासका नागरिकलाई सामान्य आँखा समस्या, परीक्षण तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।