नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको महाधिवेशन तोकिएकै मिति १६ असोजमा सुरु हुने बताएका छन् । मिति तय भइसकेकाले अब कुनै पनि बहानाबाजी नचल्ने उनले दाबी गरे । ‘किन्तु, परन्तुविनै असोज १६ गते महाधिवेशन सुरु हुन्छ । यो तिथि अब कुनै पनि हालतमा तलमाथि हुँदैन । भोलिबाटै अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ,’ थापाले भने ।
उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन पनि दिए । पार्टीमा गुटगत भागबन्डा नहुने दाबी गर्दै थापाले विशेष र नविशेष भनेर विभेद नगरिने स्पष्ट पारे । अधिवेशन प्रक्रियाबाट कोही पनि नछुटून् भनेर आवश्यक पहल गरिरहेको पनि बताए । ‘अझै पनि साथीहरू नछुट्नुस् भनेर हामीले आग्रह गरेका छौँ । राजनीतिक असहमति राख्न पाउनुहुन्छ । अधिवेशनको प्रक्रिया रोकिदिन्छु भन्नचाहिँ पाइँदैन,’ सभापति थापाले भने ।
अधिवेशनलाई मर्यादित र धाँधलीरहित बनाउन तयार रहेको पनि उनले बताए । ‘अधिवेशनका लागि के–के विषय मिलाउँदा स्वच्छ र निष्पक्ष हुन्छ, त्यो गर्न म तयार छु । तर, तपाईंहरू अधिवेशनमा आउनुपर्छ,’ उनले भने ।