मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १o:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पुजारीको वेशमा लुकिछिपी बस्दै आएका ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १o:४३:oo

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउने विषयमा भएको विवादपछि कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न रहेको अदालतको ठहरपछि एक वर्ष कैद सजायको फैसला सुनाइएका वृद्ध ४३ वर्षपछि पक्राउ परेका छन् । 

सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– ५ का (साबिक खरुकियाही गाउँ पञ्चायत– ४) का करिब ८० वर्षीय ठकाई यादवलाई पुजारीको वेशमा लुकिछिपी बस्दै आएको अवस्थामा बिहीबार स्थानीय शिव मन्दिरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरी आवश्यक प्रक्रिया पुर्‍याएर सजायअनुसारको कारबाहीका लागि अदालतमा बुझाइएको छ । 

यादव ४३ वर्षअघिको घटनाका मतियार
तत्कालीन खरुक्याही गाउँ पञ्चायत– ४ का बालेश्वर यादवको जाहेरीको आधारमा घटनाका मुख्य योजनाकार मौजेलाल यादव र मतियारको रूपमा ठकाईसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको थियो । १ वैशाख २०४१ मा गाउँको राजदेवी मन्दिरपरिसरमा लागेको मेलामा बोका चढाउने क्रममा विवाद भएपछि मौजेलालको योजनामा भारतबाट समेत पहलवान बोलाएर स्थानीय रजिन्द्र यादवलाई घेरा हालेर कुटपिट गरी हत्या गरिएको सिराहाका प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

उक्त घटनापछि परेको किटानी जाहेरीको आधारमा तत्कालीन सगरमाथा अञ्चल अदालतका न्यायाधीश मीनबहादुर रायमाझीको इजलासले २५ पुस ०४६ को फेसलाअनुसार मुख्य योजनाकार मौजेलाललाई २० वर्ष कैद र ठकाईसहित अन्य मतियारहरूलाई एक वर्षसम्मको कैद सजायको फैसला सुनाएको जनाइएको छ । फैसलापछि केही समय अन्यत्र लुकेर बस्दै आएका ठकाई बहुदलीय व्यवस्था पुनर्स्थापना भएसँगै फेरिएको राजनीतिक माहाेलमा गाउँ फर्किएर बाबु सुकदेव यादवले गर्दै आएको मन्दिरको पुजारीको काम गर्न थालेको बताइएको छ । 

जग्गा रोक्काले खुल्यो पोल
उक्त घटनामा मतियारको रूपमा रहेका ठकाईबाहेक मुख्य योजनाकारसहित अन्य ११ जना प्रतिवादीहरू अदालतले सुनाएको कैद सजाय भुक्तान नै नगरी कालगतिले मृत्यु भइसकेको  प्रहरीले जनाएको छ। अदालतले कैद सजायको फैसला सुनाएको भए पनि प्रतिवादीहरू फरार रहेकाले अदालतले फैसला कार्यान्वयन गर्न प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेस गर्न स्थानीय प्रहरीलाई पत्राचार गरेको थियो ।

फरार प्रतिवादीमध्ये हेमनारायण चौधरीका भाइ दाजुको कारणले आफूहरूको जग्गा रोक्का भएको भन्दै स्थानीय प्रहरीमा पुगेपछि घटनामा संलग्न रहेका अन्य प्रतिवादीहरूको समेत खोजतलास गरिएको प्रहरीले जनाएको छ । 

उक्त घटनाको अन्तिम फैसला सुनाएका न्यायाधीश रायमाझी सर्वोच्च अदालतको १९औँ प्रधानन्यायाधीश बनेर सेवानिवृत्तसमेत भइसकेकाले अदालतको अन्तिम फैसलासम्बन्धी निर्णयको कागजात खोजेर यकिन गरिएको जनाइएको छ । प्रहरीका अनुसार घटनामा खरुकियाहीका मौजेलाल  र ठकाईसहित रामप्रित यादव, उत्तिमलाल मलाह, शिवनारायण यादव, उदयनारायण यादव, हेमनारायण चौधरी, रजै यादव, रामबाबु यादव, सुरैतलाल चौधरी, हरिलाल मलाह र गुदरी मलाहलाई प्रतिवादी बनाएर जाहरी परेको थियो ।

महेशपुरपतार प्रहरीले यसअघि पनि १ साउनमा बरियारपट्टी गाउँपालिका– ५ जिझौल गाउँका करिब ६० वर्षीय रामनाथ रायलाई कर्तव्य ज्यानसम्बन्धी घटना भएको १८ वर्षपछि पक्राउ गरेको थियो । प्रहरी निरीक्षक मल्लको कमान्डमा रहेको प्रहरी टोलीले रायलाई उनको आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

३ भदौ ०६५ बिहान करिब ९ बजेतिर बौधा रायकी श्रीमती करिब २५ वर्षीया चन्द्रिकादेवी रायलाई बौधासहित नातामा मामा पर्ने रामनाथ र अर्का एक गरी तीनजनाले कुटपिटसँगै धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएपछि उपचारको क्रममा १६ दिनपछि मृत्यु भएपछि फरार रहँदै आएका थिए ।