लघुवित्तका सदस्य तथा ऋणीको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठनदेखि ऋण मिनाहाको विकल्पका लागि अध्ययन गर्ने विषयमा सरकारी वार्ताटोली र आन्दोलनरत पक्षबिच सहमति जुटेको छ । यससँगै अब लघुवित्तपीडितको आन्दोलन पनि स्थगित भएको छ ।
अर्थ मन्त्रालयले गठन गरेको वार्ताटोलीका पदाधिकारी र लघुवित्तपीडितबिच बिहीबार भएको वार्तामा सहमति जुटेपछि सातबुँदे सम्झौता भएको हो । यसअघि पनि वार्ताटोलीले आन्दोलनरत लघुवित्तपीडितको अर्को समूहसँग पाँचबुँदे सम्झौता गरेको थियो ।
सरकारले १५ साउनमा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिसँग १५ दिनभित्र कार्यान्वयन योजना पेस गर्ने, ऋणीको पुनरुत्थान, कालोसूची र धितो लिलाममा पुनर्विचार गर्ने, राष्ट्र बैंकको नियम कडाइका साथ लागू हुने, ऋण असुलीका नाममा दुःख दिनेलाई कारबाही गर्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको थियो । उक्त सम्झौतापछि पनि असन्तुष्ट अर्को पक्ष धर्ना र आन्दोलन होमिएको थियो । सरकारी वार्ताटोलीले ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’नामक समूहसँग सम्झौता गरेको हो । यो समूह विवादास्पद व्यवसायी दुर्गा प्रसाईं समर्थित रहेको एक अधिकारीले बताए ।
जसअनुसार लघुवित्त वित्तीय संस्थाका सदस्य–ऋणीसँग सम्बन्धित समस्या निराकरणका लागि आवश्यक अध्ययन गरी सुझाव दिन ‘उच्चस्तरीय लघुवित्त वित्तीय संस्थाका समस्या समाधान समिति गठन गर्न’ सिफारिस गरिने भएको छ । समितिले जनमुखी मौद्रिक नीति, सेवामूलक र सामाजिक बैंकिङका अवधारणा, वित्तीय साक्षरता, बैंकिङ कसुर ऐन, २०६४ को संशोधनलगायतका विषयलाई सम्बोधन गर्ने छ । त्यस्तै, ‘समितिको कार्यदिशा बनाउँदा सरोकारवाला समूहबाट नछुटाई सुझाव लिने’ समेत सम्झौतामा उल्लेख छ ।
त्यस्तै, दुई पक्षबिच ऋणीको पुनरुत्थानदेखि ऋण मिनाहाका सम्बन्धमा अध्ययन गर्नसमेत सहमति जुटेको छ । ‘समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन एवं कालोसूची र धितो लिलामसम्बन्धी विद्यमान व्यवस्था पुनरवलोकन तथा कर्जा मिनाहासम्बन्धी मागका विषयमा तथ्यांक विश्लेषण गरी उपर्युक्त कार्यान्वयनयोग्य विकल्पसहित प्रतिवेदनमा सिफारिस गर्ने’ सम्झौता उल्लेख छ ।
सम्झौताअनुसार लघुवित्त संस्थाका विपन्न, समस्याग्रस्त र परिस्थितिजन्य हिसाबले अक्षम ऋणीले लिएको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरेको वा ऋणीको जीवन बिमा गरेको अवस्था यकिन गरी कार्यान्वयन गर्न सम्बन्धित लघुवित्त संस्थालाई आवश्यक निर्देशन दिइने उल्लेख छ । दुई पक्षबिच लघुवित्तपीडितका गुनासा सुन्न र सम्बोधन गर्न विशेष प्राथमिकता दिइने भएको छ । जसअनुसार ‘लघुवित्तसम्बन्धी समस्या र गुनासोको प्रभावकारी व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागमा टोल फ्री हटलाइनको व्यवस्थासहित अन्य माध्यमबाट लघुवित्तपीडितका गुनासाको सम्बोधन गर्ने’ सम्झौतामा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन, २०८१ को पूर्ण कार्यान्वयन गर्ने र राष्ट्र बैंकले त्यसको कडाइका साथ अनुगमन गर्ने पनि सम्झौतामा उल्लेख छ ।
दुई पक्षबिच लघुवित्तपीडितमाथिको धरपकड रोक्ने तथा धरपकड गर्नेलाई कानुनी दायरामा ल्याउनेसमेत सहमति भएको छ । वार्तामा किसान, मजदुरका तर्फबाट रमेश सेन्चुरी, सुरेन्द्रचन्द्र घिमिरे, विमला गजमेर, दामोदर ढकाल, जोगेन्द्र यादव, पुनमकुमारी महतो र निर्गराज जैशी सहभागी थिए ।