रोल्पाको थबाङ गाउँपालिका–५ मा गएको पहिरोमा परी मृत्यु भएकामध्ये प्युठानमा फेला परेका पाँचै शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बेपत्ता भएका व्यक्तिमध्ये प्युठानमा फेला परेका शवहरू थबाङ गाउँपालिका–५ का स्थानीयको रहेको पुष्टि भएको हो ।
पहिचान हुनेमा थबाङ–५ निवासी अन्दाजी ३८ वर्षीया जुनकुमारी पुनमगर (उपनाम विष्णु पुन), अन्दाजी ५ वर्षीय अशोक पुन मगर, अन्दाजी ८० वर्षीय बलबहादुर पुन मगर, अन्दाजी ६६ वर्षीया मनि पुनमगर र अन्दाजी ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन् ।
रोल्पा पहिरोमा हालसम्म १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । अझै ३ जना बेपत्ता रहेको र खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो अपडेट २०८३ साल असार २८ गते राति ८ः३० बजेसम्मको हो ।
खबर प्राप्त भएपछि २८ गते बिहान ३ : २५ बजे प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको टोली उद्धार तथा खोजीमा परिचालन भएको थियो।
बेपत्ता व्यक्तिहरू नदीले बगाएर तल्लो तटीय क्षेत्रमा पुर्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले प्युठानको माडी खोला तथा दाङको राप्ती नदी किनार क्षेत्रमा समेत खोजी अभियान सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीसमेतको टोली घटनास्थलमा पुगेको थियो ।
प्युठानमा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजय चौधरीको कमाण्डमा २० जना तथा इलाका प्रहरी कार्यालय बिजुवारबाट १५ जनाको टोली खोजीमा खटिएको छ।
त्यस्तै, राप्ती नदी क्षेत्रमा खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं २९ गण हेक्वा ज्वालामाई दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक शसीराम भारतीको कमाण्डमा १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ५ विन्ध्यावासिनी वाहिनीले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै लुम्बिनी प्रदेशका विभिन्न ७ स्थानमा विशिष्टिकृत मनसुन प्रतिकार्य बेस स्थापना गरी उद्धार तथा राहत कार्यका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको जनाएको छ।