महोत्तरी सदरमुकाम जलेश्वर बजार बन्द गरिएको छ। सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लाहरूमा विरोध प्रदर्शन हुँदै गर्दा सदरमुकाम जलेश्वरमा पनि यसको प्रभाव देखिएको छ। हिन्दुवादी संगठनहरूको आह्वानमा शुक्रबार जलेश्वर बजार बन्दका साथै युवाहरूले हिन्दुराष्ट्र कायम गर्न मागसमेत गरेका छन् ।
मधेशका विभिन्न स्थानमा प्रहरीको गोलीबाट सर्वसाधारणको मृत्यु भएको र हिन्दुहरूसँग सरकारले समेत कटुता साधेको आरोप लगाउँदै युवाहरू आक्रोशित देखिएका हुन्। जलेश्वरसँगै गौशाला नगरपालिकामा समेत बिहानैदेखि बजार बन्द गराउन युवाहरू सडकमा देखिएका छन् भने जिल्लाका अन्य विभिन्न स्थानमा हिन्दुवादी संगठनका युवाहरू सडक तताउँदै छन् ।
उनीहरूले हिन्दुराष्ट्रको विकल्प नरहेको भन्दै देशमा स्थायी शान्ति कायम राख्न सरकारले पुराना दलका गल्तीहरू सच्याउँदै देशलाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने बताए। हालसम्म जलेश्वरसहित महोत्तरीका सबै स्थानमा भएको आन्दोलन शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ ।