मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सदभाव खलबल्याउने कार्यमा संलग्न नहुन धार्मिक अगुवाहरूको संयुक्त अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १४:४१:oo

सुनसरीलगायतका केही जिल्लामा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण अवस्थाबिच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमित रहन र सामाजिक सदभावमा असर पुग्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।

शुक्रबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै धार्मिक सहिष्णुता, सामाजिक एकता र भाइचारालाई मजबुत बनाउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका हुन्।

संयुक्त विज्ञप्तिमा केही स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक गतिविधि फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै नागरिकलाई उत्तेजनात्मक, घृणात्मक तथा सामाजिक सदभाव खलबल्याउने कुनै पनि कार्यमा संलग्न नहुन अपिल गरिएको छ।

विज्ञप्तिमा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराम फुयाँल, जमिअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी तथा अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीको हस्ताक्षर रहेको छ।

धार्मिक अगुवाहरूले सबै धर्मको मूल भावना मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचाराको प्रवर्द्धन रहेको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मावलम्बीप्रति विभेद वा उचनिचको व्यवहारलाई स्वीकार नगर्ने बताएका छन्। सामाजिक सदभावलाई थप सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनीहरूको भनाइ छ।

साथै, नेपालमा सदियौँदेखि कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सदभावमा खलल पुर्‍याउने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सदभाव पुनर्स्थापित गर्न सक्रिय योगदान दिन पनि आह्वान गरिएको छ।