मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १३ बुधबार
  • Thursday, 30 July, 2026
गणेश लम्साल विराटनगर
२o८३ श्रावण १३ बुधबार o५:५९:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुनसरीको कप्तानगन्ज घटना : तोडफोड र आगजनीका घटना बढेपछि फेरि अनिश्चितकालीन कर्फ्यु  

Read Time : > 4 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ श्रावण १३ बुधबार o५:५९:oo

डिजेबाजा विवादले निम्तिएको झडपमा राज्यबाट भएको बल प्रयोगमा एकजनाको मृत्यु भएको घटनापछि सुनसरी र आसपासका क्षेत्र अशान्त बनेका छन् । प्रशासनले सुनसरीका १२ मध्ये आठ पालिकाका सम्पूर्ण क्षेत्र तथा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाका महेन्द्र राजमार्गआसपासमा मंगलबार रातिबाट अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । यसअघि दक्षिणी क्षेत्रका पालिका केन्द्रित कर्फ्यु थियो ।

एक युवकको ज्यान जाने गरी आइतबार राति झडप भएको देवानगन्ज गाउँपालिका– ३, देवानगन्जमा मंगलबार राति दुई पक्षबिच झडप भएको छ भने केही घरपसलमा आगो लगाइएको छ । कर्फ्युकै बिच पहिचान हुन नसकेको समूहले आगजनी गरेको सुनसरी प्रहरीका डिएसपी चन्द्रबहादुर खड्काले बताए । ‘केही घरपसलमा आगो लगाइएको छ । प्रहरी र सेनाले स्थिति नियन्त्रणमा लिएको छ,’ उनले भने । देवानगन्जमा मंगलबार दिउँसो चार घरपसलमा आगजानी भएको थियो ।

मंगलबारका घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु विस्तार गर्दै १० स्थानीय तहमा कायम गरेको हो । प्रशासनले मंगलबार राति ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि इटहरी उपमहानगरपालिका– १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्र, रामधुनी नगरपालिका– १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालले कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको बताए ।

आइतबार राति देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा भएको झडप तथा प्रहरीको गोली प्रहारबाट स्थानीय, प्रहरी र सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए । यसअघि सोमबार बिहानबाट लगाइएको कर्फ्यु मंगलबार बिहान हटाएर निषेधाज्ञा कायम गरेको थियो । मंगलबार बिहान सुनसरीको कोशी गाउँपालिकास्थित भन्टाबारीको कोशी कटान क्षेत्रमा रहेका घरपसलमा तोडफोड र आगजनी भएको थियो भने विराटनगरमा पनि प्रदर्शन हुनुका साथै बजार आंशिक बन्द रह्यो । परिस्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार दिउँसो साढे ३ बजेदेखि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । तर, मंगलबार रातिबाट कर्फ्यु थप विस्तार भएको छ । सुनसरीमा नेपाली सेनासहित अतिरिक्त सुरक्षा बल परिचालित छ । सेनाले हेलिकोप्टरमार्फत पनि हवाई गस्ती गरिरहेको छ । 

मोरङमा डिजेबाजा बजाउन रोक 
डिजेबाजाको निहुँमा सुनसरीमा हिंसात्मक घटना भएपछि मोरङ प्रशासनले डिजेबाजा बजाउन रोक लगाएको छ । अर्को सूचना नभएसम्मका लागि अब मोरङका कुनै पनि स्थान र उत्सवमा डिजे बजाउन प्रशासनको अनुमति लिनुपर्नेछ । कप्तानगन्जको घटनापछि हिन्दु सम्राट सेना मोरङले मंगलबार विराटनगर बन्दको आह्वान गरेको थियो ।

दुहबीमा सद्भाव र्‍याली
सामाजिक एकता कायम राख्न सुनसरीको दुहबीमा स्थानीयले मंगलबार सद्भाव र्‍याली निकालेका छन् । सामाजिक सद्भाव र आपसी भाइचारा कायम गर्ने उद्देश्यले निकालिएको सद्भाव र्‍यालीमा सबै धर्मका अगुवा, समर्थक, नेता, कार्यकर्ता, नागरिक समाज र प्रहरी प्रशासनको सहभागिता थियो । र्‍यालीका सहभागीले देवानगन्ज घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूको अपिल 

काठमाडौं/ धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपिल गरेका छन् । देवानगन्ज गाउँपालिका– ३ कप्तानगन्जमा भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहले तनाव नियन्त्रण गर्ने काममा सहयोग गर्न मंगलबार राति अपिल गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एक–अर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।’ उनले पीडितलाई न्याय दिने विश्वास दिलाउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

त्यस्तै, रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घटनाप्रति संवेदनशील बनेर समाधानका लागि अग्रसरता लिन सरकारसहित सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् । सुनसरीलगायत क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोलिने गरी हिंसात्मक घटना बढ्दै गएपछि सत्तारूढ दल रास्वपा र विपक्षी दलहरू एमाले र राप्रपाले एकता एवं भाइचारा कायम राख्न अपिल गरेका हुन् ।

रास्वपा सभापति लामिछानेले अपिल जारी गर्दै भनेका छन्, ‘नेपाली समाजको सबैभन्दा ठुलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौँदेखिको सामाजिक सद्भाव हो । यसलाई खलबल्याउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन हामी सम्पूर्ण आमनागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौँ ।’ कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने भन्दै उनले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन् ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र घटनालाई सामान्यीकरण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘यस संवेदनशील परिस्थितिमा तत्काल शान्तिसुरक्षा कायम गर्न, आमनागरिकको जिउधनको रक्षा गर्न र परिस्थिति सामान्यीकरण गर्न हामी नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौँ । साथै, यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ उनको विज्ञप्तिमा छ ।

घटनालाई राजनीतीकरण नगर्न पनि उनले विशेष आग्रह गरेका छन् । ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतीकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरूलगायत सम्पूर्णलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत विशेष निर्देशन दिइन्छ ।’

कांग्रेस सभापति थापाले भिडियो सन्देश जारी गर्दै सबैमा संयमित भएर सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । ‘ओमप्रकाश मेहतामाथि गोली नै चलाउनुपर्ने अवस्था किन आयो ? हामी सरकारलाई यो प्रश्न सोधिरहेका छौँ । सरकारको जवाफ पनि माग्छौँ, सरकारलाई जिम्मेवार बनाएर छाड्छौँ,’ थापाले भनेका छन् । उनले अफवाह, उत्तेजना र प्रतिशोध प्रतिशोध नभई संयमता चाहिएको बताएका छन् ।

एमाले महासचिव पोखरेलले धार्मिक, सामाजिक र जातीय सद्भाव तथा आपसी एकतालाई अक्षुण्ण राख्न सम्बन्धित क्षेत्रका समुदायलाई आह्वान गरेका छन् । त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति कुनै पनि रूपमा स्वीकार नगर्ने बताएका छन् ।

त्यस्तै, प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले मंगलबार विज्ञप्ति जारी गर्दै कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । साथै, उत्तेजनात्मक गतिविधि नगर्न, भ्रामक सूचना नफैलाउन र अफवाहबाट प्रभावित नहुन पनि अपिल गरिएको छ ।

रास्वपा सभापति रविले बोलाए सर्वदलीय बैठक 
रास्वपाका सभापति रवि लामिछानेले कप्तानगन्ज घटनाका विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक बोलाएका छन् । सामाजिक सद्भाव, शान्ति–सुरक्षा र द्वेष न्यूनीकरणका लागि प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल गर्न सर्वदलीय छलफल बोलाइएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बताए । उनका अनुसार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् । छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । त्यस्तै, जसपा, लोसपा र जनमतलाई पनि बैठकमा आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।