मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ६ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ श्रावण ६ बुधबार १o:oo:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण ६ बुधबार १o:oo:oo

नेपाली राजनीतिमा बिपी कोइराला र पुष्पलाल श्रेष्ठलाई कसरी सम्झिनु ठिक हुन्छ ?
बिपी कोइराला र पुष्पलाल तत्कालीन नेपाली राजनीतिका दुई फरक–फरक फाँटका शिखर व्यक्तित्व हुनुहुन्थ्यो । बिपीले बुर्जुवा फाँटको नेतृत्व गर्नुभयो भने पुष्पलालले कम्युनिस्ट विचारधाराको नेतृत्व गर्नुभयो । दुवै नेता फरक–फरक राजनीतिक धारका आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । पुष्पलाल जीवनभर सामन्तवादसित कहिल्यै झुक्नुभएन भने बिपीचाहिँ कहिले झुक्नुभयो भने कहिले जुध्नुभयो । बिपी र पुष्पलाल नभएको भए अहिले हामीले जुन लोकतान्त्रिक शासन व्यवस्था र स्वतन्त्रता पाएका छौँ, त्यो सम्भव नहुन पनि सक्थ्यो । त्यसैले, अहिले हामीले उपभोग गरिरहेको स्वतन्त्रता र आत्मसम्मानका लागि उहाँहरू दुवैलाई सम्मानपूर्वक सम्झनुपर्छ । 

आजको नेपाली राजनीतिमा उहाँहरूको विचारको सान्दर्भिकता कति छ ?
विचारको सान्दर्भिकता समयक्रमसँगै बदलिँदै जान्छ । पुष्पलाल समावेशिता र समानताका पक्षमा जीवनभर अडिग रहनुभयो । त्यहीँनेर बिपीको योगदान सामन्तवादसित जुधेर स्वतन्त्रता ल्याउनुमा रह्यो । राष्ट्रिय स्वतन्त्रताका हकमा सुरुमा भारतसँग निकै निकट देखिए पनि समयक्रममा बिपी भारतसँग जुधेरै अघि बढ्नुभयो । भारतले उहाँलाई कहिल्यै सुखले बाँच्न दिएन । हामी जहिल्यै आफ्नै बुतामा उभिनुपर्छ, अरूको बुतामा उभिन खोजियो भने देश स्वतन्त्र रहन्न भन्ने उहाँहरू दुवैको विचार आज पनि अत्यन्त सान्दर्भिक छ ।  

आजको कांग्रेसले बिपीलाई र कम्युनिस्ट पार्टीहरूले पुष्पलाललाई कदर गरेका छन् त ?
कांग्रेसले बिपीको नाम मात्र जप्छ, उनको विचारलाई रत्तिभर पछ्याउँदैन । बिपीको लोकतान्त्रिक समाजवादको बाटो हिँड्न कांग्रेसले उहिल्यै बिर्सिसक्यो । कम्युनिस्ट पार्टीहरूले ब्यानरमा त पुष्पलालको फोटो राखेको देखिन्छ । उनीहरू पुष्पलालले भनेजस्तै जनवादी बाटोबाट हिँड्नुपर्छ भनेर चर्का भाषणचाहिँ गर्छन्, तर त्यो बाटोबाट हिँड्न जरुरी भने कहिल्यै ठान्दैनन् । त्यसैले, कांग्रेसले बिपीलाई र कम्युनिस्टहरूले पुष्पलाललाई श्राद्ध गरेजस्तो नाम सम्झेर ‘तर्पण’चाहिँ दिँदै आएका छन्, तर उनीहरूको विचार र आदर्शलाई भने कहिल्यै पछ्याएका छैनन् ।