मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असार १९ शुक्रबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असार १९ शुक्रबार १३:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा सरकारको पहिलो १०० दिन सिकाइको चरण, केही समय दिनुपर्छ : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असार १९ शुक्रबार १३:o९:oo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन्द्र शाह (बालेन) नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पहिलो १०० दिनलाई विभिन्न दृष्टिकोणबाट फरक–फरक रूपमा मूल्यांकन गर्न सकिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको कार्यसम्पादनलाई हेर्ने दृष्टिकोणअनुसार निष्कर्ष पनि फरक पर्न सक्ने उल्लेख गरेका हुन्।

उनका अनुसार परम्परागत संसदीय राजनीतिको निरन्तरताका आधारमा मूल्यांकन गर्दा पहिलो १०० दिन उल्लेखनीय उपलब्धिमूलक नदेखिन सक्छ। स्थापित शासकीय अभ्यासमा परिवर्तन गर्ने प्रयासप्रति आशंका उत्पन्न हुनु पनि स्वाभाविक रहेको उनले बताएका छन्।

तर, राजनीतिक पुस्तान्तरण, नयाँ पुस्ताको नेतृत्व, गैरपरम्परागत राजनीतिक सहभागिता तथा शासन सञ्चालनको नयाँ शैली विकास गर्ने प्रयासका दृष्टिले वर्तमान अवधिलाई सकारात्मक रूपमा लिन सकिने उनको धारणा छ। पुरानो शासकीय शैलीबाट नयाँ अभ्यासतर्फ संक्रमणको प्रयास भइरहेकाले सरकारलाई केही समय दिनुपर्ने पक्षमा आफू रहेको उनले उल्लेख गरेका छन्।

भट्टराईले नेपालको जटिल भूराजनीतिक अवस्था, परनिर्भर तथा अल्पविकसित अर्थतन्त्र र तीव्र आर्थिक–सामाजिक रूपान्तरणको आवश्यकतालाई ध्यानमा राख्दै पहिलो १०० दिनलाई सिकाइको चरणका रूपमा लिनुपर्ने बताएका छन्। आगामी दिनमा सरकार अझ बढी गम्भीरता, तयारी र मिहिनेतका साथ अघि बढ्नुपर्ने सुझाव पनि उनले दिएका छन्।

उनले पहिलो १०० दिनका अनुभव, उपलब्धि र कमजोरीबाट पाठ सिक्दै सुशासन, समतामूलक समृद्धि र भविष्यमुखी वैकल्पिक राजनीतिको आधार निर्माणतर्फ दृढतापूर्वक अघि बढ्न युवा नेतृत्वको सरकारलाई शुभकामनासमेत दिएका छन्।