मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असार १४ आइतबार
  • Monday, 31 August, 2026
२o८३ असार १४ आइतबार ११:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वप्रधानमन्त्री भट्टराई यदुनाथ खनाल प्रवचन शृंखलाको मुख्य वक्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असार १४ आइतबार ११:३७:oo
  • नेपालको परराष्ट्रनीति र भूराजनीतिमाथि छलफल गर्न परराष्ट्र मन्त्रालयले विज्ञहरूलाई बोलाएर नेपाली कूटनीतिका चाणक्य मानिने सरदार यदुनाथ खनालको नाममा ०७९ देखि हरेक वर्ष कार्यक्रम गर्दै आएको छ

परराष्ट्र मन्त्रालयले यस वर्ष आयोजना गर्ने यदुनाथ खनाल प्रवचन शृंखलामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने भएका छन् । यसअघि भारत र चीनका विज्ञहरूसमेत सहभागी भइसकेको शृंखलामा भट्टराईले ‘नेपालको परराष्ट्र नीति : भूराजनीतिक र भूआर्थिक प्रवृत्तिको सञ्चालन’सम्बन्धी विषयमा सम्बोधन गर्नेछन् । परराष्ट्रले १५ असारमा प्रवचन शृंखलाको पाँचौँ संस्करण आयोजना गर्दै छ ।

परराष्ट्रसचिव अमृतबहादुर राईले प्रवचन शृंखलाका लागि सरोकारवालाहरूलाई निमन्त्रणा गरेका छन् । नेपालको परिवर्तित परिप्रेक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको विदेश नीति र भट्टराईले विगतमा भन्दै आएको नेपाललाई भारत र चीनबिच गतिशील पुल बनाउने अवधारणा मिल्दोजुल्दो छ । ‘यही कारण अहिलेको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईले भूराजनीतिक र भूआर्थिक विषयसमेत जोडेर विद्वत् प्रवचन दिने कार्यक्रम तय गरिएको हो,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने ।

सरकारले ०७९ देखि हरेक वर्ष पूर्वपरराष्ट्रसचिव एवं भारत, चीन र अमेरिकाका लागि राजदूत रहेका यदुनाथ खनालको नाममा प्रवचन शृंखला आयोजना गर्दै आएको छ । पहिलोपटक २४ जेठ ०७९ मा आयोजित यदुनाथ खनाल प्रवचन शृंखलाका मुख्य वक्ता अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवं बेलायतनिवासी प्रोफेसर सूर्य सुवेदी थिए । उनले ‘नेपालको परराष्ट्र नीति : विगत, वर्तमान र भविष्य’ विषयमा प्रवचन दिएका थिए ।

१० असार ०८० मा आयोजना गरिएको दोस्रो प्रवचन शृंखलामा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्य मुख्य वक्ता थिए । उनले ‘नेपालको राष्ट्रिय हित संरक्षण : परिवर्तित अन्तर्राष्ट्रिय वातावरणमा विदेश नीतिको छनोट’ विषयमा प्रवचन दिएका थिए ।

परराष्ट्रको तेस्रो प्रवचन शृंखलामा भारतका भूराजनीति एवं अन्तर्राष्ट्रिय मामिलाविज्ञ सी राजामोहनले १ जेठ ०८१ मा सम्बोधन गरेका थिए । उनले ‘नेपाल–भारत सम्बन्ध, सम्भावना र बाटाहरू’ विषयमा प्रवचन दिएका थिए ।

यस्तै, गत वर्ष २ असार ०८२ मा आयोजित चौथो प्रवचन शृंखलालाई पूर्वराजदूत डा. जयराज आचार्य र चिनियाँ प्राध्यापक याङ चेङ्सीले सम्बोधन गरेका थिए । उनीहरूले ‘दक्षिण एसियाली सन्दर्भमा नेपाल–चीन सम्बनध : अवसर, चुनौती र आगामी बाटो’ विषयमा सम्बोधन गरेका थिए ।

नेपाली कूटनीतिका चाणक्य मानिने सरदार यदुनाथ खनाल परराष्ट्रसचिव तथा भारत, चीन र अमेरिकाका लागि राजदूत थिए । उनी सन् १९६२ देखि १९६७ सम्म भारतका लागि नेपाली राजदूत थिए । उनकै पालामा नेपालको उत्तरी सीमाक्षेत्रमा रहेका १७ वटा भारतीय सेनाका वायरलेस सञ्चार अपरेटर सैनिक बसेको चेकपोस्ट र सैनिक फिर्ता गरिएको थियो । 

खनाल सन् १९७३ देखि १९७५ सम्म अमेरिकाका लागि नेपाली राजदूत थिए । उनी सन् १९७८ देखि १९८२ सम्म चीनका लागि नेपाली राजदूत थिए । उनी दुईपटक नेपालका परराष्ट्रसचिव थिए । पहिलो, सन् १९६१ देखि १९६२ सम्म र दोस्रोपटक सन् १९६७ देखि १९७० सम्म नेपालका परराष्ट्रसचिव थिए ।