एकता भएको साढे सात महिनासम्म पनि नेकपामा सांगठनिक समायोजन किन हुन नसकेको होला ?
एकता प्रक्रियामा आएका नेताहरूको चालामाला हेर्दा उनीहरूलाई समायोजनको चासो नै छैन कि जस्तो देखिन्छ । विगतमा एमाले र माओवादीबिचको एकतापछिको नेकपाकालमा पनि यस्तै भएको थियो । नेपालका वामपन्थी अरूले थाहा पाउँछन् कि जसरी हतारिएर रातारात एकता गर्छन् । तर, त्यसपछिका बाँकी प्रक्रिया पूरा गर्ने वेलामा चाहिँ चल्दै जान्छ भनेर अलमलिने या अलमल्याउने उनीहरूको पुरानै रोग हो । र, यो रोग अहिलेको नेकपामा पनि दोहोरिएको छ ।
एकता प्रक्रिया नै टुंगिन नसकिरहेको वेला मंसिरमा तोकिएको महाधिवेशन होला त ?
भन्न त उनीहरूले मंसिरमा महाधिवेशन गर्ने भनिरहेका छन् । तर, उनीहरू महाधिवेशनमा कति गम्भीर छन् भन्ने प्रश्न भने उठी नै रहेको छ । महाधिवेशन गर्न त तलैसम्म एकता गर्नुपर्छ । जनवर्गीय संगठनबिच पनि एकता हुनुपर्छ । त्यसका लागि सबैले जिउज्यान लगाएर खट्नुपर्छ । तर, त्यस्तो एकतातिर कसैको ध्यान गएको देखिन्न । यस्तोमा मंसिरको महाधिवेशन प्रश्नको घेरामै छ ।
यस्तो अलमलबिच एमालेसहितको बृहत् वामपन्थी एकताको सम्भावना कति देख्नुहुन्छ ?
यतिखेर एमालेले पनि एकताको बाँसुरी बजाउन थालेको छ । तर, त्यो बाँसुरी कति बज्ला र त्यसबाट कस्तो धुन निस्केला, त्यो भने प्रतीक्षाकै विषय बनेको छ । किनकि, विगतको अनुभवमा चाहिँ त्यो बाँसुरी त्यति बज्ला जस्तो देखिन्न । पछिल्लो परिस्थितिले भने एकता खोजेको छ । वामपन्थीहरू यति कमजोर यसअघि कहिल्यै देखिएका थिएनन् । यसबिच उनीहरूलाई आगामी वर्ष हुने स्थानीय चुनावले पनि लखेटिरहेको छ । यो एकता कुनै सिद्धान्त र विचारका आधारमा हुन लागेको होइन । सबैका आआफ्नै निहित स्वार्थका कारण हुन लागेको एकता हुनाले यस्तै हुन्छ भनेर ‘प्रेडिक्ट’ गर्न भने कठिन छ ।