एमालेमा अध्यक्ष ओलीको विकल्प खोजीले के सन्देश दिएको छ ?
एमालेमा नेतृत्व परिवर्तनको खोजी बिस्तारै सुरु भएको देखिन्छ । यसबाट पार्टीमै रूपान्तरण हुनेभन्दा पनि बढीमा नेतृत्वसम्म परिवर्तन होला । अहिले एमालेमा चलेको बहस हेर्दा अध्यक्ष ओलीको साथमा रहेका नेताले पनि साथ छाड्ने त होइन भन्ने प्रश्न उठेको छ । ओलीको वरिपरि रहने विष्णु रिमाल, शंकर पोखरेल र विष्णु पौडेलले साथ छाडेमा अध्यक्ष ओली एक्लिने निश्चित छ । प्रारम्भिक संकेत पनि त्यस्तै देखिन्छ ।
ओलीलाई हटाउने अभियानमा अगाडि देखिएका नेताहरूबाट एमालेमा रूपान्तरण सम्भव छ त ?
अध्यक्ष ओलीलाई हटाउने अभियानमा अगाडि देखिएका नेताबाट ओलीको विकल्पमा जो आए पनि एमालेमा रूपान्तरणको सम्भावना देखिन्न । विद्या भण्डारी नै आउनुभयो भने पनि उहाँको सांगठनिक पकड बलियो छैन । राष्ट्रपति भएको अनुभवले पार्टी चलाउन के सहयोग गर्ला र ? त्यसैले, उहाँको साटो अरू नै नेतृत्वमा आउन सक्छन् । तर, ओलीको साटो पोखरेल, पौडेल र रिमालमध्ये जोकोही आए पनि पार्टीमा कुनै परिवर्तन हुँदैन ।
ओलीको सम्मानजनक बहिर्गमन र एमालेको रूपान्तरणको बाटो के हुन सक्ला त ?
एमालेको रूपान्तरणका लागि नेतृत्व मात्र परिवर्तन गरेर सम्भव हुँदैन । त्यसका लागि त शिरदेखि पाउसम्मै परिवर्तनको खाँचो छ । यसका लागि नेतृत्वका साथसाथै पार्टीभित्र कायम रहेको ‘राजतन्त्र’ अन्त्य हुनुपर्छ । एमालेभित्र सांस्कृतिक विचलन माथिदेखि तलसम्मै कायम छ । त्यो पनि हट्नुपर्छ । साथै, पार्टी जनमुखी र देशमुखी बन्नुपर्छ । अनि, कम्तीमा प्रदीप ज्ञवाली वा उहाँभन्दा पनि तल नेतृत्व आएमा मात्र केही रूपान्तरणको कल्पना गर्न सकिन्छ ।