दलहरूले एउटै मुद्दालाई हरेक निर्वाचनमा उठाउँछन्, तर सत्तामा पुगेपछि बिर्सन्छन्, किन ?
हाम्रा राजनीतिक दलका नेतृत्वको नैतिक धरातल निकै कमजोर छ । आफूले उठाएका मुद्दा पूरा गर्नुपर्छ, जनतासामु गरेका वाचाबाट पछि हट्नुहुन्न भन्ने सोच नै छैन । नेतृत्वमा जवाफदेहिता नभएपछि तिनका मुद्दा अलपत्र पर्नु अन्यथा होइन । जबसम्म दलका नेतृत्व आफूलाई जनप्रतिनिधिका रूपमा चुन्ने समुदायप्रति जवाफदेही हुँदैनन्, तबसम्म तिनले उठाएका मुद्दा यसैगरी बेवारिसे बनिरहन्छन् । निर्वाचनको समयमा हात जोड्दै मतदातासामु पुग्ने, ठुल्ठुला मुद्दा उठाउने तर पछि जितेर गइसकेपछि तिनै मतदाता र मुद्दा बिर्सने नेतृत्वको कमजोर नैतिक, सांस्कृतिक मूल्यका कारण तिनले उठाएका मुद्दा अलपत्र पर्दै आएका हुन् ।
दलहरूले उठाएका मुद्दा पूरा हुनै नसक्ने हुन्छन् कि तिनले पूरा गर्नै नचाहने हुन् ?
यसमा दुइटै पक्ष हुन्छ । कतिपय मुद्दा पूरा हुन सक्ने खालका पनि हुन्छन् भने कतिपय मुद्दा पूरा हुनै नसक्ने, ठुलो स्रोतसाधन खर्च हुने र बढी समय लाग्ने खालका पनि हुन्छन् । तर, हाम्रा नेताले आफ्नो नैतिकता बिर्सिंदा ती मुद्दा पूरा हुन सक्ने या नसक्ने अवस्थाले खासै फरक पारेको देखिन्न । कतिपय मुद्दा त तिनले आगामी निर्वाचनमा फेरि उठाएर भोट बटुल्नुपर्छ भनेर पनि अलपत्रै छाडेजस्तो देखिन्छ ।
पूरा हुन सक्ने मुद्दा मात्र उठाएर निर्वाचनमा मतदाताको मन जित्न सकिन्न ?
किन नसकिनु ? कतिपय उम्मेदवारले अहिले पनि पछि पूरा गर्न सक्ने मात्र मुद्दा उठाइरहेका छन् र तिनलाई जनताले विश्वास पनि गरिरहेका छन् । नेपाली जनताले धेरै र ठुला कुरा खोजेकै छैनन् । तिनले सानै कुरा भए पनि इमानदारीपूर्वक पूरा भएको देख्न चाहेका छन् । सानो काम गर्दा पनि असाध्यै खुसी हुनु नेपालीको बानी नै हो । तिनलाई ठुला कुरा गरेर झुक्याउनुभन्दा साना र पूरा हुन सकिने कुरा मात्र गरिदिए पुग्छ ।