मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ माघ २९ बिहीबार
  • Friday, 28 August, 2026
टेकराज थामी काठमाडाैं
२o८२ माघ २९ बिहीबार o६:२२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फर्जी उद्धार, वास्तविक ठगी

अस्पताल र रेस्क्यु कम्पनीको मिलेमतोमा झन्डै तीन अर्ब ठगी, बैंक ट्रान्सफर र कमिसनमा खुल्यो रहस्य

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ माघ २९ बिहीबार o६:२२:oo

‘चिन्ता नगर, हामीलाई टार्गेट गरेको रहेनछ... केही फाइलहरू लुकाएको छु...’ यस्ता दर्जनाैँ भ्वाइस म्यासेजले फेक रेस्क्यु प्रकरणका धेरै रहस्य खोलेका छन् । किनभने यो म्यासेज श्रीद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनाले नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक रवीन्द्र अधिकारीलाई पठाएका थिए । र, यसका पछाडि जोडिएको थियो नेपालमा विदेशी पर्यटक उद्धारको नाममा नक्कली कागजात बनाएर बिमा रकम ठगी गर्ने योजना । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत १ पुसदेखि फेक रेस्क्युविरुद्धको अपरेसन सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालि, एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रालिविरुद्ध अनुसन्धान सुरु भएको थियो । अनुसन्धानले डा. तिमिल्सिना र अन्य अभियुक्तहरूको ठगी साम्राज्य उजागर गरेको छ ।

डा. गीर्वाणराजलाई सिआइबीले गत २४ माघमा पक्राउ गरेको थियो । सिआइबीले डा. गीर्वाणराज र अस्पतालको बैंक खाता अनुसन्धान गर्दा अधिकारीको खातामा पटक–पटक रकम ट्रान्सफर भएको देखिएको छ । प्रारम्भिक चरणको अनुसन्धानअनुसार डा. गीर्वाणराजको बैंक खाताबाट अधिकारीको खातामा ९१ लाख ७३ हजार ५२२ रुपैयाँ ट्रान्सफर भएको थियो ।

यसका लागि अस्पतालले २६५ विदेशी पर्यटकको नक्कली भर्ना, उपचार र डिस्चार्ज रिपोर्ट तयार पारेको थियो । यसका लागि उनले आफ्नो अस्पतालबाट २६५ विदेशी पर्यटकको नक्कली भर्ना, उपचार र डिस्चार्ज रिपोर्ट बनाइदिएका थिए । जसबाट अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट बिमाबापतको रकम दाबी गर्न सकियोस् । अधिकारीको बैंक खातामा ट्रान्सफर भएको रकम सोहीबापतको रहेको सिआइबीको दाबी छ ।

सिआइबी स्रोतका अनुसार ‘नेपाल चार्टर सर्भिसले ५०६ विदेशी पर्यटक उद्धार गरेको दाबी गरेको थियो, जसमा २६५ पर्यटकका कागजात नक्कली थिए । यी कागजात श्रीद्धि इन्टरनेसनल हस्पिटलले तयार पारेको थियो ।’

प्रहरी बयानमा अधिकारीले पनि उक्त रकम र कमिसनको सत्यता स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘डा. गीर्वाणराजको नामबाट जम्मा ९१ लाख ७३ हजार ५२२ रुपैयाँ सही हो । यो अस्पतालले ट्रेकिङ कम्पनीलाई दिनुपर्ने कमिसनसमेत मेरो खातामार्फत पठाइएको हो ।’

सिआइबीले घटनामा संलग्नविरुद्ध राज्यविरुद्धको अपराध र संगठित कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । ‘घटना संगठित तवरले भएको देखिन्छ । म्याद थप गरी अनुसन्धान जारी छ । थप तथ्य खुल्ने क्रममा छ,’ सह–प्रवक्ता एसपी श्यामबाबु ओलियाले भने, ‘श्रीद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक डा. गीर्वाणराज र नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक अधिकारी नक्कली रेक्स्यु प्रकरणमा जोडिएका छन् ।’ अहिलेसम्म तीनवटा रेस्क्यु कम्पनीका छ अभियुक्त र एउटा अस्पतालका डाक्टर पक्राउ परेका छन् । घटनामा रकम लेनदेन पनि भएका तथ्य फेला परेका छन् ।’

अनि खुल्यो तथ्य 
सन् ०२२ को सेप्टेम्बरमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिले पाँचजना विदेशी पर्यटकलाई फरकफरक ठाउँबाट रेस्क्यु गरेको भन्दै बिमा कम्पनीमा ३१ हजार १०० युएस डलर मागदाबी गरेका थिए । प्रहरीले बिमा रकम मागदाबी गरिएको सबै कागजात अनुसन्धान गर्‍यो । रेस्क्यु गरिएका पाँचमध्ये चार पर्यटकलाई रेस्क्यु गर्ने हेलिकोप्टर एउटै मात्रै होइन, समयसमेत उही भेटियो । फ्लाइट र मेनिफेस्टोसमेत एउटै देखियो । तर, कम्पनीले उनीहरूलाई फरक–फरक ठाउँबाट रेस्क्यु गरिएको भन्दै चारजना पर्यटकको क्रमश: ७८००, ४५००, ९४०० र ९४०० गरी कुल ३१,१०० युएस डलर अर्थात् ४५ लाख नौ हजार ५०० रुपैयाँ मागदाबी गरेको थियो । 

यसरी गर्थे नाफा बाँडफाँट 
सिआइबीको अनुसन्धानअनुसार रेस्क्यु कम्पनीको अनुरोधमा अस्पतालले नक्कली कागजात तयार गथ्र्यो । त्यसपछि बिमा रकम भुक्तानीपछि नाफाको ८–१० प्रतिशत रेस्क्यु कम्पनी र २०–३० प्रतिशत ट्रेकिङ कम्पनीलाई उपलब्ध गराइन्थ्यो । घटनामा श्रीद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना पनि सहभागी थिए र अस्पतालमा आएर पर्यटकसँगै बसेर बियर पिउँथे । घटनामा संलग्नविरुद्ध राज्यविरुद्धको अपराधसहित संगठित कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइरहेको सिआइबीका सहप्रवक्ता एसपी ओलियाले बताए ।

यसरी हुन्थ्यो नक्कली रेस्क्यु
सिआइबीका अनुसार पर्यटक नेपाल आउँदा अनिवार्य बिमा गराउँछन् । ट्राभल एजेन्सीले रेस्क्यु कम्पनीलाई जानकारी गराउँछ । जसको जानकारी उनीहरूले रेस्क्यु कम्पनी र पर्यटकसँगै हिँड्ने गाइडलाई सर्कुलर गर्छन् । पर्यटक जब उचाइमा पुग्छ । र, उनीहरूलाई लेक लाग्न थाल्छ । सँगै रहेको गाइडले जोखिम बढेको भन्दै पर्यटकलाई अत्याउँछन् । पर्यटक डराउँछ । र, रेस्क्युका लागि आग्रह गर्छ । गाइडले तत्काल रेस्क्यु कम्पनीमा सम्पर्क गर्छ । कम्पनीले तुरुन्तै हेलिकोप्टर घटनास्थल पठाउँछ । पर्यटक विमानस्थल झर्नासाथ अस्पताल लगिन्छ । अस्पतालमा सामान्य उपचारपछि घर पठाइन्छ । तर, रेस्क्यु कम्पनी र अस्पतालको मिलेमतोले प्रत्येक पर्यटकको नक्कली स्वास्थ्य रिपोर्ट तयार पारेर बिमा रकम दाबी गरिन्छ ।

नक्कली कागजात बनाएर कसले कति ठगे ? 
सिआइबीका अनुसार नेपाल घुम्न आएका विदेशी पर्यटक उद्धार गरेको नक्कली कागजात बनाई श्रीद्धि इन्टरनेसनल हस्पिटलसहित माउन्टेन रेस्क्यु सर्भिस प्रालि, नेपाल चार्टर सर्भिस प्रालि र एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिले मात्रै बिमाबापत दुई अर्ब ८५ करोड ६२ लाख ५० हजार १६५ ठगी गरेको देखिन्छ । यो रकम सन् ०२२ देखि यताको मात्रै हो । सिआइबीले घटनामा संलग्न अस्पतालका सञ्चालक डा. गीर्वाणराज र चार्टरका सञ्चालक अधिकारीसहित म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्युका मालिक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्सका मालिकद्वय मुक्ति पाण्डे र सुभाष केसीलाई गत ११ माघमै पक्राउ गरेको छ ।

सिआइबीका अनुसार सन् ०२२  यता माउन्टेन रेस्क्युले मात्रै १२ सय ४८ विदेशी पर्यटकको रेस्क्यु गरेको तथ्यांक छ । जसमध्ये १७१ पर्यटकको रेस्क्यु नक्कली रहेको देखिन्छ । सोही आधारमा कम्पनीले एक करोड तीन लाख १० हजार २७६ हजार युएस डलर अर्थात् एक अर्ब ४९ करोड ४९ लाख ९० हजार २० रुपैयाँ बिमाबापतको रकम इन्सुरेन्स कम्पनीमा दाबी गरेको थियो । सोही अवधिमा अर्को रेस्क्यु कम्पनी नेपाल चार्टरले ४७१ पर्यटकको रेस्क्यु गरेको थियो । जसमध्ये ७५ जनाको रेस्क्यु शंकास्पद देखिएको छ । जसबापत उसले बिमा कम्पनीमा ८२ लाख ३४ हजार ८२ युएस डलर अर्थात् एक अर्ब १९ करोड ३९ लाख ४१ हजार ८९० रुपैयाँ रकम दाबी गरेको थियो ।

त्यस्तै, एभरेस्ट इक्सपेरियन्सले त्यस अवधिमा ६०१ विदेशी पर्यटकको रेस्क्यु गरेको थियो । त्यसमध्ये ७१ जनाको रेस्क्यु शंकास्पद देखिएको छ । र, बिमाबापत उसले ११ लाख ५३ हजार ९१९ युएस डलर अर्थात् १६ करोड ७३ लाख १८ हजार २५५ रुपैयाँ रकम माग गरेको छ ।