नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्। तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल एकीकरण भएर नेकपा बने पनि यहाँ संसदीय दल समायोजन भएको थिएन।
५३ सदस्यीय प्रदेश सभामा सात सिट रहेको नागरिक उन्मुक्ति पार्टी पनि हालै नेकपामा समायोजन भएको छ। नेकपाका नेता भानुभक्त जोशीसहित तीनै दलका सांसदहरूको आइतबार बसेको बैठकले भट्टलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। उनी तत्कालीन माओवादी केन्द्रको संसदीय दलका नेता थिए।
पार्टी केन्द्रको सर्कुलरअनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको र संसदीय दलका अरू पदाधिकारी निर्वाचनपछि चयन गरिने नेकपाका सांसद शिवसिंह ओलीले जानकारी दिए। ज्येष्ठ सदस्य टीका थापाको अध्यक्षतामा बैठक बसेको थियो।
प्रदेश सभामा तत्कालीन माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका एक निलम्बितसहित चार सदस्य छन्। नागरिक उन्मुक्तिका केही सांसद उक्त पार्टीका पूर्वसंरक्षक रेशमलाल चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी नेपालको पक्षमा देखिएका थिए। उक्त पार्टीको संसदीय दलका नेता घनश्याम चौधरी र रामेश्वर चौधरी बैठकमा उपस्थित भएनन्।
नेकपा सांसद ओमविक्रम भाट सरलका अनुसार बैठकमा तत्कालीन माओवादी केन्द्रका नौजना, नागरिक उन्मुक्तिका पाँच र एकीकृत समाजवादीका एकजना उपस्थित थिए। ‘केही साथीहरू बाहिर रहनुभएको र चुनावमा हुनुभएकाले बैठकमा आउन सक्नुभएन,’ उनले भने।
नेकपाको संसदीय दल समायोजन भएसँगै प्रदेश सभामा दलहरूको हैसियत फेरिएको छ। २१ सदस्यसहित नेकपा सबैभन्दा ठुलो दल बनेको छ भने यसअघि सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसको हैसियत दोस्रो ठुलो दलमा पुगेको छ। प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ तथा राप्रपा र रास्वपाका एक–एक सांसद छन्।
सरकार असफल भएको ठहर
भट्टलाई नेता चयन गरेलगत्तै बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन्।
बैठकले प्रदेश सरकार पूर्णतः असफल भएको ठहरसमेत गरेको छ। ‘प्रदेश सरकारका कामकारबाही र गतिविधि सन्तोषजनक नरहेको, शीतलहरका वेला सरकार शून्यतामा रहेको, प्रभावहीन बनेको र सरकार भएको अनुभूति नभएकाले सरकार पूर्णतः असफल भएको’ बैठकको निर्णयमा उल्लेख छ।