आउँदो ल्होसार पर्वको अवसरमा चर्चित गायक सुगम पोखरेलले आफ्नो नयाँ गीत ‘ल्होसार’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यो गीत उनको संग्रह ‘नवमी’ मा समावेश छ।
सुगमले आफ्नै शब्द र संगीतमा तयार पारेको यस गीतले विशेष गरी गुरुङ, शेर्पा र तामाङ समुदायले मनाउने ल्होसार पर्वको सांस्कृतिक र भावनात्मक महत्वलाई प्रस्तुत गरेको छ। गीतको भिडियो गुम्बा र रोदीमा छायांकन गरिएको छ र भिडियोमा सुगम आफैँ शेर्पा, तामाङ र गुरुङ भेषमा नाचिरहेको दृश्य देख्न सकिन्छ।
भिडियोको निर्देशन तथा सम्पादन लोकेन्द्र सुब्बाले गरेका हुन् भने छायांकन घिसिङ २१ र विनोद लामाले गरेका छन्।
सुगम पोखरेलले पप र चलचित्र गायनमा आफ्नो विशेष पहिचान बनाइसकेका छन्। केही वर्षयता उनी नेपाली मौलिक संस्कृति, भेषभुषा, समुदाय र भूगोलमा आधारित गीत संगीत निर्माण गर्दै आएका छन्। उनले यस अभियानलाई ‘कलर अफ हिमालय’ भनेर चिनाउने गरेको बताए।
गीतको भिडियो सुगमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।