मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १६ सोमबार ११:o९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भुटानसँग बराबरी खेल्दै नेपालको साफ यात्रा सकियो

साफ यू–१७ महिला च्याम्पियनसिपका ६ खेलमा ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार ११:o९:oo

नेपालले साफ यू–१७ महिला च्याम्पियनसिपमा आइतबार भुटानसँग १–१ को बराबरी नतिजा निकालेको छ । बराबरीसँगै नेपालको साफको यात्रा सकिएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा ४ अंक बटुलेको नेपाल चार राष्ट्र सहभागी प्रतियोगितामा तेस्रो भएको छ । उपाधि जित्ने लक्ष्यसहित थिम्पु पुगेको नेपालले ६ मध्ये एकमा जित तथा एकमा बराबरी नतिजा निकाली ४ अंक जोडेको छ । नेपालले पहिलो चरणमा भुटानलाई २–१ ले हराएको थियो । सो खेलमा सहारा लिम्बूले दुई गोल गरेकी थिइन् । 

उपाधि विजेता भारतसँग नेपाल ७–० र ५–० तथा उपविजेता बंगलादेशसँग ३–० र ४–१ ले पराजित भएको थियो । आयोजक भुटान २ अंकसहित पुछारमा रह्यो । भुटानले बंगलादेशसँग पहिलो लेगमा ३–१ को हारको सामना गरेको थियो । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै भुटानले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै अंक बटुल्यो । भुटानले भारतसँग ८–० र ५–० को फराकिलो हार बेहो¥यो । 

१५ मिनेटमै नेपालको अग्रता
दोस्रो चरणमा नेपालले भुटानविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । खेलको १५औँ मिनेटमै नेपालले १–० को अग्रता लियो । नेपाललाई बबतिका कार्कीले अग्रता गोल गरिन् । तर, नेपालले अग्रता रक्षा गर्न सकेन । भुटानकी सोनम याङ्जेनले बराबरी गोल फर्काइन् । डिबक्सभित्र भुटानी डिफेन्डरसँग डिफ्लेक्ट भएर आएको बलमा सिर्जनाले नेपाललाई अग्रता दिलाएकी थिइन् । भुटानले पहिलो हाफको इन्जुरी समयमा १–१ को बराबरी गोल गर्‍यो । 

एपिएफको लगातार तेस्रो हार
नेपालबाट प्रतिनिधित्व गरेको नेपाल एपिएफ क्लबले आइतबार एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार तेस्रो खेलमा हारको सामना गरेको छ । मारिया डा सिल्भाको ह्याट्रिकको सहयोगमा साउदी अरेबियाको अल नासारले एपिएफमाथि ६–१ को सानदार जित निकाल्यो । उज्वेकिस्तानको कार्सी रंगशालामा भएको खेलमा एपिएफले खेलको कुनै पनि समयमा गतिलो प्रदर्शन गर्न सकेन । 

खेलको ५०औँ मिनेटमा सविता रानामगरले एपिएफका लागि एक मात्र गोल गरिन् । एएफसी महिला च्याम्पियन्स लिगमा नेपाली क्लबले गरेको यो पहिलो गोल थियो । यसअघि पहिलो खेलमा एपिएफ एफसी नासाफसँग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा थाइल्यान्डको कलेज अफ एसियन स्कोलर्सले एपिएफलाई ४–० ले हरायो । एपिएफले दोस्रोपटक छनोट खेल खेलेको हो । अंकविहीन एपिएफ समूह चरणबाटै बाहिरियो ।

छुटाउनुभयो की ?