मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
अजित अधिकारी काठमाडाैं
२o८२ भदौ १६ सोमबार o९:४२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुधको बक्यौता माग्दै डिडिसी मुख्यालयमा किसानको धर्ना

डिडिसीले दुध खरिदबापत आफूहरूलाई दुई अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको किसानको दाबी, आन्दोलनमा प्रहरी हस्तक्षेप

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार o९:४२:oo

दुधको भुक्तानी माग्दै किसानले लैनचौरस्थित दुग्ध विकास संस्थान (डिडिसी)को केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् । नेकपा एमालेको भ्रातृ संस्था अखिल नेपाल किसान महासंघको नेतृत्वमा काभ्रे, सिन्धुपाल्चोक, धादिङ र नुवाकोटका करिब डेढ सय किसानले आइतबार दिउँसो डिडिसीको केन्द्रीय कार्यालयअगाडि दुधको भुक्तानी माग्दै प्रदर्शन गरेका हुन् ।

दुध बिक्री गरेका किसानलाई डिडिसीले एक अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको र सो रकम दिन कुनै चासो नदिएपछि सडक संघर्ष गर्नुपरेको महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् । ‘किसानको पैसा दिलाइदिन सरकारसँग वार्ता गर्न खोज्दा समस्या समाधान हुने संकेत देखिएन । त्यसैले बाध्य भएर सडक आन्दोलन गर्नुपरेको हो,’ उनले भनिन्, ‘सडक आन्दोलन नगरी सरकारले सुनुवाइ नगर्ने प्रवृत्ति पनि बढेको छ ।’

किसान प्रतिनिधिसहित महासंघले दिउँसो १२ बजेबाट थालेको आन्दोलनमा प्रहरी हस्तक्षेपसमेत भएको थियो, तर कुनै मानवीय क्षति नभएको भुसालले जानकारी दिइन् । ‘बक्यौता भुक्तानीका लागि दबाब दिने गरी सांकेतिक आन्दोलन गर्न लैनचौर पुगेका थियौँ । हामी करिब एक घण्टा धर्ना दिने योजनामा थियौँ,’ उनले भनिन्, ‘तर, प्रहरीले सुरुमै हस्तक्षेप गर्‍यो ।’ महासंघले दसैँअगाडि नै किसानको भुक्तानी दिन सरकारलाई दबाब दिने पनि बताइन् ।

डिडिसीको किसानलाई भुक्तानी दिनुपर्ने बक्यौता करिब एक अर्ब भए पनि किसान प्रतिनिधिले भने दुई अर्ब नाघिसकेको बताएका छन् । डिडिसीले भुक्तानी नदिई बदमासी गरेकै कारण निजी डेरी उद्योगीले समेत किसानको भुक्तानी रोकेका छन् ।

दुग्ध सहकारी संघका प्रतिनिधि निजी डेरी र मन्त्रालयसँग वार्ता गर्दै
केन्द्रीय दुग्ध सहकारी संघले साढे तीन अर्ब बक्यौता पाउनुपर्ने माग राख्दै निजी डेरी उद्योगी र कृषि मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको जनाएको छ । संघले भुक्तानी नपाए १९ भदौबाट आन्दोलन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।संघका अध्यक्ष अमर कुँवरका अनुसार शुक्रबार र शनिबार निजी डेरी उद्योगीसँग छलफल भएको थियो । त्यस क्रममा भुक्तानी नपाए आन्दोलन गर्ने जानकारी गराएको उनले बताए । उद्योगीले भने ठुलो मात्रामा दुग्ध पदार्थ मौज्दात राखेकाले समयमै भुक्तानी गर्न नसकेको भनाइ दोहोर्‍याएको कुँवरले जानकारी दिए । 

आइतबार दिउँसो पशुपक्षी सचिव डा. दीपककुमार खरालसँग बैठक बसेको उनले बताए । ‘कृषिमन्त्रीज्यू बाहिर जानुभएको रहेछ, त्यसैले सचिवज्यूसँग छलफल भयो,’ उनले भने, ‘हामीले आन्दोलन नगरी पैसा नपाउने हो भनेर प्रश्न गरेका थियौँ । सचिवज्यूले पैसा चाँडै दिने बन्दोबस्ती भइरहेको जानकारी दिनुभयो ।’ सोमबार कृषिमन्त्री रामनाथ अधिकारीसँग वार्ता गर्ने तय भएको उनले बताए । 

‘दुध बेचेको पैसा किसानलाई दिनुको विकल्प छैन, जेजसो गरेर भए पनि दिनुस् भनेका छौँ,’ कुुँवरले भने, ‘मन्त्रालयबाट पनि निकासा आउँछ, चिन्ता नलिनु भन्ने जवाफ आएको छ,’ उनले भने, ‘जे गर्ने हो, १९ भदौअघि गर्नुस् नत्र हामी आन्दोलन गर्न बाध्य हुन्छौँ भनेका छौँ ।’