
एकपटक महात्मा बुद्ध आफ्नै आश्रममा बसेर आफ्ना शिष्य तथा दर्शनार्थीहरूलाई प्रवचन दिँदै थिए । उनका आश्रममा सयौँ शिष्य थिए । त्यसैगरी, उनको दर्शनका लागि त्यहाँ उपस्थित दर्शनार्थीको पनि संख्या कम थिएन । बुद्धले आफ्नो प्रवचन टुंग्याएपछि सबै बिस्तारै त्यहाँबाट बिदा भए ।
उनका शिष्यहरू पनि आ–आफ्नो वासस्थानतिर लागे । तीमध्ये एकजना शिष्य उनको अगाडि गए र भने, आज मैले बाटामा एउटा भिखारीलाई भेटेँ । उसलाई आफूनजिक बोलाएर धेरै बेरसम्म उसलाई धर्मको शिक्षा दिएँ, प्रेरक उपदेश दिएँ । तर, त्यस मूर्खले त मेरो कुरामा पटक्कै ध्यान दिएन ।’
शिष्यको कुरा सुनेर बुद्ध मुसुक्क मुस्कुराए । उनले ती शिष्यलाई सो भिखारीलाई बोलाएर आश्रममा ल्याउन अह्राए । ती शिष्यले दौडँदै गएर गाउँमा ती भिखारीको खोजी गरे । एकैछिनमा उनले ती भिखारीलाई भेटे । त्यसपछि उनी ती भिखारीलाई लिएर बुद्धको आश्रममा उपस्थित भए । भिखारी अत्यन्त दीनहीन अवस्थामा थिए । बुद्धले उनलाई देखे । बुद्धले ती भिखारीलाई पेटभरि खाना खुवाए र कुनै प्रवचन वा धर्मोपदेश नगरी उनलाई प्रेमपूर्वक बिदा गरे ।
बुद्धको यस्तो कार्य देख्दा उनका शिष्य आश्चर्यमा परे । उनले अचम्म मान्दै सोधे, तपाईंले त उसलाई कुनै उपदेश नै दिनुभएन । उसलाई यसरी विनाकुनै उपदेश किन जान दिनुभयो ? उसलाई यसो धर्मोपदेश दिनुभएको राम्रो हुन्थ्यो नि !’ शिष्यको जिज्ञासा सुनेपछि मन्द मुस्कान छर्दै बुद्धले भने, ‘आज उसका लागि खाना नै एउटा अमूल्य उपदेश थियो । किनकि, उसलाई प्रवचनभन्दा बढी खानाको आवश्यकता थियो । भोको पेट लिएर कसैले पनि उपदेश वा धर्मोपदेशको अर्थ बुझ्न सक्दैन । त्यसैले आज उसका लागि यो नै साँचो उपदेश हो ।’ यो सुनेर उनका शिष्यको शिर निहुरियो ।