
एनआइबिएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबिच लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा एनआइबिएल इक्विटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवान्तबहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानले हस्ताक्षर गरेका हुन् । नेपाली ब्रान्ड र मौलिकतालाई विश्वबजारमा पुर्याउने र प्रवद्र्धन गर्ने रणनीतिअन्तर्गत एनआइबिएल इक्विटी पार्टनर्सले २८.८ प्रतिशत हिस्सासहित लगानी गरेको जनाएको छ ।
सिइओ पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गरे । उले भने, ‘हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्वबजारमा स्थापित गर्न चाहेका छौँ र यो हाम्रो दीर्घकालीन प्रतिबद्धतासमेत हो ।’
त्यस्तै, हिमालयन जाभाका संस्थापक प्रधानले एनआइबिएलको लगानीले विश्वबजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राखे । ‘यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो, स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिममार्फत दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौँ,’ उनको भनाइ थियो । साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्वबजारमा विस्तार गर्ने रहेको छ, जसको थालनी एसिया र अस्ट्रेलियाबाट हुनेछ । यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ ।