मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
डा. प्रेमराज सिलवाल
Invalid date format o९:३९:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालमा ‘नेल्सन मन्डेला रुल्स’माथि प्रश्न

Read Time : > 4 मिनेट
डा. प्रेमराज सिलवाल
नयाँ पत्रिका
Invalid date format o९:३९:oo
  • नेपालमा कारागारसम्बन्धी हालको प्रबन्धमा बहुआयामिक सुधार, परिवर्तन तथा सेवा–सुविधाको आवश्यक प्रबन्ध गर्न ढिलो गर्नुहुँदैन

विश्वमा रहेका प्रत्येक मानवको आधारभूत बाँच्न पाउने नैसर्गिक जन्मसिद्ध अधिकारको सुरक्षा हुनुपर्छ भन्ने मान्यताका आधारमा सन् १९४८ मा संयुक्त राष्ट्र संघले मानव अधिकारको विश्वव्यापी घोषणा जारी गर्‍यो । सोही घोषणाका आधारमा सन् १९६६ मा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धसमेत जारी भई मानव अधिकारको सुरक्षा र संरक्षण हुनुपर्ने भन्दै अन्तर्राष्ट्रिय कानुन लागू भएको छ । संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू, जसले उल्लिखित अन्तर्राष्ट्रिय कानुनलाई हस्ताक्षर तथा अनुमोदन गरेका छन्, ती मुलुकमा अन्तर्राष्ट्रिय कानुनबमोजिम प्रत्येक मानिसको न्यूनतम मानव अधिकारको सुरक्षाको प्रत्याभूति राज्यले गराउनैपर्ने अन्तर्राष्ट्रिय दायित्व बन्छ । सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्र संघको सदस्य भएको नेपालले सो अन्तर्राष्ट्रिय कानुनलाई सन् १९९१ मे १४ मा अनुमोदनसमेत गरिसकेको छ ।

संयुक्त राष्ट्र संघद्वारा सन् २०१५ मा कैदीबन्दीले बाँच्न पाउने तथा न्यूनतम सुविधा पाउनुपर्ने नियम जारी गरियो । जसलाई २७ वर्ष जेलमा बन्दी जीवन बिताएका दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मन्डेलाका नाममा ‘नेल्सन मन्डेला रुल्स’समेत भन्ने गरेको पाइन्छ । नेपालमा रहेका कैदीबन्दीलाई मानवोचित न्यूनतम सुविधा राज्यले उपलब्ध नगराएको भन्दै पटक–पटक आवाज उठ्दै आएको छ । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा राखिँदा न्यूनतम सुविधाबाट समेत वञ्चित गरिएको भन्ने कुरा राष्ट्रिय मानव अधिकार आयोगको टोलीको स्थलगत अनुगमनबाट सार्वजनिक भयो । थुनिएको कोठामा अक्सिजनका लागि पर्याप्त झ्याल र भेन्टिलेटरको प्रबन्धसमेत नभएको देखियो । निज लामिछानेको निवेदन र जेलमा न्यूनतम सुविधा नपुगेको समेत आधारमा जेलसार गरी काठमाडौं उपत्यकाको नख्खु (ललितपुर) जेलमा सारिएपछि ‘नेल्सन मन्डेला रुल्स’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ ।

नेपालको ७४ वटा जिल्लामा कैदीबन्दी राख्नका लागि जेलको व्यवस्था गरिएको छ । हाल ती जेलमा कुल २९ हजार ४८४ जना कैदीबन्दी छन् । जसमा अदालतबाट दोषी प्रमाणित भएका र पुर्पक्षका लागि जेलमा पठाइएकासमेत छन् । कारगार ऐन २०७९ तथा कारागार नियमावली २०२० अनुसार कैदीबन्दीको कैद प्रबन्ध हुने गरेको भए पनि राजनीतिक, प्रशासनिक र अन्य प्रभावका आधारमा कैदीलाई ‘सुविधासम्पन्न’ वा सुविधाविहीन ‘कमजोर’ जेलमा राख्ने गरिएको आरोप सरकारमाथि लाग्ने गरेको छ । कैदीले जेलमा झैझगडा गरेमा, सुरक्षा चुनौती भएमा, स्थान अभाव भएमा र अन्य मनासिब कारण देखिएमा जेल सार्ने गरिएको छ । महिला कैदीबन्दीका लागि अलग्गै जेल नभए पनि एउटै जेलभित्र महिलालाई छुट्टै कोठामा राख्ने गरिएको छ । सरकारी र गैरसरकारी क्षेत्रबाट जेलमा रहेकालाई शिक्षा, सीप र अन्य रचनात्मक कार्यमा सरिक गराउने गरिएको भए पनि केन्द्रीय कारागार, सुन्धारा, डिल्लीबजार र केही स्थानमा मात्र त्यो प्रबन्ध भएको देखिन्छ । गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय सरकारका तर्फबाट जेल व्यवस्थापनमा जिम्मेवार देखिन्छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई जेल व्यवस्थापनसमेतको कार्य गर्ने अधिकार दिइएको छ ।

अधिकांश जिल्लाका कारागार रहेका भवन जीर्ण भएका, न्यूनतम सुविधा नभएका, शौचालय तथा धारा नभएका, घाम ताप्ने स्थानको अभाव रहेका, स्वास्थ्य सेवा र आधारभूत सुविधाबाट कैदीहरू वञ्चित भएका गुनासा जहिल्यै सुनिन्छन् । नेपालको संविधानको धारा १६ को (१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनी लेखिएको छ । सोही धाराको उपधारा (२) मा कसैलाई पनि मृत्युदण्ड हुने गरी कानुन निर्माण गरिनेछैन भनी प्रस्ट गरिएको छ । अर्थात्, अदालतबाट सजाय तोकिएका वा पुर्पक्षका लागि कैदमा रहेका प्रत्येकलाई राजनीतिक, सामाजिक, आर्थिक अधिकारबाहेक आधारभूत रूपमा बाँच्नका लागि आवश्यक पर्ने खाना, पानी, आवास, स्वास्थ्योपचार र अन्य अत्यावश्यक न्यूनतम सुविधा पाउनैपर्ने हुन्छ । नेपालमा अपराधमा सजाय पाएका कसैलाई पनि मृत्युदण्ड नहुने भएका कारण पनि जेलमा कैदीबन्दी बढी भएका हुन् ।

नेपालमा सन् १९१४ मा केन्द्रीय कारागारको स्थापना भयो । राणाकाल र पञ्चायती शासनकालमा जेलमा भएका कैदीको अधिकारसम्बन्धी विषयले स्थान पाउने अवस्थै थिएन । सन् १९९० (२०४६ चैत २६) मा बहुदलीय शासन प्रणाली पुनस्र्थापित भएपश्चात् मानव अधिकारसम्बन्धी विषयले प्रधानता पाएको हो । सन् १९९६–२००६ को माओवादी सशस्त्र युद्धको अवधिमा मानव अधिकार उल्लंघनका बग्रेल्ती घटना घटाइए । राज्यपक्ष र माओवादी दुवैबाट मानिस कब्जामा लिने, जेलमा हाल्ने, थुन्ने, यातना दिने र हत्या गर्नेसमेतका घटना प्रशस्त घटाइए । सन् २००६ मा लोकतन्त्र स्थापनापछि प्रत्येकको न्यूनतम बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने विषयले प्रमुखता पायो । राणाकालमा जेल राणा शासकको तजबिजअन्तर्गत थियो भने सन् १९५१ पछि गृह मन्त्रालयमातहत ल्याइयो । सोही समयपछि अलग्गै कारागार व्यवस्थापन विभागको गठनसमेत भयो ।

विकसित, आधुनिक र विधिको शासनलाई प्रधानता दिने पश्चिमा मुुलुकमा जेलमा गएकाहरूको समेत उचित सुविधाको ख्याल गर्ने गरिन्छ । आर्थिक अवस्था कमजोर भएकाहरूलाई राज्यले नै दोभाषे र वकिलसमेतको प्रबन्ध गर्ने व्यवस्था लागू गरिएका छन् । नेपालको संविधानको धारा २० मा न्यायको अधिकारबाट कसैलाई पनि वञ्चित नगरिने कुरा प्रस्ट लेखिएको छ । विश्व र नेपालमा पनि एउटै तहबाट मात्र आएको फैसलाका आधारमा जेलमा राख्ने होइन, पुनरावेदकीय अदालती अधिकारको ग्यारेन्टी गरिएका छन् । बेलायतमा सन् १९०४ बाट एक तहबाट मात्र भएको फैसलाका आधारमा जेलमा राख्ने र दुई तहको अदालतको फैसला आवश्यक नहुने प्रबन्ध एडल बेक मुद्दा (१८८७) बाट पूर्णत: खारेज गरियो ।

त्यसको प्रभाव विश्वभर पर्‍यो । युद्ध, हमला, आक्रमण र कब्जामा लिइएका विदेशी, युद्धबन्दी र सशस्त्र व्यक्तिहरूलाई समेत मानवोचित सुविधा उपलब्ध गराउनुपर्ने कुरा सन् १८९९ र १९०७ का जेनेभा कन्भेन्सनले बोलेका छन् ।

नेपालमा १६ हजारको हाराहारीमा मात्र कैदीबन्दी बस्ने कारागारको प्रबन्ध भए पनि हाल तीस हजारको हाराहारीमा कैदीबन्दी राखिएका कारण सेवा, सुविधा र प्रबन्धकीय समस्या रहेका कारण पटक–पटक विभिन्न कारागारमा हिंस्रक झडप दोहोरिएका छन् । विश्वमा खुला कारागार र श्रम कैदसम्बन्धी धारणालाई लागू गरिएका छन् । सन् १९२४ पछिको सोभियत रुस र सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा जर्मनीमा एडोल्फ हिटलरबाट समेत कैदीबन्दीलाई श्रम शिविरमा राख्ने अभ्यास गरियो । यद्यपि, ती क्रूर र दमनकारी थिए । नेपालमा राणाशासनकालमा कैद त्यस्तै क्रूर थियो । लोकसत्ता (लोकतन्त्र) पछि त्यस खालका मानसिकता र व्यवहारमा परिवर्तन भए पनि कारागारको सुधार र कैदीको जीवनको न्यूनतम सेवा र सुविधाबारे सरकारी सोच बदलिन सकेको छैन । अर्कातर्फ पुराना र जीर्ण कारागार, न्यून सुविधा र कमजोर आर्थिक स्रोत भएका कारण जिल्ला र सम्बन्धित कारागार कार्यालयले आवश्यक सेवा तथा सुविधा प्रदान गर्न सकेका छैनन् । हाल नुवाकोटमा आधुनिक सुविधा सम्पन्न कारागार निर्माण र सञ्चालन भइसकेको छ । जहाँ १३७० जना कैदीबन्दी राख्न सक्ने क्षमता रहेकाले काठमाडौंको सुन्धारा, नख्खु र डिल्लीबजारका जीर्ण कारागारका कैदीबन्दीलाई त्यहाँ स्थानान्तरण गर्नुपर्ने अवस्था पनि देखिन्छ । अहिले पनि विभिन्न कारणले केन्द्रीय र जिल्ला कारागारमा कैदीबन्दीहरूको चर्काे चाप रहेको छ ।

कारागारको भौतिक सुविधामा आवश्यक परिवर्तन, न्यूनतम सुविधा वृद्धि, मानव अधिकारको प्रत्याभूति र कैदीबन्दीप्रति राज्यको हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आउनु आवश्यक छ । सार्वजनिक चासोको दृष्टिले चर्चामा रहेका नेता वा सार्वजनिक पद वा पहुँचमा रहेका व्यक्ति जेलमा पर्दा जेलको अवस्था र सुविधाबारे राष्ट्रव्यापी चासो हुने गरेका छन् । त्यस्तोमा राष्ट्रिय मानव अधिकार आयोगलगायत मानव अधिकारवादी संस्थाका तर्फबाट अनुगमन बढी हुने गरेको भए पनि अन्य अवस्थामा त्यसको चर्चा र चासो नहुने भएकाले पनि कैदीबन्दीका न्यूनतम सुविधा र कारागारको अवस्थाबारे सार्वजनिक सरोकार राखेको देखिन्न । उल्लिखित रवि लामिछानेको कैद बसाइँबारे बढी नै चासो देखियो । यहीकारण राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनसमेत गर्‍यो । सारमा नेपालमा कारागारसम्बन्धी हालको प्रबन्धमा बहुआयामिक सुधार, परिवर्तन तथा सेवा र सुविधाको आवश्यक प्रबन्ध गर्नुपर्ने देखिन्छ । ‘नेल्सन मन्डेला रुल्स’को अर्थ र महत्व सरकार तथा सम्बन्धित निकायले बुझ्न र लागू गर्न आवश्यक छ ।

(अधिवक्ता सिलवालले मानव अधिकारसम्बन्धी विषयमा त्रिविबाट विद्यावारिधि गरेका छन्)