मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
२o८२ श्रावण १५ बिहीबार १४:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्तीमा १३३ गोही छाडियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १४:o१:oo

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही राप्ती नदीमा छाडेको छ । तीमध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत आर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोहीसहित दुई हजार ९० गोही प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार ३३५ छाडिएको उनले जानकारी दिए । नारायणीमा ४१९, सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो ।

अघिल्लो आर्थिक वर्ष १०५ वटा गोही छाडिएको थियो । त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी यहाँको राप्तीमा छाडिएको हो । गत वर्ष छाडिएका गोही सन् २०२० का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन । गत वर्षको पुसमा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३५२ वटा मात्र भेटिएको थियो ।

हाल प्रजनन केन्द्रमा ७८२ वटा गोही रहेका छन् । तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५ हुन् । अघिल्लो वर्षका १५३ हुन् भने बाँकी त्यसअघिका हुन् । प्रजनन केन्द्रमा एउटा पुरानो भाले गोही छ । अन्यको भाले छुट्टिएको छैन ।

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमारलगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजारजति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरूमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा संख्या भने बढेको छैन ।