मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार o९:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव : दुवै देशका शीर्ष नेताद्वारा शुभकामना सन्देश आदानप्रदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार o९:५o:oo

नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार दुई देशका शीर्ष नेताले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गरेका छन् । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध सन् १९५५ अगस्ट १ (आजकै दिन) मा स्थापना भएको थियो।

परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान प्रेषित गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चीनका राष्ट्रपति सी जिनपिङलाई पठाएको सन्देशमा चीन सरकार र जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। दुई देशबिचको सम्बन्ध आपसी विश्वास, सार्वभौम समानता र  शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुवै मुलुकबिच शान्ति, प्रगति र समृद्धिको साझा दृष्टिकोण साकार पार्न मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्। आपसी सहयोगलाई अझ प्रगाढ बनाउने, समन्वय विस्तार गर्ने र विविध क्षेत्रमा सहकार्य सुदृढ गर्ने आवश्यकतामा पनि उनले जोड दिएका छन्।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेललाई पठाएको सन्देशमा चीन–नेपालबिच हिमाल र नदीद्वारा जोडिएको पुरानो र घनिष्ठ सम्बन्ध रहेको बताउँदै दुई देश सधैँ परस्पर सम्मान, समान व्यवहार र द्विपक्षीय सहकार्यमा आधारित सम्बन्धका आदर्श उदाहरण भएको उल्लेख गरेका छन्। हालैका वर्षहरूमा दुई देशबिच सम्बन्ध थप मजबुत बन्दै गएको, राजनीतिक विश्वास बढेको, बेल्ट एन्ड रोड इनिसिएटिभमा सहकार्य भएको र रणनीतिक साझेदारी प्रगाढ हुँदै गएको सीको भनाइ छ । सीले परम्परागत मित्रतालाई अगाडि बढाउने, सबै क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने कार्यले दुवै देशका जनतालाई लाभ दिने पनि सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री केपी ओलीले पनि चिनियॉ राष्ट्रपति सीलाई सन्देश पठाएका छन्। ओलीले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तहरूमा आधारित रहेको र यो सात दशकदेखि समस्यारहित रहेको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । चीनले सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रतालाई सम्मान गरेको ओलीको सन्देश छ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको सन् २०१९ मा नेपाल भ्रमण र आफ्नो तीनपटकको चीन भ्रमणलाई स्मरण गर्दै उच्चस्तरीय आदान–प्रदानले राजनीतिक विश्वास सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। उनले द्विपक्षीय सहमति र सम्झौताहरू कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको र यसले दुवै देशका जनतालाई वास्तविक लाभ पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली छ्याङलाई पनि शुभकामना सन्देश पठाएका छन्। उनले दुई देशबिचको सम्बन्ध साझा अनुभव, आपसी लाभदायी सहकार्य र आपसी विश्वासमा आधारित रहेको जनाउँदै चीनको अद्वितीय विकासको प्रशंसा गरेका छन्। चीनका प्रधानमन्त्री लीले पनि प्रधानमन्त्री ओलीलाई पठाएको सन्देशमा दुवै देशबिचको सम्बन्ध स्थिर रूपमा अघि बढिरहेको र विविध क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गरेका छन्।

उनले उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहयोगलगायत अन्य क्षेत्रीय सहकार्यलाई अगाडि बढाउँदै रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने चीनको प्रतिबद्धता व्यक्त गरेका छन्। यसैगरी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि चीनका विदेशमन्त्री वाङ यीलाई शुभकामना सन्देश पठाएकी छिन्। परराष्ट्रमन्त्री राणाले दुई देशबिचको पारिस्थितिक, सांस्कृतिक, सामाजिक, राजनीतिक र विकास साझेदारीलाई स्मरण गर्दै नेपालमा चीनको विकास सहयोगको प्रशंसा गरेकी छिन्। उनले दुवै देशबिच सीमापार जलवायु जोखिमविरुद्धको सहकार्यलाई मजबुत बनाउने इच्छा जनाएकी छिन्।

चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री राणालाई पठाएको सन्देशमा दुई देशबिचको परम्परागत मित्रता, पारस्परिक सम्मान, समानता र पारस्परिक हितमा आधारित सम्बन्ध उल्लेख गरेका छन्। उनले दुई देशका नेताबिच भएको सहमति कार्यान्वयन गर्न र रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।