
महोत्तरीस्थित मनरा–सिस्वा नगरपालिकाले पालिकाभित्र कृषि कार्यका लागि तत्काल नयाँ डिप बोरिङ जडान नगर्ने निर्णय गरेको छ । स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । कृषिका लागि दिनभरि डिप बोरिङ चलाउँदा खानेपानीका लागि समस्या थप जटिल हुन थालेपछि पालिकाले थप नयाँ बोरिङ तत्काल जडान नगर्ने निर्णय गरेको हो । हाल दैनिक दुई लाख पचास हजार लिटरभन्दा बढी खानेपानी वितरण गरिरहेको पालिकाले खानेपानीकै लागि पानी जोहो गर्न समस्या हुन थालेपछि यस्तो निर्णय गरेको हो ।
मनरा–सिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयले खानेपानी र सिँचाइसमेतका लागि एउटै लेयरबाट पानी आइरहँदा खानेपानीका लागि पानी अभाव हुन थालेको बताए। उनले पुराना ट्यबवेलहरू भने राति ९ बजेदेखि बिहान ६ बजेसम्म सिँचाइका लागि सञ्चालन गरिनेसमेत थपे । नगरप्रमुख पाण्डेयले पालिकाले जलाधार विज्ञहरूसँग सल्लाह लिइरहेको र उहाँहरूकै सल्लाहबमोजिम पालिकामा पानीको समस्या समाधानको प्रयास गर्ने बताउँदै कृषि कार्यको लागि वैकल्पिक पानीको जोहो आवश्यक रहेको बताए ।
उनले पाँच कट्ठा जग्गा सिञ्चित ३६ घण्टा लगातार डिप बोरिङ सञ्चालन गरेरसमेत नसकिने आफूहरूको अनुभव रहेको बताउँदै महोत्तरीका मुख्य नदीहरूमा सुनकोशी मरिन डाइभर्सनलगायतका अन्य विकल्पबाट पानी ल्याउन सरकारसँग द्रुतगतिमा कार्य अगाडि बढाइदिन आग्रह गरे। उनले खेतहरूमा बोरिङकै पानी हालेर धानखेतीको प्रयास भए पनि दुई–चार दिनमै पानी सुकेर धाँजा फाटेको खेतबाट धान उत्पादन हुन नसक्ने भन्दै सरकारले ठोस नीतिमार्फत किसानको समस्या समाधानको प्रयास गर्नुपर्ने बताए ।
उनले स्थानीय तहसँग बजेट त्यति धेरै नभए पनि आफूले पालिकाले गर्न सक्ने हरसम्भव प्रयास प्यास मेट्न र खेत सिँचाइ गर्न गरिरहेको बताउँदै प्रदेश सरकार र संघीय सरकारलाई सघाउन आग्रह गरे। मनरा–सिस्वा नगरपालिकामा हाल निर्माणाधीन रहेको वडा नं. ३ सोनौल, वडा नं. ५ कटैया र वडा नं. १० मरुवाहीस्थित ओभरहेड ट्यांक तत्काल सञ्चालन गर्न सम्बन्धित कार्यालयसँग समन्वय भइरहेको बताउँदै १० हजारभन्दा बढी जनसंख्या रहेको मनरा–सिस्वा नगरपालिकामा सोही ओभरहेड ट्यांकीले समेत तीन हजारभन्दा बढी उपभोक्ता खानेपानीका लागि लाभान्वित हुने भएकोले ओभरहेड ट्यांकीहरू नियमित गर्न तथा थप ओभरहेड ट्यांकी निर्माण गर्न पालिकाले समन्वय अगाडि बढाएको बताए ।
मनरा–सिस्वा नगरपालिकालगायत महोत्तरीका १५ स्थानीय तहमै पानीको अभावले खेतीपातीमा समस्या भएको छ भने अधिकांश स्थानमा खानेपानीकै हाहाकार हुँदा केही स्थानीय तहले ट्यांकरमार्फत पानी वितरण गर्दै आएका छन्।