मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
तलिया जेड प्रिन्स/ड्यानियल हेर्मेन्स
२o८२ श्रावण १४ बुधबार ११:३६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अनलाइन ‘बडी सेमिङ’ले किशोरीलाई क्षति

Read Time : > 2 मिनेट
तलिया जेड प्रिन्स/ड्यानियल हेर्मेन्स
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार ११:३६:oo
  • हामी अर्को पुस्ता आत्मविश्वासी र स्वस्थ रूपमा हुर्कोस् भन्ने चाहन्छौँ भने ‘बडी सेमिङ’लाई गम्भीर रूपमा लिनैपर्छ 

जतिसुकै कोसिस गर, कुनै पनि फिल्टरले तिम्रो अनुहार सुन्दर बनाउँदैन ।’ किशोरीहरूले सामाजिक सञ्जाल, समूह च्याट वा गुमनाम सन्देशमार्फत यस्ता टिप्पणी दैनिक व्यहोर्नुपर्छ । केहीले यसलाई मजाक ठान्न सक्छन्, तर यस्ता भनाइ ‘शारीरिक बनोटसम्बन्धी ‘साइबर दुर्व्यवहार’का उदाहरण हुन् । विभिन्न अनुसन्धानले यस्ता दुर्व्यवहार किशोर–किशोरीमाथिको सबैभन्दा सामान्य र हानिकारक अनलाइन हिंसामध्ये एक हो जसले विशेषत: किशोरीको आत्मछविमा गहिरो असर पार्ने देखाएको छ । र, हाम्रो नयाँ अध्ययनमा हामीले मस्तिष्क छविमार्फत अरूलाई लक्षित गरिएका बडी सेमिङ (शरीरलाई लिएर गरिने उपहास) सामग्री हेर्दा पनि मस्तिष्कका भावनात्मक पीडा र सामाजिक त्राससँग सम्बन्धित भाग सक्रिय हुने पायौँ ।

शारीरिक बनोटसँग सम्बन्धित साइबर दुर्व्यवहार भनेको कसैको रूपरंग, लुगा वा शरीरको तौल, आकृति वा आकारबारे अनलाइन टिप्पणी गर्नु हो, जुन प्राय: सार्वजनिक रूपमा देखिने पोस्ट वा कमेन्टमा गरिन्छ । छोटा शब्द, ह्यासट्याग वा इमोजीले पनि गहिरो चोट पुर्‍याउन सक्छ । यो समस्या सबैलाई हुन सक्छ । तर, किशोरावस्थामा मस्तिष्क विकासका क्रममा हुने भएकाले किशोरीहरू थप संवेदनशील हुन्छन् । त्यसमाथि, समाजले छोरीलाई देखावटप्रति विशेष दबाब दिने हुँदा यो झन् हानिकारक हुन जान्छ ।

हामीले गत वर्ष तीन सय ३६ किशोरीमाथि गरेको सर्वेक्षणमा ९८ प्रतिशतले कुनै न कुनै रूपमा साइबर दुर्व्यवहारको अनुभव गरेका थिए, जसमा ६२ प्रतिशत दुर्व्यवहार शारीरिक बनोटसँग सम्बन्धित थिए । तीमध्ये अधिकांशले आत्मछवि र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पारेको बताएका छन् । ९६ प्रतिशतले आफ्नो स्वरूप बदल्ने चाहना महसुस गरे भने ८० प्रतिशतभन्दा बढीले सौन्दर्य शल्यक्रिया गर्ने विचार गरे । शारीरिक बनोटकेन्द्रित साइबर दुर्व्यवहारले शरीरप्रति असन्तुष्टि बढाउने गर्छ, जुन किशोरीमाझ खानासम्बन्धी विकारको प्रमुख जोखिम पनि हो ।

शरीरप्रति गरिने अनलाइन अपमानले किशोरीको मस्तिष्कमा कस्तो प्रभाव पार्छ भनेर बुझ्न हामीले एक ‘फंग्सनल एमआरआई’ अध्ययन गरेका थियौँ । सामाजिक सञ्जालका तटस्थ र बडी सेमिङयुक्त पोस्ट तयार गरी चार सयभन्दा बढी किशोरीलाई मूल्यांकन गरायौँ र १४–१८ वर्षका २६ किशोरीलाई मस्तिष्क स्क्यानमा सहभागी गराएका थियौँ । जब उनीहरूले बडी सेमिङ पोस्ट हेरे, मस्तिष्कका भावनात्मक पीडा, आत्मछवि र सामाजिक मूल्यांकनसँग सम्बन्धित क्षेत्र सक्रिय भएका थिए । मस्तिष्कका स्मृति र ध्यान क्षेत्र विशेषत: ती किशोरीमा सक्रिय थिए, जसले हालसालै साइबर दुर्व्यवहार भोगेका थिए । यसले पुराना पीडादायक अनुभव पुन: सक्रिय भएको संकेत गर्छ । तर, जसको आत्मछवि सकारात्मक थियो, उनीहरूको मस्तिष्क शान्त र नियन्त्रित देखियो, जसले सकारात्मक आत्मछविले सुरक्षात्मक भूमिका खेल्न सक्ने देखाउँछ ।

सबैभन्दा विशेष के थियो भने हाम्रो अध्ययनमा सहभागी किशोरीले हेरिरहेका पोस्ट अरूलाई लक्षित थिए, न कि उनीहरूलाई । तर, यति मात्रले पनि उनीहरूको मस्तिष्कको प्रतिक्रिया र आफ्नो शरीरप्रतिको भावना परिवर्तन भएको देखियो । यसले ‘शरीरप्रति गरिएको उपहासले केवल लक्षित व्यक्तिलाई मात्र नभई हेर्ने अरूलाई पनि असर गर्छ’ भन्ने देखाउँछ । जब शारीरिक बनोटको निरन्तर मूल्यांकन र आलोचना हुन्छ, त्यसले किशोरीहरूमा के ‘सामान्य’ वा ‘स्वीकार्य’ हो भन्ने धारणालाई नै बदल्न सक्छ । यसले किशोरीहरूको मस्तिष्कले सामाजिक र भावनात्मक अवस्थामा कसरी प्रतिक्रिया जनाउँछ भन्नेमा पनि असर पार्न सक्छ ।

शारीरिक बनोटसँग सम्बन्धित साइबर दुर्व्यवहार केवल किशोर–किशोरीबिचको झगडा मात्र नभई एक व्यापक सामाजिक समस्या पनि हो । सामाजिक सञ्जालले ध्यान खिच्ने सामग्रीलाई क्षति पुर्‍याउने भए पनि पुरस्कृत हुन्छन् । यी सबै कुरा मस्तिष्कको संवेदनशील विकासको चरणमा भइरहेका हुन्छन् । यसले किशोर–किशोरीलाई आफूलाई र अरूलाई कसरी हेर्ने भन्ने भावनाको निर्माण गरिरहेको हुन्छ । 

क्षति कम गर्नका लागि हामीले बहुआयामिक रूपमा काम गर्न आवश्यक छ । सबैभन्दा पहिले, शिक्षा प्रणालीमै सुरुदेखि नै शारीरिक छवि र अनलाइन सुरक्षाबारे पाठ्यक्रम निर्माण गरिनुपर्छ । यद्यपि, केही विद्यालयमा यस्ता कक्षा सञ्चालन हुने गरेका भए पनि यी विषय अझै पनि नियमित र व्यापक रूपमा पढाइँदैनन् । धेरै युवाले अनलाइन शारीरिक बनोटसम्बन्धी दबाबसँग जुझ्न थप सहयोगको आवश्यकता महसुस गरेका हुन्छन् । यिनका लागि अभिभावक र शिक्षकलाई पनि आवश्यक संयन्त्र, स्रोत र भाषा प्रदान गरिनुपर्छ, जसका माध्यमबाट उनीहरूले युवासँग अनलाइनमा उनीहरूले के हेर्छन् र गर्छन् भन्नेबारे खुलस्त र लाज नमानी संवाद गर्न सकून् । 

यसबाहेक सामाजिक सञ्जाललाई पनि जवाफदेही बनाइनुपर्छ । सञ्जालले रिपोर्ट गर्ने प्रणालीलाई बलियो बनाउनुपर्छ र शारीरिक बनोटलक्षित ट्रेन्डजस्ता साइबर दुर्व्यवहार प्रवर्द्धन गर्ने सामग्रीको निगरानी कडा बनाइनुपर्छ । अन्तत:, विद्यालय, सञ्चारमाध्यम र समाजका प्रभावशाली व्यक्तिले सबै प्रकारका शरीरलाई सम्मानपूर्वक प्रस्तुत गर्दै शरीरको आकारभन्दा दयालुपन, प्रतिभा वा शारीरिक क्षमतामा आधारित आत्ममूल्यलाई प्रोत्साहन गर्नुपर्छ ।

किशोरावस्था यस्तो चरण हो, जहाँ व्यक्तिको सोच, भावनाको व्यवस्थापन र सम्बन्ध निर्माणमा ठुलो परिवर्तन आउँछ । यी वर्षमा भएका अनुभवले उनीहरूले आफूलाई र संसारलाई कसरी बुझ्ने हुन् भन्ने कुरा निर्माण गर्छ । अनलाइन बडी सेमिङ स्क्रिनमा देखिएका केवल शब्दजस्तै लाग्न सक्छ, तर यदि हामी अर्को पुस्ता आत्मविश्वासी र स्वस्थ रूपमा हुर्कोस् भन्ने चाहन्छौँ भने यसलाई गम्भीर रूपमा लिनैपर्छ ।

(प्रिन्स सनसाइन कोस्ट विश्वविद्यालयमा युवा मानसिक स्वास्थ्य र न्युरोइमेजिङकी पोस्ट–डक्टरल अनुसन्धाता हुन् भने हेर्मेन्स सो विश्वविद्यालयका युवा मानसिक स्वास्थ्य र न्युरोबायोलोजीका प्राध्यापक हुन्) 

द कन्भर्सेसनबाट