मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025
यम बम काठमाडाैं
२o८२ श्रावण १५ बिहीबार o६:३३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ल्हेन्दे नदीमा फेरि बाढी : स्याफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार o६:३३:oo

भोटेकोशीको सहायक नदी ल्हेन्देमा फेरि बाढी आएको छ । मंगलबार बिहान (राति) २ बजेतिर बाढी आउँदा स्याफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध भएको छ । यसअघि २४ असारको राति भोटेकोशीमा बाढी आउँदा नेपालको रसुवागढी र चीनको केरुङ जोड्ने मितेरी पुल बगाउनुका साथै सडक अवरुद्ध र मानवीय क्षति पनि भएको थियो । 

मंगलबार रातिको बाढीले अघिल्लो पटकजस्तो ठुलो क्षति नगरे पनि सडक अवरुद्ध र जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अर्जुन पौडेलले बताए । ‘हिजो पानी परेको थिएन, अस्ति भने ठुलो पानी परेको थियो । चिनियाँ पक्षसँग कुरा गर्दा पानीका कारण बाढी आएको हुन सक्ने बताएका छन्, यकिन कारण खुल्न सकेको छैन,’ पौडेलले भने, ‘अघिल्लोपटक बाढीले खोला थुनिँदा ठुलो क्षति भएको थियो । यसपटक थुनिन पाएन, बाढी त ठुलै थियो ।’ 

जिल्ला प्रशासनका अनुसार अस्थायी रूपमा सञ्चालनमा रहेको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार र्‍याड प्रवेशद्वार र नेपाली सेनाको चेकपोस्टनजिक गरी आठ ठाउँमा करिब ५४० मिटर सडक क्षति भएर पूर्ण अवरुद्ध भएको छ । त्यस्तै, स्याफ्रुबेँसी–दोभान सडकखण्डअन्तर्गत लाङटाङ जलविद्युत् आयोजना प्लान्टनजिक बाढीका कारण बाटो कटान भई सडकमार्ग अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेस्थित भन्सार र्‍याडमा थप कटान भएको छ । र्‍याडको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्मकाँटासमेत बाढीले बगाएको छ । त्यस्तै, टिमुरेस्थित भन्सार र्‍याडको पारिपट्टि रसुवागढी जलविद्युत् आयोजनाको आवास क्याम्पको वर्कसप बाढीले ल्याएको बालुवामा पुरिएको छ । दुईवटा फोर्ड पिकअप गाडी पनि बगाएको छ । 

भोटेकोशी नदीमा अवस्थित रसुवागढी हाइड्रोपावर जाने पुल तथा कालिका गाउँपालिका– १ र उत्तरगया गाउँपालिका– १ जोड्ने त्रिशूली नदीमा अवस्थित पक्की पुलको दुवैतर्फको प्रोटेक्सन ग्याबिन/वाल भत्किएको छ । दुवै पुल जोखिमको अवस्थामा छन् । गोसाइँकुण्ड गाउँपालिका– ५ रुंगा पुलनजिकै काठले बनेको जस्ताको छानो भएका चार टहरा पनि बगाएको छ । अघिल्लो बाढीबाट प्रभावित त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजना र त्रिशूली ‘३ बी’ आयोजनाको हब स्टेसनमा थप क्षति भएको छ । 

मनसुनका ६० दिन : ४३ को मृत्यु 
यस वर्षको मनसुन सुरु भएको दुई महिनामा विभिन्न विपत्जन्य घटनामा ४३ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा १९ जना बेपत्ता छन् भने ११६ जना घाइते भएका छन् । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको मनसुनको ६० दिन (१५ जेठदेखि ११ साउनसम्म)को प्रतिवेदनअनुसार दुई हजार ११२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । जसमध्ये एक हजार १५४ परिवार बाढीबाट प्रभावित भएका छन् । यो क्षति गत वर्षको तुलनामा न्यून हो । गत वर्ष ६० दिनको अवधिमा १७७ जनाको मृत्यु तथा ४१ जना बेपत्ता भएका थिए ।

यस वर्ष सबैभन्दा धेरै बाढीबाट मृत्यु भएको छ । बाढीले १५, चट्याङले १४, पहिरोले १२ र भारी वर्षाका कारण दुईजनाको मृत्यु भएको छ । यस वर्ष औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान भए पनि अहिलेसम्म औसतभन्दा कम पानी परेको छ । मधेश प्रदेशले त खडेरीको समस्या झेलिरहेको छ ।