
खासास्थित चिनियाँ भन्सारले जाँचपासमा ढिलाइ गर्दा दसैँका लत्ताकपडादेखि फलफूल र विद्युतीय सामग्री बोकेका कम्तीमा पाँच सय कन्टेनर चीनतर्फै अड्किएका छन् । खासास्थित चिनियाँ भन्सारले एक घण्टामा एउटा मात्र गाडी जाँचपास दिएर छाड्दा दैनिक बढीमा सातवटा गाडी मात्रै तातोपानीतर्फ प्रस्थान भइरहेका छन् । रसुवामा बाढी आउनुअघि पनि खासाबाट एउटा गाडी पास हुन आधा घण्टा लाग्थ्यो ।
खासा भन्सारमा लाइनमा रहेका गाडीको जाँचपासको पालो आउन हप्तादेखि १० दिनसम्म लाग्ने गरेको छ । जसले गर्दा न्यालम र खासा क्षेत्रमा कन्टेनर जाममा परेका हुन् । खासा भन्सारले सुन्तला र किबीजस्ता फलफूल बोकेका गाडीलाई समेत ग्रिन लाइन नदिँदा सड्ने अवस्थामा पुगेको आयातकर्ता व्यापारीहरूको गुनासो छ ।
२४ असारमा रसुवा बाढीपछि केरुङमा रहेका मालवाहक कन्टेनर तातोपानी नाका हुँदै आउन खासातर्फ डाइभर्ट भएका थिए । तर, खासा भन्सारले जाँचपासमै ढिलाइ गर्न थालेपछि व्यापारी मारमा परेका हुन् । खासामा ट्रान्सपोर्ट कम्पनी र चिनियाँ व्यापारीसँग मिलिभगत गरेर कन्टेनर जाँचपास ढिला भइरहेको हो ।
खासा भन्सारलाई कन्टेनर जाँचपास छिटो गर्न अनुरोध गरिएको तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले बताए । ‘कन्टेनरको जाँचपास ढिला हुँदा सामान नेपाल आइपुग्न धेरै दिन लाग्न थालेको गुनासो व्यापारीबाट आएको छ । हामीले छिटो जाँचपास गरिदिन अनुरोध गरेका छौँ,’ उनले भने, ‘रसुवा बाढीपछि तातोपानीमा आयात बढ्नुपर्नेमा जाँचपास ढिलो हुँदा झन् कम भएको छ । यसले नेपाली उपभोक्ता मारमा पर्छन् भने राजस्वको लक्ष्यमा पनि असर गर्छ ।’
नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्यसमेत रहेका स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले खासाबाट दैनिक सातवटा कन्टेनरमात्रै छोड्दा नेपाली व्यापारी ट्रान्सपोर्ट कम्पनीलाई महँगो भाडा तिर्न बाध्य रहेको बताए । ‘खासाबाट दैनिक सातवटा कन्टेनर मात्र जाँचपास भइरहेको छ, प्राकृतिक विपत्तिको मौका छोपेर ट्रान्सपोर्ट कम्पनीले ढुवानी भाडादर धमाधम वृद्धि गरेका छन् । स्याउ बोकेका कन्टेनर न्यालमबाट १५ दिनमा बल्ल काठमाडौ आइपुगेको छ,’ उनले भने ।
ढुवानीकर्ता ट्रान्सपोर्ट कम्पनीलाई महँगो भाडा तिरेर ल्याइएका व्यापारिक सामान बोकेका कन्टेनर न्यालम पुगेपछि १० दिनसम्म रोकिनुपर्छ । ४० फुटे चिनियाँ गाडीमा रहेका सामान अरू सामान्यमा दुई गाडी हुन्छ । जुन तातोपानी भन्सारबाट जाँचपास भएपछि नेपाली कन्टेनरमा पल्टी गरेर काठमाडौं ल्याइन्छ । रसुवा बाढीपछि ढुवानीमा समस्या आएको नमस्ते ट्रान्सपोर्ट कम्पनीका प्रमुख लोप्साङ शेर्पाले बताए । ‘केरुङमा रहेका कन्टेनर तातोपानीसम्म पुर्याउन दुई लाखदेखि तीन लाख ५० हजारसम्म ढुवानी भाडा लिने गरेको जानकारी पाएको छु,’ उनले भने । नेपाल– चीन दुवैपट्टि सडक र भूगोलको अवस्था जोखिमपूर्ण रहेकाले पनि आयातमा समस्या आएको उनले बताए । तातोपानी कोदारीस्थित इको रिसोर्ट क्षेत्रमा बारम्बार पहिरो गएकाले सवारीसाधन आवतजावत नियमित छैन ।
भारवहन नियम लागू भएपछि बढ्यो कन्टेनर भाडा
लिपिङ मितेरीपुलबाट बाह्रबिसेसम्म कम्तीमा पाँचवटा बेलिब्रिज छन् । जसको भारवहन क्षमता २८ टन तोकिएको छ । खासाबाट आउने ४० फुटे लामा कन्टेनरमा आउने सामान कन्टेनरसहित ४२ टनसम्म हुन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको परिपत्रअनुसार कानुन कार्यान्वयन गर्ने सरकारी निकायले भारवहन नियम लागू गरेपछि कन्टेनर भाडा बढेको हो ।
चिनियाँ ट्रान्सपोर्ट कम्पनीले साबिक ढुवानी गर्दै आएको कन्टेनरमा अट्ने सामग्रीलाई आधा बनाएर तातोपानी ल्याउने गरेका छन् । खासाबाट सात हजार घोर्मुमा तातोपानी भन्सार आउने चिनियाँ कन्टेनर अहिले सामान कम बोकेर तातोपानी आउँछन् ।
पहिला एउटा कन्टेनरले बोक्ने सामान दुईवटाले ल्याउँदा ११ हजारदेखि १३ हजार घोर्मुसम्म भाडा लिने गरिएको छ । भारवहन नियम लागू हुँदा दुर्घटनाको जोखिम न्यूनीकरण हुन्छ भने भाडा दोब्बरसम्म बढ्दा चिनियाँ सामानको मूल्यवृद्धि भएर उपभोक्ता मारमा पर्नेछन् ।