मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ८ बिहीबार १४:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार १४:४२:oo

नेपाल आयल निगमले ६ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामंगलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्डबाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्येश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले सो डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आज निगमलाई हस्तान्तरण गरेको छ ।

सिनामंगलस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन प्राडा सुरज लामिछाने र सहप्राध्यापक नारायण गौतमले सिनामंगलस्थित डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरे ।

उक्त प्रतिवेदनमा कुल ६ अर्ब ५४ करोड २९ लाखको लागतमा डिपो स्थान्तरण गरिने उल्लेख छ । अब बन्ने डिपोमा पेट्रोलियमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूरा पालना गरिनेछ । नयाँ डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डको हुने निगमले जनाएको छ ।

डिपो स्थानान्तरणसम्बन्धी प्रतिवेदन तयार गर्न निगमले गत मंसिर ५ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिएको थियो । सरकारले गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

नयाँ बन्ने डिपोमा इन्धन भण्डारणका लागि तीन हजार किलोलिटरका पाँच वटा भर्टिकल ट्यांक निर्माण हुनेछन् । भविष्यमा भण्डारण ट्यांक निर्माणका लागि थप जग्गा पनि रहनेछ । प्रमुख यादवले आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्ने गरी नयाँ डिपो निर्माण गरिने जानकारी दिए ।

डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित हुनेछ । हवाई इन्धन ‘लोडिङ’ र ‘अनलोडिङ’का लागि क्रमशः ६ र आठ वटा वे, अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्न सातवटा ‘हाइड्रेन्ट रिफ्युलर’ रहने निमगले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार एक सय किलोलिटरका दुईवटा पानीट्यांक तथा पूर्णस्वचालित अग्नि नियन्त्रक प्रणाली जडान हुने प्रमुख यादवले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा व्यवस्थापनको काम सम्पन्न गरिदिएमा आगामी भदौमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आगामी मंसिरदेखि निर्माण प्रारम्भ गर्ने योजना रहेको उनले बताए ।

जग्गा व्यवस्थापनको काम अत्यन्त ढिलो गतिमा भइरहेको जानकारी दिँदै उनले प्राधिकरणबाट सहयोगको अपेक्षा गरिएको बताए । निर्माण सुरु भएको दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ०८४ मंसिरदेखि नयाँ डिपोबाट इन्धन भर्ने योजना रहेको प्रमुख यादवले सुनाए ।

इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन लामिछानेले आफूहरू जस्तोसुकै परियोजनाको पनि डिजाइन गर्न सक्षम रहेको बताए । उनले निगमसँगको सहकार्यबाट संस्थानको पनि क्षमता वृद्धि हुनुका साथै निर्धारित समयमा डिपिआर हस्तान्तर गरिएको स्पष्ट पारे। रासस