
सक्रिय राजनीतिमा रोक्ने एमाले केन्द्रीय कमिटीबाट ‘अनपेक्षित र अपमानपूर्ण’ निर्णय आएपछि निराश बनेकी पूर्वराष्ट्रपति विद्या भण्डारी आगामी राजनीतिक भूमिका र सम्भावित विकल्पबारे परामर्शमा जुटेकी छिन् । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सक्रिय राजनीतिमा प्रतिबन्ध लगाउने निर्णय भएपछि असन्तुष्ट र निराश बनेकी विद्याले निकटस्थहरूसँग बुधबार दिनभर आगामी कदमबारे प्रारम्भिक विमर्श गरेकी छिन् । नेता तथा विश्लेषकका अनुसार विद्यामाझ आगामी कदमबारे सीमित र केही जोखिमपूर्ण विकल्प छन् ।
लामो समयदेखिको संवाद, सम्पर्क र छलफलमा सकारात्मक देखिएका ओलीले पछिल्ला दिनमा आफू पक्षधर नेताहरूमाथि कारबाहीसम्मको धम्की दिएर दबाब सिर्जना गर्दै केन्द्रीय कमिटीबाट पार्टीमा फर्किने ढोका बन्द गराएको भण्डारीको निष्कर्ष छ । हालको निर्णयले आफ्नो विश्वास र भरोसा चकनाचुर बनाएको विद्याको बुझाइ छ । उनले प्रतिबन्धलाई अनपेक्षित घटनाका रूपमा लिएको निकट नेता बताउँछन् ।
‘निकटस्थहरूसँगको छलफलमा उहाँले पार्टी सदस्यता नवीकरण नै रोक्ने निषेधको तहमा निर्णय नहुने विश्वास राख्नुभएको थियो । अहिले केन्द्रीय कमिटीको पछिल्लो निर्णयलाई उहाँले अनपेक्षित घटनाका रूपमा लिनुभएको छ । समग्र छलफलपछि भावी कदमबारे खुल्ने उहाँको योजना छ,’ बुधबार विद्यासँग संवाद गरेका एमालेका एक नेताले नयाँ पत्रिकासँग भने । बुधबार नै विद्याको सदस्यता पार्टी प्रणालीबाट हटाइएको छ ।
मंगलबार मध्यरातमा एमाले केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा आउन प्रतिबन्ध लगाउने निर्णय गरेपछि विद्या बुधबार बिहानैदेखि सक्रिय भएकी थिइन् । सोही क्रममा उनले बुधबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही पदाधिकारीसँग टेलिफोन संवाद गरेकी छिन् भने केही निकटस्थ नेताहरूलाई भंगालस्थित निवासमा भेटेकी थिइन् ।
प्रदेश र जिल्ला तहका नेताहरूसँग टेलिफोन र अनलाइनबाट संवाद गर्दै भावी कदमबारे प्रारम्भिक सुझाव लिएको निकट स्रोत बताउँछ । तर, कसरी अगाडि बढ्ने भन्ने विषयमा उनले निकटस्थहरूसँग संगठित र सामूहिक छलफल भने गरिसकेकी छैनन् ।
बुधबार भेट गरेका निकट नेता विनोद ढकालले तीन दिनभित्र पूर्वराष्ट्रपति विद्याले आगामी कदमबारे औपचारिक फोरममार्फत धारणा सार्वजनिक गर्ने बताए । ‘उहाँले केही तयारी गर्दै हुनुहुन्छ । पार्टीले गरेको पछिल्लो निर्णय र आगामी कदमबारे उहाँले कुनै औपचारिक फोरमबाटै तीन दिनभित्र धारणा सार्वजनिक गर्नुहुनेछ,’ ढकालले भने ।
बिहीबार र शुक्रबार पूर्वराष्ट्रपति विद्या दुईवटा औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छिन् । एक अनलाइन सञ्चारमाध्यमको वार्षिकोत्सवमा बिहीबार र शुक्रवार पुष्पलालजयन्तीका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनी सहभागी हुँदै छिन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा हुने त्यस कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनाल पनि सहभागी हुँदै छन् । बिहीबारको कार्यक्रममा पनि प्रचण्ड सहभागी हुँदै छन् ।
उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीसामु विकल्पहरू रहेको र थप कुराकानी हुन नपाएकाले ठोस धारणा बनाउन अझै केही समय लाग्न सक्ने बताए । ‘राजनीतिमा विकल्पहरू त हुन सक्छन् । तर, पार्टी निर्णयपछि उहाँसँग कुराकानी हुन नपाएकाले के सोचिरहनुभएको छ भन्ने थाहा भइसकेको छैन,’ उनले भने, ‘अहिल्यै प्रस्ट धारणा त बनिसकेको छैन । तर, गलत निर्णयमाथि पुनर्विचारका लागि पार्टीभित्र वातावरण बन्नुपर्छ र उहाँलाई सदस्यता दिनुपर्छ भन्ने मलाई लाग्छ ।’
ज्ञवालीसहित अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्णबहादुर थापाले भण्डारीलाई पार्टी सदस्यता नदिने केन्द्रीय कमिटीले मध्यरातमा गरेको निर्णयमाथि नोट अफ डिसेन्ट लेखेका थिए । यो निर्णयपछि पनि एमालेमा ध्रुवीकरण रोकिएको छैन ।
सार्वजनिक कार्यक्रमबाटै एमालेको सदस्यता नवीकरण गरेर पार्टीको नेतृत्व लिने उद्देश्यसहित राजनीतिमा फर्किएको घोषणा गरेकी विद्या लोकतान्त्रिक गणतन्त्रको अभिभावकका रूपमा सम्मानपूर्वक बस्ने कुरा नै उचित हुने एमालेको पछिल्लो निर्णय छ । तर, निर्णयअगावै उनले सञ्चारकर्मीहरूमार्फत पार्टीबाट जे–जस्तो निर्णय आए पनि माझकिराँतकी छोरी राजनीतिको निर्णयबाट पछि नहट्ने अडान सार्वजनिक गरेकी थिइन् ।
विद्याको पछिल्लो अडानसँगै पार्टी निर्णयलाई चुनौती दिँदै अगाडि बढ्नका लागि अब उनका सामु केही सीमित विकल्प मात्र बाँकी देखिएका छन् । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल एमालेले ढोका बन्द गर्ने गरी निर्णय लिएपछि विद्यासामु राजनीतिमा सक्रिय हुन अझै विकल्प बाँकी रहेको बताउँछन् । ‘ओलीजीसँग लामै संगत गरेकाले उनले प्रतिस्पर्धी ठानेर कठोर खालको निर्णय लिन पनि सक्छन् भन्ने सम्भवतः विद्यालाई पूर्वअनुमान थियो । त्यसैले उनले अब देशभर सञ्जाल रहेको मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक गतिविधि बढाउँदै नेता–कार्यकर्तामाझ पुग्ने उहाँसामु विकल्प छ,’ उनले भने ।
पोखरेलको बुझाइमा फाउन्डेसनमार्फत देश–दौडाहा गरेर आफ्ना नजिकका नेता–कार्यकर्ता संगठित र उत्साही बनाउँदै आगामी महाधिवेशनमा पकड जमाउन प्रयत्न गर्नु नै अहिलेलाई विद्याका लागि पहिलो र उत्तम विकल्प हुन सक्छ । ‘योभन्दा उत्तम अरू विकल्प देखेको छैन । कि त पार्टी छोड्नुप¥यो, उहाँ छोड्ने गरी अगाडि बढेकै होइन । त्यसैले आफू नेतृत्वमा नआए पनि आफ्ना बढीभन्दा बढी नेता–कार्यकर्तालाई महाधिवेशनमार्फत अगाडि बढाउन उहाँले देशैभर फाउन्डेसन सक्रिय गराएर गतिविधि गर्न सक्नुहुनेछ,’ पोखरेलले भने ।
भण्डारीसामु आफू संरक्षक र नेता रहेर आगामी महाधिवेशनमा ओलीलाई काउन्टर दिने गरी अलग्गै टिम खडा गरेर पार्टीभित्र प्रभाव जमाउन कोसिस गर्ने अर्को विकल्प पनि रहेको पोखरेल बताउँछन् । उनले कारण खुलाए, ‘किनभने आगामी २० देखि २२ भदौमा विधान महाधिवेशन सकिएपछि नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशनको मिति तय हुन सक्छ । त्यससँगै नयाँ नेतृत्व छनोटका लागि तलैदेखि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढ्छ । यही पृष्ठभूमिमा उहाँले आफूलाई साथ दिने कुनै पनि पदाधिकारीको नेतृत्वमा अलग्गै टिमसमेत खडा गर्न सक्नुहुनेछ ।’
उनलाई साथ दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीमध्ये कसैको नेतृत्वमा ओलीलाई टक्कर दिने गरी अलग्गै टिम खडा गरेर पार्टीमा प्रभाव विस्तार गर्न सक्नेछिन् । ‘यो पनि राजनीतिक विकल्पकै रूपमा काम गर्न सक्नुहुन्छ । किनभने अहिले ओलीबाट असन्तुष्ट र चिढिएको नेता–कार्यकर्ताको ठुलो पंक्ति देशैभर रहेको छ, त्यसमाथि अध्यक्षले पराजित नेता–कार्यकर्ताहरूलाई बैठकबाटै बिज्ने गरी प्रहार गर्दा दमित भावनाहरू झन् संगठित हुन पनि सक्छ,’ पोखरेलले भने, ‘ओलीले डर, त्रास र प्रलोभनमा पनि पार्न सक्छन्, तर धेरैभन्दा धेरै प्रतिनिधि ल्याउनका लागि उहाँले कोसिस गर्न सक्नुहुनेछ ।’
त्यसो त, देशैभरबाट राष्ट्रिय महाधिवेशनमा बढी प्रतिनिधि ल्याएर अहिलेको पार्टी निर्णय परिवर्तन गराउने विकल्प पनि उनीसामु छ । तर, त्यसका लागि अबको विधान महाधिवेशनले पारित गर्ने विधान र प्रस्ताव उल्ट्याउने गरी महाधिवेशन प्रतिनिधि जिताउन सक्नुपर्नेछ ।
त्यसबाहेक केन्द्रीय कमिटीबाट आफूलाई राजनीतिमा रोक्ने गरी भएको निर्णय असंवैधानिक र गैरकानुनी रहेको दाबीसहित अदालतबाट कानुनी उपचार खोज्ने विकल्प पनि विद्यासामु छ । तर, त्यस्तो विकल्पमा जाने सम्भावना भने धेरै न्यून रहेको उनीनिकट नेताहरू नै बताउँछन् । ‘अहिलेको अवस्थामा उहाँले त्यो विकल्प रोज्नुहुन्न । राजनीतिक विकल्पबाटै अगाडि बढ्ने गरी गृहकार्य गर्नुहुनेछ,’ उनीनिकट एक नेताले भने ।
राजनीतिक विश्लेषक पोखरेलले पनि अदालतले गरेका निर्णयहरूमाथि वेलाबखत प्रश्न उठ्ने गरेकाले विद्याले कानुनी उपचारको विकल्प खोज्ने सम्भावना न्यून रहेको बताए । ‘हाम्रो न्यायप्रणालीमाथि वेलाबखत प्रश्न उठ्दै आएको छ । ढिलासुस्ती, राजनीतिक दबाब र प्रभावको संशय छँदै छ । त्यसैले पनि उहाँले यो विकल्प रोज्नुहोला जस्तो लाग्दैन,’ उनले भने ।
उनीनिकट स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने कानुनी उपचारको बाटो पनि विकल्प हुन सक्ने बताए । ‘जबर्जस्त गैरकानुनी निर्णय भएकाले अदालतले खारेज गरिदिन पनि सक्छ । त्यसका लागि कानुनी उपचारको बाटो अपनाउन सकिन्छ,’ उनले भने । थापाले पूर्वराष्ट्रपति भण्डारीका विषयमा छलफलको कुनै कार्यसूची नभए पनि विधानभन्दा बाहिर गएर जबर्जस्त निर्णय गराइएको दाबीसमेत गरे । ‘पहिला छलफलका लागि कार्यसूची प्रस्तुत गरिन्छ, त्यसमाथि छलफल हुन्छ, अनि मात्र निर्णय हुन्छ । तर, उहाँको हकमा विधानअनुसारको कुनै पनि प्रक्रिया अपनाइएन,’ थापाले दाबी गरे ।
एमाले महासचिव शंकर पोखरेलले भने हरेकलाई पार्टी विधानले प्रतिस्पर्धाको अधिकार दिएको बताएका छन् । केन्द्रीय कमिटीमा अधिकांशको राय ०८४ को निर्वाचन मिसन पूरा गर्न अध्यक्ष ओलीकै नेतृत्व आवश्यक छ भन्ने रहे पनि प्रतिस्पर्धालाई विधानले खण्डित नगर्ने बताए । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र अध्यक्ष केपी ओली हुनुहुन्छ भन्ने धारणा राख्नुभएको हो । यसले विधानलाई खण्डित गर्दैन । विधानले त हरेकलाई प्रतिस्पर्धाको अधिकार दिएकै छ । हामी विधानका परिप्रेक्ष्यमा छलफल गर्दै छौँ । प्रतिस्पर्धालाई निषेध गरेका छैनौँ ।’
विद्याका विषयमा एमालेको निर्णयमा के छ ?
सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहोदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढंगले ती ओहोदाहरूलाई उचित न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ । नेपालमा लैंगिक समानता र समावेशिताको ‘आइकन’का रूपमा रहनुभएकी उहाँलाई उहाँका यिनै योगदानका कारण गत वर्ष नेपाल कम्युनिस्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’का रूपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ । पार्टी नेताका रूपमा रहँदा होस् या मुलुकको राष्ट्राध्यक्ष रहँदा र त्यसबाट अवकाश प्राप्त गर्दा, उहाँ हाम्रा निम्ति सधैँ सम्मानित रहँदै आउनुभएको छ ।
यिनै पृष्ठभूमि, सन्दर्भ र मान्यतालाई ध्यानमा राखेर केन्द्रीय कमिटीको यो बैठक संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्मअनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गर्दछ ।
यस्ता छन् विकल्प
किन मौन बसे ईश्वर पोखरेल ?
पार्टीको आगामी नेतृत्वमा विद्याको आगमन र ओलीको बिदाइको पक्षमा मुखर रूपमा प्रस्तुत हुँदै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे मौन बसेका छन् । विद्यालाई पार्टी राजनीतिमा नफर्काउने केन्द्रीय कमिटीको निर्णयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी समिति सदस्य कर्णबहादुर थापाले असहमति राख्दा उनी भने मौन बसे ।
तर, विद्यानिकट एक नेताले भने पोखरेल पुरानै अडानमा कायम रहेको बताए । ‘उहाँ पुरानै अडानमा हुनुहुन्छ । मंगलबार मध्यरातमा हुलमुलमा निर्णय हुँदाहुँदै अचानक बैठक समापन भनिएकाले मात्र उहाँले बोल्न खोज्दाखोज्दै पनि बोल्न पाउने अवस्था नबनेको हो,’ ती नेताले भने, ‘यो कुरा उहाँले पूर्वराष्ट्रपतिलाई टेलिफोन गरेर जानकारी गराउनुभएको छ ।’
केन्द्रीय कमिटीबाट कार्यकारी पदमा ७० वर्ष उमेरहद र कार्यकालको अवधि गणना नहुने विधान मस्यौदा पारित भएपछि ७२ वर्षीय पोखरेलले चाहेको अवस्थामा नेतृत्वका लागि ओलीसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको छ । अहिलेका लागि विद्याको ढोका बन्द भएकाले पोखरेल उनको टिमबाट अध्यक्षको विकल्प हुन सक्नेछन् । तर, उनले यसबारे अहिलेसम्म मुख खोलेका छैनन् ।
विद्यापुत्रीको स्टाटस– तिकडमबाट म अचम्मित छैन
पूर्वराष्ट्रपति भण्डारीपुत्री उषाकिरणले पार्टी निर्णयबाट अचम्मित नभएको भन्दै असन्तुष्टि पोखेकी छिन् । ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देख्दा म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट मचाहिँ अचम्मित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो । आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले–उहिले लाग्थ्यो– किन उहाँको परिवार नेकपा (एमाले)लाई नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ?’ उनले अघि भनेकी छिन्, ‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनू, नैतिक समर्थन गर्नू, टाढा नजानू भन्नुहुन्छ र सोहीअनुरूप कोसिस गरियो, तर एक महिनादेखि मलाई ज्ञान भयो– नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पु¥याउने रहेछन् । र, नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यसकारण यो प्रकरणलाई धन्यवाद ।’