
कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा पूर्वपदाधिकारी, नेता शेखर कोइराला र संघीय सरकारका मन्त्रीसमेतलाई बोलाइएको छ । देउवानिवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
संघीय निजामती विधेयकमा राखिएको दुईवर्षे कुलिङ पिरियड, एमालेले राष्ट्रिय सभामा राखेको संशोधन, भूमि विधेयकलगायत विषयमा पनि बैठकमा छलफल हुने भएको छ । ‘सरकारको कामकारबाही, संसद्मा रहेका विभिन्न विधेयकसहित समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुन्छ,’ उनले भने ।
यसअघि कांग्रेसका सात पूर्वपदाधिकारीले सरकार प्रभावकारी नभएको र प्रधानमन्त्री केपी ओलीले एकलौटी गरेको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । गठबन्धन सरकार प्रभावकारी नभएको, भ्रष्टाचार मौलाएको, विभिन्न काण्ड सार्वजनिक भएको र प्रधानमन्त्रीले एकलौटी गरेको गुनासो पूर्वपदाधिकारीको थियो ।
छलफलमा सभापति देउवाले आफूले पनि सरकारका काम प्रभावकारी हुन नसकेको महसुस गरेको बताएका थिए । नेता शेखर कोइरालाले आफूनिकट सांसद र मन्त्रीका साथै अन्य दलका नेताहरूसँग पनि छलफल गरेर दबाब बढाएका छन् ।
कोइरालाले गठबन्धन सरकारको औचित्यमाथि नै प्रश्न उठाउँदैै आएका छन् । सरकारको भूमिका प्रभावकारी नभएको, नियुक्ति, सरुवा र बढुवामा प्रधानमन्त्रीले एकलौटी गरेकोलगायत आरोप कांग्रेस नेताहरूको छ ।