मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया वारियर्समा रोहित पनि समावेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५६:oo
  • तीनपटक फिफा विश्वकप खेलेका जापानिज लिजेन्ड केसुके होन्डाको नेतृत्वमा रहेको एसिया वारियर्सबाट नेपालका रोहित चन्दले मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका एट्याकिङ मिडफिल्डर रोहित चन्द जापानिज लिजेन्ड केसुके होन्डाको नेतृत्वमा रहेको एसिया वारियर्स एफसी टोलीमा समावेश भएका छन् । एसिया वारियर्सले २७ जुलाईमा मलेसियाको एमबिपीजे रंगशालामा सेलंगोर एफसीविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ । जापानबाट विश्वकप खेलिरहेका होन्डाको कप्तानीमा रहेको वारियर्सबाट प्रतिस्पर्धा गर्न पाउनुलाई रोहितले अवसरका रूपमा लिएका छन् । 

सन् २०२५ मा एसियाका फुटबलरलाई एउटै टोलीमा समावेश गरी एकता र मित्रताको सन्देश फैलाउने उद्देश्यका साथ एसिया वारियर्स गठन भएको हो । यसको गठन फिलिपिन्सका आइकन एन्टोन डेल रोजारियाले गरेका हुन् । यस परियोजनाअन्तर्गत टोलीले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो खेलमा एसिया वारियर्स पर्सिक केदिरीसँग २–० ले पराजित भएको थियो दोस्रो खेलमा होन्डासँगै डेल रोजारियोले प्रतिस्पर्धा गर्नेछन् । 

तीनपटक विश्वकप खेलेका होन्डा
सन् २००८ देखि ०१८ सम्म होन्डाले जापानको राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका थिए । एक दशक टोलीमा रहँदा उनी प्ले मेकरका रूपमा थिए । उनले तीन विश्वकप फुटबल प्रतियोगिता सहभागिता जनाए । सन् २०१० को दक्षिण अफ्रिका, सन् ०१४ को ब्राजिल र सन् ०१८ को रसिया विश्वकपमा उनले लगातार तीनपटक प्रतिस्पर्धा गरेका थिए । सन् २०११ मा जापानले एसिया कप जित्दा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । उनले जापानबाट ९८ खेलमा ३७ अन्तर्राष्ट्रिय गोल गरेका थिए । व्यावसायिक फुटबलमा उनले सन् २०१४ देखि ०१७ सम्म इटालीको सिरिए क्लब एसी मिलानबाट प्रतिस्पर्धा गरे । जहाँ उनले ८१ खेलमा १७ गोल गर्न सफल भए । सन् २०२३ देखि उनी कम्बोडियाको यू–२३ टोलीका प्रशिक्षकका रूपमा कार्यरत छन् । 

इन्डोनेसियामा १३ वर्षदेखि जमिरहेका रोहित 
मच्छिन्द्र क्लबबाट व्यावसायिक खेलजीवन सुरु गरेका रोहित पछिल्लो १३ वर्षदेखि इन्डोनेसियाका क्लबमा रमाइरहेका छन् । सन् २०१२ मा उनी इन्डोनेसियाका पेकानबाउमा पहिलोपटक आबद्ध भएका थिए । जहाँ उनले १५ खेल खेले । पेकानबाउमा कम अवसर पाए पनि उनको खेल माथिल्लो स्तरको रह्यो । 

रोहित अर्को सिजनमा पर्सिजा जकार्तामा आबद्ध भए । दुई वर्ष जकार्तामा रहँदा उनले ४६ खेलमा ६ गोल गरे । व्यावसायिक फुटबलमा छलाङ मार्ने क्रममा उनी मलेसियाको टी–टिमसँग जोडिन पुगे । सो क्लबबाट उनले एक खेल पनि खेलेनन् । सन् २०१७ मा पुन: रोहित नेपाली फुटबलमा फर्किए । घरेलु फुटबलमा सर्वाधिक सफल मनाङ मस्र्याङ्दीमा सन् २०१७ मा आबद्ध भएका रोहितले नौ खेलमा भाग लिए । मनाङपछि उनले इन्डोनेसियाबाहेक अन्य क्लबसँग सम्झौता गरेका छैनन् । सन् २०१७ देखि उनले इन्डोनेसियाकै माथिल्लो डिभिजन क्लबमा प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०१७ देखि २०२२ सम्म उनी फेरि एकपटक चर्चित क्लब पर्सिजा जाकार्ताबाट खेलेका थिए । पाँच वर्ष जकार्तामा रहँदा उनले एक सय १९ खेलमा १० गोल गरेका थिए । 

सन् २०२२ देखि रोहित इन्डोनेसियाकै पर्सिक मेदिरीमा आबद्ध छन् । उनले अहिलेसम्म ८३ खेलमा तीन गोल गरेका छन् । सन् २०१८ को सिजनमा उनी इन्डोनेसियाको लिगमा उत्कृष्ट खेलाडी भएका थिए । लिगा वान इन्डोनेसियामा उनी पहिलोपटक दक्षिण एसियाली खेलाडीका रूपमा उत्कृष्ट खेलाडी बने ।

सय अन्तर्राष्ट्रिय खेलनजिक
युवा अवस्थामै रोहितले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । नेपालको यू–१९, यू–२३ हुँदै उनले सिनियर टोलीमा सहजै स्थान पक्का गरे । सन् २००९ देखि उनी निरन्तर रूपमा राष्ट्रिय टोलीमा छन् । उनले अहिलेसम्म ९६ अन्तर्राष्टिय खेलमा एक गोल गरेका छन् । उनले सन् २०२४ को १६ नोभेम्बरमा अफगानिस्तानविरुद्ध एक मात्र अन्तर्राष्ट्रिय गोल गरेका थिए ।