
नेकपा एमालेका अध्यक्ष केपी ओलीले ७० वर्षे उमेरहदको विषयमा दिएको अस्वाभाविक तर्कबारे नेता भीम रावलले व्यंग्य गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले ७० वर्षे उमेरहद लगाउने भए आफू जेल बसेको समय घटाउनुपर्ने प्रस्ताव गरेका थिए । यसै विषयलाई लिएर रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि भन्दै व्यंग्य गरेका हुन् ।
केपी ओलीसँगको विवादकै कारण एमाले छोडेका नेता रावलले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधिसमेत घटाउन व्यंग्यात्मक सुझाव दिएका छन् ।
‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ,’ रावलले अघि लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ताभोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’