
‘हनी ट्रयाप’मा पारी ठगी गरेको आरोपमा प्रहरीले सुर्खेतबाट एक युवतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो ।
भदौ ०८१ मा सिन्दु र मनोज कोइरालाबिच सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै सिन्दुले पैसा असुली गरेको आरोप छ ।
कोइरालाको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।
प्रहरीका अनुसार गत भदौमा वीरेन्द्रनगर–६, बुद्धपथस्थित बुलबुले भ्यू होटेलमा सिन्दु आफैँले कोइरालालाई बोलाएकी थिइन् । सोही होटेलमा दुईजनाबिच सहमतिमा यौन सम्बन्ध भएको प्रहरीले जनाएको छ। उक्त सम्बन्धको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेर बलात्कार मुद्दामा फसाउने भन्दै सिन्दुले मनोजसँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको जाहेरी परेको छ।
उक्त रकम उनले फरक–फरक मितिमा कोइरालाबाट लिएकी थिइन्। पक्राउ परेकी सिन्दुलाई हनी ट्रयापमा पारी पीडितबाट आर्थिक लाभ लिएको कसुरमा प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।