मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
२o८२ श्रावण ६ मंगलबार २o:३५:oo
Read Time : > 1 मिनेट
समाचार

विद्यालयका सुरक्षा गार्डको खाताबाट कम्प्युटर अपरेटरले थाहा नै नदिई लगे तीन लाख 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार २o:३५:oo

सिराहाको गोलबजार नगरपालिका–८, चोहर्वास्थित जनता नमुना माविमा कार्यरत सुरक्षा गार्डको खाताबाट विद्यालयमै कार्यरत कम्प्युटर अपरेटरले जानकारी नै नदिई बैंक खाताबाट तीन लाख रुपैयाँ अर्को खातामा रकमान्तर गरेका छन् । 

कम्प्युटर अपरेटर पदमा कार्यरत गोलबजार–७ का ३६ वर्षीय रामपुकार ठाकुरले सुरक्षा गार्ड समरबहादुर श्रेष्ठलाई थाहा नदिई गोलबजारस्थित कुमारी बैंकमा रहेको खाताबाट मोबाइल बैंकिङमार्फत आफ्नो खातामा रकम सारेका हुन् ।

अपांगता भएका श्रेष्ठ लेखपढ गर्न सक्दैनन्। त्यसको फाइदा उठाउँदै ठाकुरले श्रेष्ठको नामको खाताबाट नेपाल बैंकमा रहेको आफ्नो खातामा मोबाइल बैंकिङमार्फत रकमान्तर गरेको श्रेष्ठकी बहिनी कल्पना श्रेष्ठले बताइन् । 

उनका अनुसार दाजुको खातामा भाउजूको मृत्युपछि बिमाबापत डिपोजिट गरिएको चार लाख रुपैयाँमध्ये ठाकुरले उक्त रकम असार अन्तिम साता लगेका हुन् । ‘म काठमाडौंबाट फर्किएर बैंक स्टेटमेन्ट हेर्दा पो मोबाइल बैंकिङको पासवर्ड लिएर ठाकुरले रकम सार्दै गएका पाएँ,’ उनले भनिन्, ‘ठाकुरले श्रेष्ठलाई बैंक लगेर फर्म भराई मोबाइल बैंकिङको सुविधा लिएका रहेछन्। त्यतिवेलै लिएको पासवर्ड दुरुपयोग गरी रकम सारेका रहेछन्।’

खाताधारीको जानकारीविना किन रकम सारेको भनेर सोध्दा सुरुमा इन्कार गरेका ठाकुरले मिडिया र प्रहरीमा जाने चेतावनी दिएपछि रकम फिर्ता गर्छु, कतै नजानुस् भन्दै फकाएको उनले बताइन्। 

रकम फिर्ता गरिएको दाबी
कम्प्युटर अपरेटर ठाकुरले सुरक्षा गार्डको खाताबाट रकम सारेको स्वीकार गर्दै सापटीका रूपमा लिएको र पछि बैंक खातामै फिर्ता गरिसकेको दाबी गरेका छन्। श्रेष्ठको सहमतिमा सापटीस्वरूप रकम सारेको दाबी गर्दै उनले सबै रकम फिर्ता गरिसकेको बताए। 

विद्यालयका प्रधानाध्यापक ब्रम्हदेव सिंहले दुईजनाको बिचमा आपसी लेनदेन हुने गरेको दाबी गर्दै सोही क्रममा श्रेष्ठको खाताबाट पटक-पटक गरी तीन लाख रुपैयाँ पनि झिकेको जिकिर गरे। ‘खाताधारीलाई जानकारी नदिई पनि रकम झिक्न पाइन्छ त?’ भन्ने प्रश्नमा उनले जवाफ दिए– सोधेरै रकम लिएको भन्ने छ, तथापि सुरक्षा गार्ड श्रेष्ठकी बहिनीले शुक्रबार विद्यालय प्रशासनमा रकम झिकेको विषयमा मौखिक उजुरी गरेको र शनिबार बिदा परेकाले आइतबार नै रकम उनको खातामा जम्मा गरिसकेको जानकारी पाएको छु।’
रकमान्तर गरेका ठाकुर ज्यालादारीमा कम्प्युटर अपरेटर पदमा कार्यरत रहे पनि विद्यालयका लेखापाल नरहेकाले त्यसको कामसमेत गर्दै आएको बताए।