मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २७ शुक्रबार
  • Wednesday, 16 July, 2025
२o८२ असार २७ शुक्रबार १८:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महालक्ष्मी मन्दिरमा चाँदीको अलंकार राख्न ललितपुर महानगरको सहयोग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २७ शुक्रबार १८:१३:oo

ललितपुर महानगरले महालक्ष्मीथानस्थित महालक्ष्मी मन्दिरमा चाँदीको अलंकार राख्न ३४ केजी तीन सय ग्राम चाँदी सहयोग गरेको छ ।  महानगरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच महालक्ष्मीथान व्यवस्थापन समितिलाई उक्त परिमाणकाे चाँदी हस्तान्तरण गरेको हो । व्यवस्थापन समितिले मन्दिरमा पित्तलको ठाउँमा चाँदीकाे अलंकार बनाउन लागेको हो । 

महानगरले हस्तान्तरण गरेको उक्त चाँदी जिटुजीमार्फत राष्ट्र बैंकसँग खरिद गरेर  हस्तान्तरण गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए । महानगरले बिहीबारको बजार भाउअनुसार चाँदी खरिद गरेको हो । 

हिजोको बजारभाउअनुसार चाँदी प्रतितोला २१ सय ७० रुपैयाँ रहेको छ । चाँदी तोलामा रूपान्तरण गर्दा २९ सय ४१ तोला हुन आउँछ । यसरी हिसाब गर्दा महानगरले महालक्ष्मी मन्दिरलाई ६३ लाख ८१ हजार ९७० रुपैयाँबराबरको चाँदी हस्तान्तरण गरेको हो । व्यवस्थापन समितिले मन्दिरमा चाँदी अलंकार राख्न गरेको प्रयासलाई सहयोग गर्न पाउँदा खुसी लागेकाे प्रमुख महर्जनले बताए ।  प्रमुख महर्जनका अनुसार यसरी महानगरले चाँदी नै हस्तान्तरण गरेको पहिलोपटक हो । प्रमुख महर्जनले पैसा दिनुको साटोमा चाँदी नै उपयुक्त हुने भन्दै चाँदी सहयोग गरेको जानकारी दिए । 

प्रमुख महर्जनले चाँदी अलंकार राख्ने  काममा कुनै पनि किसिमको कमी–कमजोरी नदेखिने गरेर काम गर्न व्यवस्थापन समितिलाई अनुरोध गरे । 
‘काममा कसैले आलोचना नआउने गरी काम गर्नुहोस्, छिटोभन्दा छिटो सम्पन्न गर्नुहोस्,’ प्रमुख महर्जनले भने । त्यस्तै, प्रमुख महर्जनले जे काम गरिन्छ, त्यसमा पारदर्शी भएर काम गर्दा कसैले औँला नउठाउने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दासले महानगरले सम्पदा र संस्कृतिमा उदाहरणीय काम गर्दै आएको बताइन् । ‘हामीले सम्पदा र संस्कृतिमा गरेको उदाहरणीय काम देखेर अन्य पालिकाहरू हामीसँग सिक्न आउनुहुन्छ । तपाईंहरूले कसरी काम गरिरहनुभएको छ भनेर भन्नुहुन्छ, यसले हामीलाई थप उत्साह मिल्छ,’ उनले भनिन् ।  प्रमुख प्रशासकीय अधिकृत दासले महालक्ष्मी मन्दिरका लागि सहयोग गरेर इँटा थप्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् ।

ललितपुर महानगरपालिका– ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले महालक्ष्मी मन्दिरलाई चाँदीले अलंकार गर्नको लागि भक्तजनबाट मात्रै एक–डेढ करोड उठिसकेको बताए । महानगरले पनि त्यस कार्यक्रमा सहयोग गरेकोमा उनले धन्यवाद व्यक्त गरे । चाँदी अलंकार व्यवस्थापन समितिका संयोजक द्वारिकानाथ खनालका अनुसार अहिलेसम्म विभिन्न उद्योग व्यवसायी, संस्था, भक्तजनबाट सहयोग जुटिरहेको छ ।

चाँदी अलंकारमा कुनै पनि अपारदार्शिता नहुने बताउँदै उनले हरेक कुरा पारदर्शितामा हुने प्रतिबद्धता जनाए । ज्यापू समाजका अध्यक्ष एवं समितिका सल्लाहकार सन्तमान महर्जनले महालक्ष्मी मन्दिर विगतका दिनमा भन्दा धेरै नै व्यवस्थित बन्दै गएको र यसमा सबैको ठुलो योगदान रहेको जानकारी दिए । मन्दिरलाई थप सुन्दरता बढाउन चाँदीको अलंकार राख्न लागेको र त्यसमा सबैको सहयोगको अपेक्षा राखेका छन् । यसमा ज्यापू समाजको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।