मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ भदौ १५ आइतबार o८:२५:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नौ महिनामा स्वास्थ्य मन्त्रालयमा ५४९ गुनासा : स्वास्थ्य बिमा र वीर अस्पतालको सेवामाथि नागरिकका सबैभन्दा धेरै प्रश्न

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार o८:२५:oo

स्वास्थ्य संस्थाहरूले दिने सेवा प्रवाह र लापरबाहीमाथि प्रश्न उठाउँदै स्वास्थ्य मन्त्रालयमा गुनासाको चाङ छ । पछिल्लो नौ महिना मात्रै मन्त्रालयमा ५४९ गुनासा आएका छन्, जसमा सबैभन्दा धेरै स्वास्थ्य उपचार सेवासम्बन्धी छन् ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार २४ मंसिर ०८१ मा मन्त्रालयले गुनासो सुनुवाइ एकाइ गठन गरेको थियो । एकाइ प्रमुख सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला छन् । टेकुस्थित सरुवारोग अस्पतालमा कार्यरत बास्तोलालाई मन्त्रालयले सेवाग्राहीको गुनासो सुन्ने एकाइमा राखेको थियो । उनले त्यसयता गुनासालाई एकीकृत गरी बुधबार स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सचिव विकास देवकोटालाई बुझाएका छन् । तर, प्रतिवेदनमा के–कति गुनासा सम्बोधन भए र सेवाग्राहीलाई मद्दत पुग्यो भनेर उल्लेख गरिएको छैन ।

मन्त्रालयका सूचना अधिकारी केसीका अनुसार पछिल्लो नौ महिनायता सबैभन्दा बढी गुनासा स्वास्थ्य बिमा र वीर अस्पतालले प्रवाह गर्ने सेवामा आउने गरेका छन् । ‘अहिले बिमामा गुनासो अत्यधिक आइरहेका छन्, बिमाबाट औषधि नदिएको, औषधि नपाएको जस्ता थुप्रै गुनासा आउँछन्,’ केसीले भने, ‘अस्पतालको गुनासातर्फ वीरबाट धेरै आउने गरेको छ । समयमा उपचार सेवा पाइएन, चिकित्सक भेटिएनन्, बिमाको औषधि पाइएनलगायतका गुनासा आउँछन् । उपत्यकाबाहिरका अस्पतालबाट ९८ प्रकारका औषधि नपाएको भनेर धेरै गुनासा आउँछन् ।’

केसीका अनुसार मुख्य समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले पहलसमेत गरेको छ । वीर अस्पतालपछि गुनासा बढी आउनेमा भक्तपुर क्यान्सर अस्पताल पर्छ । यहाँबाट पनि सेवाग्राहीले दिनहुँ फोन गरेर अत्यधिक लाइनमा बस्नुपरेको, चिकित्सकहरू समयमा नआएको, अस्पतालले आवश्यक औषधि फार्मेसीमा नराखेको भनेर गुनासो गर्ने गरेका छन् ।

सेवाग्राहीबाट आएका गुनासोको विश्लेषण प्रतिवेदनमा गरिएको छ । अस्पतालहरूमा जनशक्ति र पूर्वाधार कमी हुनु, समयमा चिकित्सक अस्पताल नपुग्नु, सेवाग्राहीलाई हप्काउने र रुखो व्यवहार गर्ने गरेकाले यस्ता गुनासा आउने गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै, अस्पतालमा दुव्र्यवहार हुनु, प्राविधिक समस्या आउनु, औषधि तथा उपकरण अभाव हुनु, शुल्क मनपरी लिँदा सेवाग्राहीलाई मार पर्ने गरेको छ ।

स्वास्थ्य बिमासम्बन्धी आएका गुनासामध्ये बिमामार्फतको औषधि प्राप्त गर्न नसकेको, रेफरल प्रक्रियामा अस्पतालले तनाव दिएको, चिकित्सकले लेखेको औषधि नपाएको, लाइन बस्नुपरेको, बिमितलाई घृणा गर्ने गरेकोजस्ता गुनासा पनि मन्त्रालयमा आउने गरेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी गुनासा फोनबाट आउने गरेका छन् । नौ महिनामा फोनमार्फत २४२ वटा गुनासा आएका छन् । इमेलमार्फत १०३, सामाजिक सञ्जालबाट २०५ वटा गुनासा आएका छन् । मन्त्रालयको टोल फ्री नम्बर १११५ मा बढी गुनासो आउने गरेको सूचना अधिकारी केसीले बताए ।

बढी गुनासा अस्पतालको सेवामा 
मन्त्रालयमा पछिल्लो नौ महिनामा अस्पतालका सेवामाथि प्रश्न उठाउँदै १५७ वटा गुनासो आएका छन् । ८७ वटा गुनासा स्वास्थ्य बिमाबारे आएका छन् । ५२ वटा गुनासा आधारभूत स्वास्थ्य र ९८ प्रकारका औषधिसम्बन्धी छन् । अस्पतालहरूमा प्रशासनिक समस्या छ भनेर ४४ वटा गुनासा आएका छन् । विभिन्न अस्पताल सुधार गर्नका लागि ७७ वटा गुनासा आएका छन् । उपचारका लागि आर्थिक सहयोग माग गर्दै ३० जना बिरामीले फोन गरेका छन् । अन्य विभिन्न समस्याबारे १०२ वटा गुनासा आएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार वीर अस्पतालबाट धेरै गुनासा आएका छन् । वीरबाट ३२ वटा गुनासा प्राप्त भएको प्रवक्ता डा. केसीले बताए । उनका अनुसार भक्तपुर क्यान्सर अस्पतालबाट १८, त्रिवि शिक्षण अस्पतालबाट आठ, सिभिल अस्पतालबाट ६, पाटन अस्पतालबाट पाँच, कर्णाली एकेडेमी हेल्थ साइन्सबाट पाँच, लुम्बिनी प्रादेशिक अस्पतालबाट पाँचवटा, कान्ति बाल अस्पताल, थापाथली अस्पताल, गंगालाल अस्पताललगायतबाट पनि गुनासो आउने गरेका छन् ।

सेवाग्राहीले मन्त्रालयमा दिनहुँ गुनासो गरिरहे पनि त्यसको तत्काल सम्बोधन भने हुन सकेको छैन । मन्त्रालयले खाली बिरामीबाट आएको गुनासोको रेकर्ड मात्रै राख्ने काम गरिरहेको छ । तर, बिरामीलाई परेको समस्या र दु:खबारे तत्काल समस्या समाधानतर्फ मन्त्रालयले चासो दिएको छैन । अब प्रतिवेदन पेस गरिसकेकाले मन्त्रीस्तरबाट जहाँ–जहाँ समस्या छ, ती अस्पतालमा निर्देशन जारी गर्ने तयारी मन्त्रालयले गरेको छ । सूचना अधिकारी केसीले प्राप्त गुनासालाई सम्बोधन गर्ने गरी प्रतिवेदन तय भएको र कतिपय अवस्थामा सहजीकरण पनि गर्दै आइरहेको दाबी गरे ।

वीरका दुईतिरका भवन जोड्न महानगरले लिफ्टसहितको पुल बनाइदिने

वीर अस्पतालको पुरानो र नयाँ भवनलाई जोड्ने गरी काठमाडौं महानगरपालिकाले लिफ्टसहितको अत्याधुनिक आकासेपुल निर्माण गर्ने भएको छ । दुई भवनका ओहोरदोहोर गर्दा बिरामी र उनीहरूका आफन्तलाई सास्ती भएपछि वीर अस्पताल प्रशासनले महानगरलाई पुल बनाइदिन अनुरोध गरेको थियो । सोही अनुरोधअनुसार आगामी पुस महिनादेखि महानगरले पुल बनाइदिन लागेको हो । पुल निर्माणबारे सर्वेक्षण भइसकेको र कन्सल्ट्यान्स हायर गर्ने प्रक्रिया अघि बढेको महानगरका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए । ‘यसबारेमा अध्ययन गरेर सकाइसकेका छौँ, अब यसको कन्सल्ट्यान्ट हायर गर्ने प्रक्रिया अघि बढ्दै छ,’ उनले भने, ‘आउँदो पुसबाट काम सुरु हुन्छ, यो योजनाका लागि हामीले बजेट पनि विनियोजन गरिसकेका छौँ ।’ 

वीर अस्पतालको नयाँ अर्थात् सर्जिकल भवन पुरानोको सामुन्ने सडक पारी छ । दुई भवनबिचमा सडक रहेको हुँदा बिरामीलाई जोखिम र असहज हुुँदै आइरहेको भन्दै वीरले पुल बनाइदिन प्रस्ताव गरेको थियो । दुई भवनबिचको दूरी करिब ७० मिटरको छ । अधिकांश टिकट काउन्टर र वार्ड पुरानो भवनमा छ भने सर्जिकलसम्बन्धी उपचार सेवा नयाँ भवनमा हुन्छ । पुरानो भवनमा टिकटदेखि क्यास काउन्टर, इमर्जेन्सी, ल्याब, ओपिडी, माइनर अपरेसनलगायत सेवासमेत छन् ।

यसकारण पनि वीरका बिरामीले दुवै भवनमा ओहोरदोहोर नगरी सुखै छैन । महानगरका अनुसार पुल निर्माणमा झन्डै साढे चार करोड लाग्ने अनुमान छ । उक्त पुल बनाउन महानगरले चालू आर्थिक वर्षको बजेटमा समेत समावेश गरेको छ । वारपार गर्न पुल बनाएर बिरामीलाई तल्लो तथा माथिल्लो तलामा ओहोरदोहोर गर्न लिफ्टसमेत जडान गरिनेछ । पुल नयाँ भवनको दोस्रो तलाबाट पुरानो भवनको दोस्रो तलामा जोडिनेछ । त्यसमा पनि लिफ्ट जडान गरिनेछ । अन्डरग्राउन्डबाट ओहोरदोहोर गर्ने बाटो खोल्दा धेरै लागत लाग्ने भएपछि बाहिरबाट पुल र लिफ्ट राख्न लागिएको हो ।