१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
२o८२ जेठ २० मंगलबार १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक सवारी नचलेको वेला बढी भाडा असुल्ने राइड सेयरिङका चालकलाई कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १३:१५:oo

राइड सेयरिङ गर्ने सवारीचालकहरूले सार्वजनिक सवारी सञ्चालन नभएको मौका छोपी बढी भाडा असुल गरेको गुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले चेकजाँचमा कडाइ गरेको छ । कार्यालय प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीको नेतृत्वमा ट्राफिक प्रहरीहरूले राइडिङ सेयर गरिरहेका सवारीसाधनलाई रोकी आवश्यक चेकजाँच गरिरहेका छन् ।

चेकजाँचको क्रममा सोमबारदेखि मंगलबार मध्याह्नसम्म नियम उल्लंघन गरी यात्रु बोकिरहेको अवस्थामा १० सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक प्रदीप खत्रीले बताएका छन् । ६ लेन सडकअन्तर्गत सिर्जनानगर, राधेराधे र पुरानो बाटोको निकोसेरा थिमि क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए ।

अफलाइनबाट भाडामा ठगिने मात्र नभई अपराधको जोखिम पनि उत्तिकै हुने ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी गराए । राइड सेयरिङ गर्नेहरूकाे अनिवार्य अनलाइन हुनुपर्ने स्पष्ट पार्दै प्रहरी निरीक्षक खत्रीले नियम पालना नगर्नेलाई नियन्त्रणमा लिएको प्रस्ट पारे ।

पक्राउ परेका चालकहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा आवश्यक अनुसन्धानका लागि पठाएको र सवारीसाधन भने जिल्ला ट्राफिक कार्यालयकै नियन्त्रणमा रहेका उनले जनाएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिइएका यस्ता राइड सेयर गर्ने चालकहरुलाई ठगी कसुरमा मुद्दा चलाउन सक्नेछ भने ट्राफिक कार्यालयले ट्राफिक नियमावलीअनुसार जरिवाना र कारबाही गर्ने कानुनी व्यवस्था रहेको छ ।

भक्तपुर प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक माधव बुढाथोकीले यात्रुहरू आफैँ पनि सचेत रही अफलाइन भएका सवारीसाधनमा राइड सेयर गर्नु नहुने सुझाव दिएका छन् । अफलाइनले दुर्घटना हुँदासमेत चालक उम्कने सम्भावना र चालक आपराधिक मानसिकताको भए चोरी, लुटपाट, जबर्जस्ती र अपहरणजस्ता अपराधको जोखिम बढ्ने हुँदा अफलाइन राइड सेयर गर्न नहुने उनको सुझाव छ ।
 

छुटाउनुभयो की ?